काठमाडौं । पोहोर फागुनदेखि यसपालि फागुनसम्मको १ वर्षमा नेपालमा तारे र डिलक्स गरी झन्डै १ दर्जन होटेल थपिएका छन् । यसबाहेक पर्यटकीय स्तरका, बुटिक होटेल, लज र रिसोर्ट पनि थपिएका छन् । केहीअघि कोभिड–१९ का कारण सञ्चालन खर्च नै धान्न मुश्किल देखिएको पर्यटन क्षेत्रमा होटेल, क्यासिनोदेखि ट्राभल कम्पनीसम्म थपिइरहेको देखिन्छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० ले चालू आर्थिक वर्ष (आव) को फागुनसम्ममा डिलक्स र तारे गरी ११ ओटा होटेल थपिएका छन् । योसँगै मुलुकमा यस्ता होटेलको संख्या १७३ पुगेको छ । आर्थिक सर्वेक्षणअनुसार २०७८ फागुनसम्म त्यस्ता होटेल संख्या १६२ थियो । यसबाहेक लक्जरी, हेरिटेज, बुटिकसहित पर्यटकस्तरीय होटेल, लजको संख्या पनि बढेको छ ।
आर्थिक सर्वेक्षणअनुसार चालू आवको फागुनसम्ममा ४५ ओटा यस्ता व्यवसाय थपिएर यो संख्या १ हजार २२८ पुगेको हो । अघिल्लो आव यस्तो संख्या १ हजार १८३ थियो । पाँच तारेदेखि डिलक्स, पर्यटकस्तरका होटेलको संख्या बढेसँगै बेडसंख्या पनि बढेको छ । फागुनसम्ममा तारेस्तरका होटेलमा बेडसंख्या ५६० थपिएर १६ हजार ३३५ पुगेको छ ।
नेपालमा सबै किसिमका होटेलको कुल बेडसंख्या ३७ हजार ३०० पुगेको छ । आर्थिक सर्वेक्षणअनुसार क्यासिनो र मिनी क्यासिनोको संख्या अघिल्लो वर्ष फागुनको २४ बाट २८ पुगेको छ । पोहोर फागुनयताको १ वर्षमा चारओटा क्यासिनो थपिएका छन् । यस्तै ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, र्याफ्टिङ व्यवसाय, पर्यटक यातायात सेवा व्यवसाय पनि थपिएका छन् ।
आर्थिक सर्वेक्षणले यो क्षेत्रमा लगानी र व्यवसाय थपिएको देखाउँदै गर्दा व्यवसायी पनि पर्यटक ल्याउन सके संरचना र पूर्वाधार निर्माणमा जति नै लगानी थपिए पनि फरक नपर्ने तर्क गर्छन् ।
होटेल एशोसिएशन नेपाल (हान)का महासचिव साजन शाक्यले व्यवसायका अन्य क्षेत्र फस्टाउन नपाए पनि पर्यटन क्षेत्रमा लगानी थपिएको बताए । ‘पर्यटन क्षेत्रमा सम्भावना देखेर नै लगानी बढेको हुनुसक्छ,’ उनले भने, ‘अहिले भएको लगानी र तयार पूर्वाधारबाट पनि वार्षिक ३५ लाखसम्म पर्यटकलाई सेवा दिन सकिन्छ ।’
उनले पर्यटनमा नयाँ लगानी आउनु सकारात्मक भएको तर पर्यटक संख्या पनि बढाउनुपर्ने चुनौती थपिएको बताए । अहिले मुलुकमा तीनओटा अन्तरराष्ट्रिय विमानस्थल छन् । भएका पूर्वाधारबाट लाखौं पर्यटकलाई सेवा दिन सक्ने होटेल व्यवसायीले बताए पनि नेपालमा वर्षभरिमा १२ लाखसम्म पर्यटक आएको अभिलेख छ ।
कोभिड–१९ महामारीपछिका वर्षहरूमा पर्यटक आगमनमा सुधार देखिएको छ । सन् २०२१ म १ लाख ५० हजारमा झरेको पर्यटक आगमन सन् २०२३ को पहिलो ५ महीनामा ४ लाख नाघेको छ । सन् २०२२ मा ६ लाख १४ हजार १४८ पर्यटक नेपाल आएका थिए । यस्तै टुर गाइड, ट्रेकिङ गाइड, रिभर गाइडको अनुमति लिनेको संख्या पनि बढेको छ ।