ठमेलमा थपिए २०० होटेल

काठमाडौं। नेपाल आउने पर्यटकको रोजाइमा पर्ने गन्तव्य काठमाडौंको ठमेल क्षेत्रमा होटेलहरूको संख्या थपिएको छ । कोभिड–१९ का कारण थाती राखेका होटेल पूर्वाधार बनाउने योजनालाई व्यवसायीहरूले पुन: अघि बढाएसँगै ठमेल क्षेत्रमा होटेलको संख्या थपिएको हो ।  सरकारले सन् २०२० मा ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरेसँगै भ्रमण वर्षलाई लक्ष्य गरेर ठमेल क्षेत्रमा थप होटेल तथा रेस्टुराँ खोल्ने योजना व्यवसायीले बनाएका थिए । तर, सन् २०२० को शुरूमै कोरोना महामारीले पर्यटकीय चहलपहल सुस्ताएपछि व्यवसायीले योजना थाती राखेका थिए । कोरोना न्यून भएसँगै व्यवसायीहरूले लगानी बढाउँदा यो क्षेत्रमा उक्त संख्यामा होटेल थपिएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भवीश्वर शर्माले जानकारी दिए । सरकारले सन् २०१९ मा सन् २०२० लाई नेपाल भ्रमण वर्षको मनाउने घोषणा गरेको थियो । त्यसलाई लक्ष्य गरेर व्यवसायीले होटेल र रेस्टुराँ व्यवसायमा लगानी थप्ने तथा नयाँ लगानी गर्ने योजना बनाएका थिए । भ्रमण वर्षमा सरकारले २० लाख पर्यटक ल्याउने महत्त्वाकांक्षी घोषणा गरेको थियो ।  तर, त्यही समयमा देखिएको कोभिड–१९ का कारण व्यवसायीले आफ्ना परियोजनाहरू ‘होल्ड’ गरे । ‘कोभिड न्यूनीकरण भएपछि पूर्वाधारहरू धमाधम थपिएका छन्,’ शर्माले भने, ‘कतिपय निर्माणाधीन अवस्थामा छन्, व्यवसायीहरूले रोकेर राखेका पूर्वाधारहरू बनाउँदा यहाँ थप ४० प्रतिशत क्षमता विस्तार भएको हो ।’ कोरोनाकै बीच तथा यो भाइरस साम्य हुँदै गर्दा यो क्षेत्रमा पाँचतारे स्तरका अलफ्ट, बाराहीदेखि पर्यटकीय स्तरका काठमाडौं आगन्तुक, कैलाशकुट, सूर्यलगायत होटेल थपिएका छन् । कोरोना महामारीपछि यो क्षेत्रमा रहेका विभिन्न व्यवसायको तथ्यांक संकलन गर्ने काम जारी रहेको शर्माले जानकारी दिए । ‘सोही तथ्यांक संकलनका क्रममा हाल यो क्षेत्रमा कुल ५७३ ओटा होटेल व्यवसाय सञ्चालनमा रहेको पाइएको छ,’ शर्माले भने, ‘कोरोनाअघि सन् २०१९ सम्ममा यो क्षेत्रमा ३७३ होटेल सञ्चालनमा थिए ।’ उनका अनुसार यो संख्यामा पाँचतारेदेखि पर्यटकीय स्तरका होटेल समेटिएका छन् ।  होटेलमा लगानी थपिँदा क्षमतासमेत विस्तार भएको छ । हाल दैनिक ३५ हजार पर्यटकलाई सेवा दिन सक्ने क्षमतामा यस क्षेत्रमा होटेल पुगेको उनको भनाइ छ । होटेल पूर्वाधार बढे पनि पर्यटक भने पर्याप्त आएको अवस्था छैन । कोभिडअघि यो क्षेत्रमा दैनिक सरदर ५ हजारदेखि ७ हजारसम्म पर्यटक आइपुग्थे । परिषद्का अनुसार हाल उक्त संख्या दैनिक ४ हजारदेखि ५ हजारसम्म छ ।  मुलुकमा आउने पर्यटक संख्या बढेसँगै ठमेल पुग्नेको संख्या पनि बढेको छ । ‘यद्यपि यो पर्याप्त भने होइन,’ शर्माले भने, ‘अहिले यहाँका होटेलहरूको अकुपेन्सी नै ४० देखि ५० प्रतिशतसम्म छ । तर, पर्यटकीय सिजनको अन्तिमसम्ममा ७५ प्रतिशतदेखि ८० प्रतिशतसम्म पुग्ने हाम्रो आकलन छ ।’ ठमेलमा अहिले पाँचतारेदेखि पर्यटकीय स्तरका गरेर ५७३ होटेल सञ्चालनमा छन् । सन् २०२० यताका वर्षहरूको तुलनामा सन् २०२३ को शुरुआतदेखि नै नेपालमा पर्यटक आगमन बढेको छ । ‘एउटा होटेलमा कम्तीमा ३० कोठाको हिसाब गरेका हुन्छौं त्यस आधारमा दैनिक ३४ हजार ३८० जना पर्यटकलाई सेवा दिने क्षमता छ, यहाँ आउने पर्यटक २ देखि ३ दिन बस्छन्,’ शर्माले भने । सेप्टेम्बर तेस्रो सातादेखि नेपालमा पर्यटकीय सिजन पनि शुरू भएकाले यो क्षेत्रमा पनि पर्यटक आगमन र बसाइ बढ्नेमा यो क्षेत्रका व्यवसायी आशावादी देखिन्छन् । प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटक सुरक्षा, २४ घण्टा नै पर्यटकलाई सेवासुविधा दिने गरी रात्रिकालीन व्यवसाय सञ्चालनका विषयमा पनि परिषद्ले तयारी गरेको छ । आइतवार ठमेल क्षेत्रका होटेल व्यवसायी, महानगरीय प्रहरी वृत्त दरबारमार्ग र सोह्रखुट्टेका प्रहरी प्रमुखको उपस्थितिमा परिषद् र होटेल एशोसिएशन नेपाल (हान)ले अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन् ।  सो अवसरमा हानका महासचिव साजन शाक्यले पर्यटकको गन्तव्य बनेको ठमेलमा उनीहरू ढुक्क भएर घुम्न पाउने वातावरण बनाउन सहकार्य आवश्यक रहेको बताए । कोभिडअघिको तुलनामा यो क्षेत्रमा होटेल तथा रेस्टुराँको संख्या बढ्नुका साथै ट्राभल कम्पनीहरू पनि थपिएको भन्दै उनले रात्रिकालीन व्यवसायका लागि पनि प्रहरी–व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड दिए । यस्तै महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख चतुर्भुज ओझाले ठमेल पर्यटन र यहाँको व्यवसायलाई सघाउन प्रहरी प्रशासन लागिपर्ने बताए । कानून नमिचिने गरी व्यवसायलाई सघाउने भन्दै ओझाले भने, ‘व्यवसायीले पनि कानूनको पालना गर्नुपर्छ, छिटोछिटो लाभ लिनेभन्दा पनि कानूनको अधीनमा रहेर काम गरौं । पर्यटन प्रवर्द्धन र सुरक्षामा सहकार्य गरौं ।’

सम्बन्धित सामग्री

थपिए तीनवटा पाँचतारे होटेल

यो वर्ष पाँचतारेको सूचीमा तीनवटा होटेल थपिएका छन् । पर्यटन विभागले भैरहवाको सिद्धार्थ भिलासा, लाजिम्पाटको दुसित प्रिन्सेस र धुम्बाराहीको अकामा होटेललाई पाँच तारा स्तरमा वर्गीकरण गरी इजाजतपत्र दिएको हो । पाँच तारा पाउने...

बढ्दो गतिमा आईपीओ

काठमाडौं। नेपालको धितोपत्र बजारको विस्तारमा सूचीकृत कम्पनीको महत्त्वपूर्ण भूमिका रहन्छ । कम्पनीको कार्यसम्पादन र सकारात्मक गतिविधिका कारण बजार सकारात्मक बन्ने हुन्छ ।  धितोपत्र बजारमा धेरै समूहअन्तर्गतका कम्पनीहरू सूचीकृत हुन्छन् । ती कम्पनीहरूको मूल्यमा परेको प्रभावका आधारमा समूहगत परिसूचकमा उतारचढाव हुन्छ, जसको समग्र प्रभाव धितोपत्र कारोबार मापक नेप्से परिसूचकमा पर्छ । यी कुरा उल्लेख गरिरहँदा पछिल्ला वर्ष धितोपत्र बजारमा कति र कस्ता कम्पनी थपिए ? बजारमा तिनको प्रभाव कस्तो पर्‍यो भन्ने विषय महत्त्वपूर्ण होला । यतिखेर धितोपत्रको दोस्रो बजारमा म्युचुअल फन्डका योजनाबाहेक २४१ कम्पनी सूचीकृत छन् ।  यी कम्पनीलाई १२ समूहमा विभाजन गरी सूचीकृत गरिएको छ । नेप्सेका अनुसार हाल १९ वाणिज्य बैंक, ८ उत्पादन तथा प्रशोधन, ६ होटेल तथा पर्यटन, ३ अन्य, ८७ जलविद्युत्, २ व्यापारिक, १२ निर्जीवन, १६ विकास बैंक, १५ वित्त, ५५ लघुवित्त, ११ जीवन बीमा र ७ कम्पनी लगानी समूहअन्तर्गतका छन् । कात्तिक १५ गतेसम्म धितोपत्रको दोस्रो बजारको कुल पूँजीकरण २८ खर्ब ६२ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ पुगेको छ । यस दिन धितोपत्र दोस्रो बजार १८५८ दशमलव ५६ विन्दुमा छ । दोस्रो बजारमा सूचीकृत कम्पनी संख्या बढ्दै गए पनि पछिल्लो वर्ष बजारले गति लिन सकेन ।  प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) स्वीकृतिको अवस्था हेर्दा गत आर्थिक वर्ष (आव) २०७९/८० मा हालसम्मकै धेरै कम्पनीले पाएको देखिन्छ । धितोपत्र बजारमा शेयरको आपूर्ति बढे पनि मागको अवस्था अघिल्ला वर्षभन्दा गतवर्ष घटेको दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ । सर्वाधिक आईपीओ अनुमति  गत आव २०७९/८० मा नेपाल धितोपत्र बोर्डले ४२ कम्पनीलाई आईपीओ अनुमति दिएको छ । एक वर्षमा ४२ कम्पनीले आईपीओ अनुमति पाएको पहिलोपटक हो । ती कम्पनीलाई २२ अर्ब ३७ करोड ८६ लाख १२ हजार रुपैयाँ बराबरको १३ करोड ५२ लाख ३९ हजार ९९४ कित्ता शेयर निष्कासन गर्न बोर्डले गतवर्ष अनुमति दिएको हो ।  गतवर्ष ७ कम्पनीले प्रिमियम मूल्यमा शेयर निष्कासन गर्न अनुमति पाएका छन् । ती कम्पनीमा घोराही सिमेन्ट, आइएमई लाइफ, भगवती हाइड्रोपावर, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, मान्डु हाइड्रोपावर र सिटिजन लाइफ इन्स्योरेन्ट छन् ।  बोर्डबाट गत आवको अन्त्यसम्म अनुमति पाएकामध्ये केही कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन गर्न अझै बाँकी छ । गत आवमा बोर्डले २९ जलविद्युत्, चार बीमा, दुई अन्य, चार लघुवित्त, एक उत्पादन तथा प्रशोधन, एक होटेल र एक लगानी समूहका कम्पनीलाई आईपीओ अनुमति दिएको हो । अघिल्लो आव २०७८/७९ को तुलनामा २०७९/८० मा आईपीओ संख्या १४ ले बढी हो । आव २०७८/७९ मा बोर्डले २८ कम्पनीलाई ७ अर्ब २० करोड ३६ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको ७ करोड २० लाख ३६ हजार ४२५ कित्ता आईपीओ अनुमति दिएको थियो । अघिल्लो वर्षको तुलनामा आव २०७९/८० मा ६ करोड ३२ लाख ३ हजार ५६९ कित्ताले बढी आईपीओ अनुमति दिएको छ ।  अघिल्लो वर्ष सबै कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा शेयर विक्री गरेका थिए ।  अघिल्लो वर्ष आईपीओ अनुमति पाउने २८ मा १९ जलविद्युत्, आठ लघुवित्त र एक लगानी समूहअन्तर्गतका कम्पनी थिए ।  आईपीओ अनुमति पाउनेमा जलविद्युत् कम्पनी बढी  अघिल्ला दुई आवको तथ्यांक हेर्दा आईपीओ स्वीकृति पाउनेमा जलविद्युत् कम्पनीको संख्या बढी छ । गत आवको कुल संख्यामा जलविद्युत् कम्पनीको अंश ६९ प्रतिशत छ । अनुमति पाएका २९ जलविद्युत् कम्पनीमध्ये मान्डु हाइड्रोपावरले प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा शेयर बेचेको छ । अघिल्लो आवमा आईपीओ अनुमति पाउने २८ मा १९ जलविद्युत् कम्पनी थिए । आईपीओको अग्रस्थानमा रहेको जलविद्युत् कम्पनीको संख्या दोस्रो बजारमा समेत सबैभन्दा बढी छ । आईपीओलाई प्राथमिकता बढ्दो प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने कम्पनी संख्या बढ्दै गएको अवस्थामा आगामी दिनमा अझ बढाएर लैजाने व्यवस्था बोर्डले गरेको छ । बोर्डले धितोपत्र बजारमा वास्तविक क्षेत्रका कम्पनी भित्त्याउने उद्देश्यले धितोपत्र दर्ता तथा निष्कासन नियमावली सातौंपटक संशोधन गरेको छ । सरकारले बोर्डले संशोधन गरेको उक्त नियमावली स्वीकृत गरिसकेकोले आगामी दिनमा बोर्डको उद्देश्य अनुपरूप कम्पनी भित्रिने अपेक्षा गरिएको छ । पब्लिक कम्पनीमा परिणत भएको एक वर्षभित्र आईपीओ जारी गर्न पाउने व्यवस्था संशोधित नियमावलीमा गरिएकाले आगामी दिनमा शेयर निष्कासन गर्ने कम्पनीको संख्या बढ्ने अनुमान गरिएको छ । एनआरएनको लगानी भित्र्याउन पहल  नेपालको धितोपत्र बजारमा पछिल्ला वर्षमा आपूर्तिको तुलनामा माग कम देखिएको छ । यसको प्रत्यक्ष असर बजारमा परेको । नयाँनयाँ धितोपत्र औजार भित्त्याएर आम लगानीकर्ताको मनोबल बढाउने प्रयासमा जुटेको बोर्ड गैरआवासीय नेपाली (एनआरएन) को लगानीसमेत भित्त्याएर बजारको विकास र विस्तार गर्ने तयारीमा जुटेको छ । धितोपत्र औजारमा विविधता ल्याउने धेरै वर्षदेखिको योजना बोर्डले फेरि अघि बढाएको छ । गैरआवासीय नेपालीको लगानी भित्त्याउने दशकअघिको नीति हरेक वर्ष प्राथमिकतामा राख्दै आएको बोर्डले यस वर्षको नीति तथा कार्यक्रममा समेत स्थान दिएको छ । एनआरएनलाई पूँजी बजारमा सहज प्रवेशका लागि आवश्यक कानून तथा संस्थागत पूर्वाधार तयार गर्ने बोर्डको योजना छ । यसका लागि बोर्डले गैरआवासीय नेपाली लगानी गर्न उत्साहित हुने खालको नीति निर्माणमा जोड दिनुपर्ने आवश्यकता जानकारहरूले औंल्याएका छन् ।  बोर्डले सार्वजनिक निष्कासनअघि धितोपत्रको दोस्रो बजारको विकासलाई बढी प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने माग लगानीकर्ताको छ । बढेको बजारमा मात्र आईपीओले राम्रो मूल्य पाउने भएकाले आईपीओप्रति आकर्षण बढ्न धितोपत्रको दोस्रो बजार बढ्नुपर्ने धारणा लगानीकर्ताको छ । पछिल्लो समय धितोपत्रको दोस्रो बजार घटेसँगै आईपीओ खरीदमा समेत लगानीकर्ताको माग कम हुँदै गएको देखिन्छ । यस आधारमा पनि नियामक निकाय बोर्डलाई धितोपत्रको प्राथमिक र दोस्रो बजारको विकास र विस्तारमा चुनौती थपिएको छ ।

एक दशकमा थपिए ३७५ ठूला होटल र १५ हजार बेड

२१ असार, काठमाडौं । पछिल्लो १० वर्षमा पर्यटकीय स्तर वा सो भन्दा माथिको वर्गका ३७५ वटा नयाँ होटल थप भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सन् २०२२ को वार्षिक पर्यटकीय तथ्यांक अनुसार एक दशक अगाडि १ हजार २६ वटा तारे र पर्यटकीय स्तरका होटेल सञ्चालनमा थिए । त्यसयताको १० वर्ष अर्थात २०७९ […]

तारे र डिलक्स गरी दर्जन होटेल थपिए

काठमाडौं । पोहोर फागुनदेखि यसपालि फागुनसम्मको १ वर्षमा नेपालमा तारे र डिलक्स गरी झन्डै १ दर्जन होटेल थपिएका छन् । यसबाहेक पर्यटकीय स्तरका, बुटिक होटेल, लज र रिसोर्ट पनि थपिएका छन् । केहीअघि कोभिड–१९ का कारण सञ्चालन खर्च नै धान्न मुश्किल देखिएको पर्यटन क्षेत्रमा होटेल, क्यासिनोदेखि ट्राभल कम्पनीसम्म थपिइरहेको देखिन्छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० ले चालू आर्थिक वर्ष (आव) को फागुनसम्ममा डिलक्स र तारे गरी ११ ओटा होटेल थपिएका छन् । योसँगै मुलुकमा यस्ता होटेलको संख्या १७३ पुगेको छ । आर्थिक सर्वेक्षणअनुसार २०७८ फागुनसम्म त्यस्ता होटेल संख्या १६२ थियो । यसबाहेक लक्जरी, हेरिटेज, बुटिकसहित पर्यटकस्तरीय होटेल, लजको संख्या पनि बढेको छ ।  आर्थिक सर्वेक्षणअनुसार चालू आवको फागुनसम्ममा ४५ ओटा यस्ता व्यवसाय थपिएर यो संख्या १ हजार २२८ पुगेको हो । अघिल्लो आव यस्तो संख्या १ हजार १८३ थियो । पाँच तारेदेखि डिलक्स, पर्यटकस्तरका होटेलको संख्या बढेसँगै बेडसंख्या पनि बढेको छ । फागुनसम्ममा तारेस्तरका होटेलमा बेडसंख्या ५६० थपिएर १६ हजार ३३५ पुगेको छ ।  नेपालमा सबै किसिमका होटेलको कुल बेडसंख्या ३७ हजार ३०० पुगेको छ । आर्थिक सर्वेक्षणअनुसार क्यासिनो र मिनी क्यासिनोको संख्या अघिल्लो वर्ष फागुनको २४ बाट २८ पुगेको छ । पोहोर फागुनयताको १ वर्षमा चारओटा क्यासिनो थपिएका छन् । यस्तै ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, र्‍याफ्टिङ व्यवसाय, पर्यटक यातायात सेवा व्यवसाय पनि थपिएका छन् ।  आर्थिक सर्वेक्षणले यो क्षेत्रमा लगानी र व्यवसाय थपिएको देखाउँदै गर्दा व्यवसायी पनि पर्यटक ल्याउन सके संरचना र पूर्वाधार निर्माणमा जति नै लगानी थपिए पनि फरक नपर्ने तर्क गर्छन् ।  होटेल एशोसिएशन नेपाल (हान)का महासचिव साजन शाक्यले व्यवसायका अन्य क्षेत्र फस्टाउन नपाए पनि पर्यटन क्षेत्रमा लगानी थपिएको बताए । ‘पर्यटन क्षेत्रमा सम्भावना देखेर नै लगानी बढेको हुनुसक्छ,’ उनले भने, ‘अहिले भएको लगानी र तयार पूर्वाधारबाट पनि वार्षिक ३५ लाखसम्म पर्यटकलाई सेवा दिन सकिन्छ ।’ उनले पर्यटनमा नयाँ लगानी आउनु सकारात्मक भएको तर पर्यटक संख्या पनि बढाउनुपर्ने चुनौती थपिएको बताए । अहिले मुलुकमा तीनओटा अन्तरराष्ट्रिय विमानस्थल छन् । भएका पूर्वाधारबाट लाखौं पर्यटकलाई सेवा दिन सक्ने होटेल व्यवसायीले बताए पनि नेपालमा वर्षभरिमा १२ लाखसम्म पर्यटक आएको अभिलेख छ ।  कोभिड–१९ महामारीपछिका वर्षहरूमा पर्यटक आगमनमा सुधार देखिएको छ । सन् २०२१ म १ लाख ५० हजारमा झरेको पर्यटक आगमन सन् २०२३ को पहिलो ५ महीनामा ४ लाख नाघेको छ । सन् २०२२ मा ६ लाख १४ हजार १४८ पर्यटक नेपाल आएका थिए । यस्तै टुर गाइड, ट्रेकिङ गाइड, रिभर गाइडको अनुमति लिनेको संख्या पनि बढेको छ ।

खकुलिएको निषेधाज्ञाका दृश्य : सडकमा बाक्लियो गाडीको सङ्ख्या, खुले पसल

काठमाडौं : काठमाडौं उपत्यकाभित्र आजबाट निषेधाज्ञा थपिए पनि त्यसका केही प्रावधानहरु लचिलो बनाइएको छ। अर्थात् निषेधाज्ञा केही खुकुलो पारिएको छ। वैशाख १६ गतेदेखि बन्द भएका केही पसलहरु खुल्दा मानिसको चहलपहल देखिएको छ। सडकमा सवारी साधनको चाप पनि बढेको छ। काठमाडौं उपत्यकाभित्र स्थानीय प्रशासनले होटेल तथा रेष्टुरेष्टहरुलाई टेक अवे तथा होम हेलिभरी…

५ महिनामै ४ वटा पाँचतारे होटेल थपिए, ठमेलको अलफ्ट १५ औं

२० असार, काठमाडौं । अन्तर्राष्ट्रिय होटेल चेन ब्राण्ड मेरियटको नेपालमा तेस्रो होटेल अलफ्ट काठमाडौं ठमेलले पाँचतारे प्रमाणपत्र प्राप्त गरेको छ । पर्यटन विभागको १६ असारको निर्णय अनुसार अलफ्टले पाँचतारे मान्यता प्राप्त गरेको हो । अलफ्ट नेपालको …