जिल्लाको राजापुर नगरपालिका–३ टिहुनीका मोतीराम चौधरीको दुई बिघा खेत कर्णालीले कटान गरेर बगरमा परिणत भएको ९ वर्ष बित्यो । खेत नदी बनेपछि गाँस, बास र कपासको समस्याले परिवारै मजदुरी गर्न बाध्य छ । गत वर्ष कात्तिक २ गते आएको बाढीले झन् समस्यामा पार्यो । डुबानले अँधिया लगाएको धानमा क्षति पुग्यो । वर्षभरिको खाना गुम्यो । आम्दानी गुमेपछि जीविकोपार्जनमा समस्या परेको उनले बताए ।