काठमाडौं । चालू आर्थिक वर्षको दुई महीनाभन्दा बढी समय बित्दा पनि हालसम्म ७ कम्पनीले मात्रै लाभांश प्रस्ताव गरेका छन् ।
गत आर्थिक वर्ष ०७९/८० सम्मको मुनाफाबाट पाँचओटा वाणिज्य बैंक र एक-एकओटा लघुवित्त कम्पनी र होटल्स कम्पनीले लाभांश प्रस्ताव गरेका छन्, जसमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, एनआईसी एशिया बैंक, ओरियण्टल होटल्स र युनिक नेपाल लघुवित्त वित्तीय संस्था छन् ।
यी कम्पनीहरूमध्ये माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, एनआईसी एशिया बैंक र ओरियण्ट होटल्सले दशैंअघि नै साधारण सभा आयोजना गरेका छन् । यस आधारमा यी चार कम्पनीका शेयरधनीले दशैंअघि नै लाभांश पाउनेछन् ।
एभरेष्ट बैंक, सानिमा बैंक र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले भने हालसम्म साधारण सभाको सूचना सार्वजनिक गरेका छैनन् ।
यस वर्ष वाणिज्य बैंकमध्ये माछापुच्छ्रे बैंकले कुल १४ प्रतिशत, एभरेष्ट बैंकले २० दशमलव ५३ प्रतिशत, सानिमा बैंकले १४ दशमलव ७० प्रतिशत, सिटिजन्स बैंक इन्टरनेशलले ५ दशमलव ७९ प्रतिशत र एनआईसी एशिया बैंकले ३० दशमलव ५३ प्रतिशत लाभांश दिन लागेका छन् । त्यस्तै ओरियण्टल होटल्सले ५ दशलमव २६ प्रतिशत नगद लाभांश (करसहित) र युनिक नेपाल लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । युनिक नेपाल लघुवित्तले भने कति बोनस र नगद भन्नेबारे सूचनामा उल्लेख गरेको छैन ।
माछापुच्छ्रे बैंकको कुल लाभांशमध्ये १३ दशमलव ३० प्रतिशत बोनस शेयर छ भने कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश छ । त्यस्तै, एभरेष्ट बैंकको १० प्रतिशत बोनस र कर प्रयोजन समेतका लागि १० दशमलव ५३ प्रतिशत नगद, सानिमा बैंकको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ दशमलव ७० प्रतिशत नगद लाभांश छ ।
सिटिजन्स बैंकले भने यस वर्ष कर समेत ५ दशमलव ७९ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । अघिल्ला दुई आर्थिक वर्ष लाभांश वितरणमा नेपाल राष्ट्र बैंकले रोक लगाएको एनआईसी एशिया बैंकले भने २९ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
गत आर्थिक वर्ष लाभांश वितरण नगरेको माछापुच्छ्रे बैंकले भने यस वर्ष वाणिज्य बैंकहरूमध्ये सबैभन्दा पहिले लाभांश पारित गर्न लागेको छ । बैंकले असोज १८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले साधारण सभा प्रयोजनको लागि भोलि (असोज ८ गते) बुक क्लोज गर्ने भएको छ । यस आधारमा आजसम्म कायम शेयरधनीहरूले साधारण सभा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
योबाहेक अन्य तीन कम्पनीले पनि दशैंअघि नै वार्षिक साधारण सभा गर्ने तयारी गरेका छन् । एनआईसी एशिया बैंकले असोज २८ गते साधारण सभा आयोजना गरेको छ । यस बैंकले असोज १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा असोज १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
त्यस्तै, सिटिजन्स बैंकले असोज २६ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज १५ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा असोज १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
त्यसैगरी, ओरियण्टल होटल्सले लाभांश पारितका लागि असोज २५ गते साधारण सभा बोलाएको छ । होटल्सले साधारण सभा प्रयोजनको लागि असोज १२ देखि २५ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा असोज ११ गतेसम्म कायम शेयरधनीहरू साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।