डिम्याट खाता खोल्नेको संख्या ५२ लाख नाघेको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार डिम्याट खाता खोल्नेको संख्या ५२ लाख ६० हजार दुई सय ५१ पुगेको हो ।
त्यस्तै, मेरो सेयर लिनेको संख्या...
काठमाडौं । डिम्याट खाताको संख्या ६२ लाखभन्दा बढी पुगेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको पछिल्लो तथ्याङ्कअनुसार आइतवारसम्ममा डिम्याट खाताको संख्या ६२ लाख ८ हजार ५४५ पुगेको छ । असार मसान्तसम्ममा डिम्याट खाताको संख्या ५७ लाख ५१ हजार ३४४ थियो । यसआधारमा चालू आर्थिक वर्षको आठ महीनामा थप ४ लाख ५७ हजार २०१ डिम्याट खाता थपिएका छन् ।
यद्यपि कतिपयले भने दुई खाता खोलेका हुन्छन् । यस्तो खाता दुईभन्दा बढी खोल्न भने पाइँदैन । पछिल्लो समय धितोपत्रको प्राथमिक बजारमा आईपीओ निष्कासन गर्ने कम्पनीको संख्या बढ्दो छ । यस कारण पनि डिम्याट खाताको संख्या बढेको हो ।
त्यस्तै मेरो शेयर प्रयोग गर्नेको संख्या ५२ लाख ५८ हजार ७३९ पुगेको छ । जसमध्ये ३६ लाख ३२ हजार ५३ जना मेरो शेयरमा सक्रिय प्रयागकर्ता रहेको सिडिएसीले जनाएको छ । मेरो शेयरबाट साधारण शेयर (आईपीओ) भर्न तथा दोस्रो बजारमा विक्री गरिएको शेयर ट्रान्सफर गर्न सकिन्छ । मेरो शेयर खाता नहुनेहरूले आईपीओ भर्नसमेत बैंकमा पुग्नुपर्ने हुन्छ ।
डिम्याट खाता नभएकाले प्राथमिक शेयर भर्न पनि पाउँदैनन् । दोस्रो बजारमा किनबेच गर्न पनि पाउँदैनन् । शेयर बजारबारे जति बढी प्रचारप्रसार हुन्छ, त्यति नै बढी डिम्याट खाता खोल्नेको संख्या बढ्ने जानकार बताउँछन् ।
विभिन्न कम्पनीको शेयर किनबेच हुँदा पहिले भौतिक अर्थात् कागजी प्रमाणपत्रकै रूपमा हस्तान्तरण हुने गर्दथ्यो । अर्थात् शेयर बेच्नेले प्रमाणपत्र नै दिने, खरीद गर्नेले फेरि आफ्नो नाममा प्रमाणपत्र नै पाउँथे । २०७२ माघ २ गतेबाट डिम्याट खाता पूर्णरूपमा सञ्चालनमा आएको हो । हाल शेयर अभौतिकरूपमा अर्थात् यही डिम्याट खातामा सीधै हस्तान्तरण हुन्छ । जसरी हामीले बैंक खातामा पैसा जम्मा गर्छौं, त्यसैगरी डिम्याट खातामा किनेको शेयर आफै जम्मा हुन्छ ।
प्राथमिक शेयर (आईपीओ) भरेपछि परेमा खातामै जम्मा हुन्छ । त्यस्तै दोस्रो बजारमा शेयर विक्री गर्दा खाताबाट शेयर संख्या घटेर खरीद गर्नेको डिम्याट खातामा जम्मा हुन्छ । यही शेयर जम्मा हुने खाता नै डिम्याट खाता हो ।
कहाँ खोल्ने डिम्याट खाता ?
यो खाता विभिन्न बैंकका सहायक कम्पनीहरूमा खोल्न सकिन्छ । त्यस्तै ब्रोकर कम्पनीहरूमार्फत पनि यस्तो खाता खोल्न सकिन्छ । यो खाता खोलिदिने संस्थालाई निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट) भनिन्छ । हाल १११ वटा यस्ता निक्षेप सदस्य छन् । यस्तो खाता खोल्नका लागि बैंक खाता नम्बर, नागरिकता प्रमाणपत्रको फोटोकपी र फोटो चाहिन्छ । आफूले कारोबार गर्ने बैंक वा ब्रोकर कम्पनीमै यस्तो खाता खोल्न सकिन्छ ।
धेरैजसोले यस्तो खाता खोलेबापत कुनै शुल्क लिँदैनन् । केहीले एक सय रुपैयाँसम्म शुल्क लिन सक्नेछन् । डिम्याट खाता खोलेपछि १६ अंकको डिम्याट खाता नम्बर प्राप्त हुन्छ । सो नम्बर पाएपछि मात्रै प्राथमिक शेयर भर्न वा दोस्रो बजार (नेप्से)बाट शेयर खरीदविक्री गर्न सकिन्छ ।
त्यस्तै आफ्नोे डिम्याट खातामा कुन-कुन कम्पनीको, कति शेयर छ ? त्यसको अहिलेको बजार मूल्य कति छ, खातामा शेयर जम्मा भए/नभएको जस्ता विवरण पनि आफूले नै मोबाइल वा ल्यापटपबाट हेर्न सकिन्छ । यसका लागि डिम्याट खाता खोलिदिने संस्थाले डिम्याट एकाउन्ट लगइनको युजरनेम र पासवर्ड दिन्छन् ।
काठमाडौं । धितोपत्र कारोबारका लागि अनिवार्य रहेको हितग्राही खाता (डिम्याट खाता) नवीकरण नगरेका लगानीकर्ताको भदौ १५ गतेदेखि मेरो शेयर रोक्का हुने भएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले डिम्याटको वार्षिक शुल्क नबुझाउने लगानीकर्ताको मेरो शेयर रोक्का राख्ने बताएको हो । सीडीएससीका अनुसार लगानीकर्ताले आफ्नो डिम्याट खाताको वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनुअगावै आफ्नो निक्षेप सदस्यलाई बुझाउनुपर्ने व्यवस्था रहेको छ ।
उक्त व्यवस्थाबमोजिम करीब १७ लाख डिम्याट खाता नवीकरण नभएको सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानले जानकारी दिएका छन् । कतिपय लगानीकर्ताले सार्वजनिक निष्कासनका धितोपत्र खरीदका लागि मेरो शेयर नवीकरण गरेर प्रयोग गरिरहेको भए पनि डिम्याट खाता नवीकरण नगरेको न्यौपानेको भनाइ छ । वार्षिक शुल्क नबुझाउने लगानीकर्ताको हितग्राही खाता निक्षेप सदस्यले रोक्का राख्ने न्यौपानेले जानकारी दिएका हुन् । खाता रोक्का हुने लगानीकर्ताले धितोपत्र विक्री गर्दा ईडीआईएस हुन नसकी क्लोज आउटमा पर्ने देखिएकाले तत्काल नवीकरण गर्नसमेत न्यौपानेले अनुरोध गरेका छन् ।
मेरो शेयर नवीकरण गरी धितोपत्र खरीद गर्ने र डिम्याट खाता वर्षौंसम्म पनि नवीकरण नगर्ने लगानीकर्ताका लागि कडाइ गर्न सीडीएससीले मेरो शेयर नै रोक्का गरी आवेदन दिन नपाउने व्यवस्था गर्न लागेको हो । मेरो शेयरमार्फत घरमै बसेर धितोपत्र खरीद गर्न पाउने सुविधा उपलब्ध गराएको सीडीएससीले डिम्याट नवीकरण गराउन बाध्य पार्नकै लागि मेरो शेयर रोक्का गर्ने व्यवस्था गर्न लागेको हो । मेरो शेयरमार्फत सहज रूपमा डिम्याट खाता नवीकरण गराउन सकिने व्यवस्था रहेको छ । निक्षेप सदस्यहरूले डिम्याट खाता नवीकरणका लागि १०० रुपैयाँ र मेरो शेयर नवीकरणका लागि ५० रुपैयाँ लिने गरेका छन् । थोरै शुल्कमा लगानीकर्ताले धितोपत्र कारोबारका लागि महत्त्वपूर्ण मानिने यी सफ्टवेयर सहज रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
पछिल्लो समय सार्वजनिक निष्कासनका धितोपत्रले निरन्तरता पाइरहँदा मेरो शेयर रोक्का हुँदा आईपीओ भर्न समस्या भएर डिम्याट खाता नवीकरण हुनेमा सीडीएससी आशावादी रहेको छ । साउन २५ गतेसम्मको तथ्यांकअनुसार ५८ लाख १७ हजार ५९३ ओटा डिम्याट खाता खोलिएका छन् । सूचना अधिकारी न्यौपानेका अनुसार यीमध्ये लाखौंको संख्यामा वर्षौंदेखि निष्क्रिय अवस्थामा रहेका खातासमेत रहेका छन् । खाली रहेका डिम्याट खाता बन्द गराउने कानूनी व्यवस्था नहुँदा ती खाता निष्क्रिय अवस्थामै गणनामा राख्न बाध्य रहेको गुनासोसमेत न्यौपानेले गरेका छन् । भदौ १५ गतेदेखि डिम्याट खाता नवीकरण नगर्ने लगानीकर्ताको मेरो शेयरसमेत रोक्का गर्ने व्यवस्थाले निष्क्रिय खाताहरू रोक्काकै अवस्थामा रहने सम्भावनालाई समेत न्यौपानेले औंल्याएका छन् ।
सीडीएससीले उपलब्ध गराएको तथ्यांकअनुसार ४८ लाख ८१ हजार ६६८ जना डिम्याट होल्डरले मात्र मेरो शेयर प्रयोग गरेका छन् । मेरो शेयरका लागि हितग्राही खाता अनिवार्य हुन्छ । मेरो शेयरको तथ्यांकलाई हेर्दा हितग्राही खाता खोलेका ९ लाख ३६ हजारभन्दा बढी लगानीकर्ताले मेरो शेयर प्रयोग गरेका छैनन् । नेपालमा हालको व्यवस्थाअनुसार दुईओटासम्म हितग्राही खाता खोल्न पाउने व्यवस्था छ । तर, मेरो शेयर भने एक जनाले एउटा मात्र प्रयोग गर्न पाउछन् । एक व्यक्तिले एक वा एकभन्दा बढी डिम्याट खाता खोलेकाले पनि मेरो शेयरको संख्या डिम्याटको भन्दा कम रहेको सीडीएससीको भनाइ छ ।
धितोपत्र कारोबारका लागि अनिवार्य गरिएको डिम्याट खाताको संख्या भने निरन्तर बढ्दो क्रममा नै रहेको छ । अघिल्लो आर्थिक वर्ष (आव) २०७८/७९ को तुलनामा आव २०७९/८० मा ४ लाख ७३ हजार ९१३ डिम्याट खाता थप भएका छन् । सीडीएससीले दिएको जानकारीअनुसार आव २०७८/७९ को अन्तिममा ५२ लाख ७७ हजार ४३१ रहेको डिम्याट खाता आव २०७९/८० को अन्तिममा ५७ लाख ५१ हजार ३४४ कायम भएको हो । हालसको तथ्यांक हेर्दा यो साउन महीनाको २५ दिनमा मात्र ६६ हजारभन्दा बढी डिम्याट खाता खोलिएको देखिन्छ ।
साउन २५ गतेसम्मको तथ्यांक :
डिम्याट खाताको संख्या : ५,८१७,५९३
मेरो शेयरको संख्या : ४,८८१,६६८
डिम्याट खातामा भएको शेयरको संख्या : ११,०१८,००३,८४५ कित्ता
नेपालको शेयरबजार परिसूचक नेप्से निरन्तर ओरालो लागिरहेको छ । गत साता पाँचै दिन नेप्से ओरालो लाग्ने क्रम रोकिएन र जसले गर्दा लगानीकर्ता निराश बने । केही दिनदेखि खरीदको चाप घटेको छ भने विक्रीमा चाप बढेको छ । यसरी बजार बियरिस प्रवृत्तिमा लाग्दै गर्दा शेयरबजारमा सुधारका लागि बाँकी काम किन भएन भन्ने प्रश्न पनि लगानीकर्ताले उठाउन थालेका छन् । शेयरबजार माग र आपूर्तिबाट निर्धारित हुने भए पनि भयको मनोवैज्ञानिक असरले यसमा बढी भूमिका निर्वाह गरेको हुन्छ । केही महीनाअघिसम्म ३२ सय पुगेको नेप्से अहिले २१ सयभन्दा मुनि आइसकेको छ ।
अर्थतन्त्रमा सुधार आवश्यक छ भन्ने अर्थशास्त्रीहरूको भनाइलाई सरकारले सुनेर सम्बोधन गरेको देखिँदैन । खासगरी शेयरबजारलाई सकारात्मक रूपमा बुझ्न नसक्ने नीति निर्माण तहमा बस्नेहरूको सोच तथा पर्याप्त तरलताको जोहो हुन नसक्नु अहिलेका मुख्य समस्या हुन् ।
लगानीकर्तालाई निराश बनाउने गरी कम्पनीहरूको मुनाफामा त्यति धेरै ह्रास आएको पाइँदैन । यद्यपि वित्तीय संस्थाको बाहुल्य रहेको नेपालको शेयरबजारमा तरलता अभावको समस्याका कारण बैंकिङ क्षेत्रको मुनाफामा सामान्य संकुचन भने आएको पाइन्छ । यस्तोमा बजारलाई थप आतंकित नपार्न नियामकीय निकायले पर्याप्त भूमिका निर्वाह गर्न नसकेको देखिन्छ । खासगरी अस्थिर जस्तो देखिएको पूँजीबजारलाई स्थिर बनाउन नियामक निकाय चुकेको छ ।
कोरोना महामारीका समयमा शेयरबजारप्रति सर्वसाधारणमा आकर्षण निकै बढेको थियो । शेयरबजारमा आधुनिक प्रणालीसँगै घरमै बसीबसी कारोबार गर्न पाउने भएकाले ठूलो संख्यामा लगानीकर्ता यसतर्फ आकर्षित भएका थिए । त्यही भएर नेप्से र कारोबार रकम निकै बढेको थियो । झन्डै ५२ लाख डिम्याट खाता खोलिएको छ भने लाखौं व्यक्ति दैनिक कारोबारमा सक्रिय रहेको पाइन्छ । यस्तोमा शेयरबजार ओरालो लाग्दा लाखौं लगानीकर्ता समस्यामा पर्ने देखिन्छ । त्यसैले पूँजी बजारका समस्यालाई विश्लेषण गरेर उपयुक्त नीति लिन ढिला गर्नु हुँदैन ।
बजार तल झर्नुमा तरलता समस्यालगायत केही आर्थिक परिसूचक पनि कारण रहेका छन् । तर, नियामक निकायको कमजोरीका कारण पनि बजार प्रभावित भएको पाइन्छ । शेयरबजारमा सुधारका लागि थाती रहेका विषयमा नियामक निकायले पहल लिएको छैन । खासगरी उत्पादनमूलक उद्योगहरूलाई शेयरबजारमा आउने वातावरण अझै बनेको छैन । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासनको तयारीमा रहेको कम्पनी सरकारी कार्यशैलीका कारण शेयरबजारमा आउन ढिला भइरहेको छ । अन्य कम्पनीलाई पनि शेयरबजारमा ल्याउन आवश्यक सुधार र सहुलियतका विषयमा नियामक र सरकार लचिलो बन्न सकेको छैन । बजारका विकृति रोक्न पनि नियामक निकायले सकिरहेको छैन ।
कानूनमै व्यवस्था नभएको कारोबार रोक्का गरेर बजारलाई तर्साउने काम गरिएको छ । मर्जर र एक्वीजिशनका नाममा केही कम्पनीको शेयर किनबेच वर्षांैदेखि रोक्का राखिएको छ जुन कुनै पनि दृष्टिकोणले आवश्यक छैन । अझै दर्जनभन्दा बढी कम्पनीको कारोबार रोक्का रहेको छ । मर्जर तथा प्राप्ति प्रयोजनका कारण लामो समय शेयर कारोबार रोकिन थालेपछि यस विषयमा अध्ययन गरी निकास निकाल्न सेबोनले कार्यदललाई जिम्मा लगाएको छ । तर, यो कार्यदलले दिने सुझाव कस्तो हुने भन्नेबारे स्पष्ट छैन । विश्वका अन्य मुलुकमा मर्जर र प्राप्तिमा लामो समय कारोबार रोक्ने परिपाटी छैन । नेपालमा कारोबार रोक्का हुने भएकाले लगानीकर्ताले आपूmसँग भएको शेयर विक्री गरेर गर्जो टार्न नपाउँदा बजारप्रति निराश हुनु स्वाभाविक हो ।
बजारमा थप सुधारका लागि लगानीकर्ताले बेलाबेला आवाज उठाउँदै आएका छन् । तैपनि त्यस्ता आवाजको सुनुवाइ भइरहेको छैन । वास्तविक कम्पनीहरूलाई शेयरबजारमा ल्याउने अमूर्त शब्दावली बजेट भाषणमा पर्ने गरेको छ तर ठोस कार्यक्रम छैन । लगानीकर्ताले विरोध गर्दै आएको ४/१२ को नीतिबारेमा पनि बजेटले केही सम्बोधन गरेन । फलत: लगानीकर्ताले लगानीका विविध वैकल्पिक उपकरण पनि पाउन सकेका छैनन् । यस्तोमा शेयरबजार नियामक निकायहरूको अस्थिर नीतिको शिकार बन्नु अस्वाभाविक होइन ।
मुलुकमा अर्थतन्त्रका सूचक सकारात्मक छैनन् । अर्थतन्त्रमा सुधार आवश्यक छ भन्ने अर्थशास्त्रीहरूको भनाइलाई सरकारले सुनेर सम्बोधन गरेको देखिँदैन । खासगरी शेयरबजारलाई सकारात्मक रूपमा बुझ्न नसक्ने नीति निर्माण तहमा बस्नेहरूको सोच तथा पर्याप्त तरलताको जोहो हुन नसक्नु अहिलेका मुख्य समस्या हुन् । त्यसैले यस्ता समस्याप्रति केन्द्रित हुँदै समाधानको बाटो खोज्न इमानदार प्रयासको आवश्यकता छ । यसो गर्न सक्यो भने लाखौं लगानीकर्ताको मनोबल बढ्छ र पूँजीबजारमा रौनक थपिन्छ ।
जेठ २१, काठमाडौं । पछिल्लो समयमा हितग्राही खाता(डिम्याट) खोल्नेको संख्या बढेको छ ।
सिडिएस क्लियरिङका अनुसार शुक्रवारसम्ममा ५१ लाख ९४ हजार ९४१ डिम्याट खाता पुगेकोे छ । पछिल्लो समयमा धितोपत्र बजारमा नयाँ नयाँ कम्पनीहरुको आईपीओ आइराखेकाले पनि डिम्याट खाताको संख्या बढेको हो ।
गत आवको असार मसान्तसम्ममा करीब ३७ लाख डिम्याट खातामा रहेकोमा उक्त अवधिसम्ममा करीब ५२ लाख पुग्न लागेको हो ।
केहिवर्ष यतादेखि प्रत्येक आवेदकलाई सार्वजानिक निष्कासनमा अनिवार्य १० कित्ता शेयरको व्यवस्था भएपछि पनि डिम्याट खाता खोल्ने क्रम बढेको हो । प्राथमिक र दोस्रो बजार पनि पूर्ण रुपमा अनलाईन प्रणालीमा गइसकेकोले पनि आगामी दिनमा अझै डिम्याट खाता बढ्ने देखिन्छ ।
डिम्याट खातासँगै मेरो शेयर खाताको संख्या पनि बढेको छ । सिडिएसका अनुसार मेरो शेयरको संख्या ४३ लाख ९ हजार १८० पुगेको छ । असार मसान्तसम्ममा मेरो शेयरको संख्या २८ लाख ५५ हजार थियो । पछिल्लो समय कोरोना महामारीले गर्दा अरु क्षेत्र प्रभावित भइरहँदा अन्य क्षेत्रका सर्वसाधारण पनि घरेलु शेयर बजारमा प्रवेश गरेको पाइएको छ ।
अहिले सहरी क्षेत्रमात्र नभई ग्रामीण भेगबाट समेत डिम्याट खाता खोली आईपीओ भर्नेहरुको संख्या बढिरहेको छ ।
त्यसो त प्राथमिक बजारबाट थोरै लगानी गरेर छोटो समयमा नै प्रतिफल प्राप्त हुने भएकाले पनि शेयर बजारमा प्रवेश गर्नेको संख्या बढेको हो ।
यसरी हेर्दा आईपीओ निष्कासनमा आवेदन दिनेको संख्यामा बढ्नु नै धितोपत्र कारोबारमा सर्वसाधारणको सहभागिता बढ्नु हो । पछिल्लो समय आईपीओ निष्कासन गरेका कम्पनीहरुको शेयर सूचीकरण पनि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा छिटो हुने गर्दछ ।
यसले गर्दा छोटो समयमा थारै लगानीबाट राम्रो प्रतिफल प्राप्त भएपछि शेयर बजारमा प्रवेश गर्नेको संख्या बढ्दै गएको देखिएको छ ।
हाल ८ ओटा कम्पनीको प्राथमिक शेयर तथा ऋणपत्र सार्वजनिक निष्कासनमा रहेको छ ।