जेठ २१, काठमाडौं । पछिल्लो समयमा हितग्राही खाता(डिम्याट) खोल्नेको संख्या बढेको छ ।
सिडिएस क्लियरिङका अनुसार शुक्रवारसम्ममा ५१ लाख ९४ हजार ९४१ डिम्याट खाता पुगेकोे छ । पछिल्लो समयमा धितोपत्र बजारमा नयाँ नयाँ कम्पनीहरुको आईपीओ आइराखेकाले पनि डिम्याट खाताको संख्या बढेको हो ।
गत आवको असार मसान्तसम्ममा करीब ३७ लाख डिम्याट खातामा रहेकोमा उक्त अवधिसम्ममा करीब ५२ लाख पुग्न लागेको हो ।
केहिवर्ष यतादेखि प्रत्येक आवेदकलाई सार्वजानिक निष्कासनमा अनिवार्य १० कित्ता शेयरको व्यवस्था भएपछि पनि डिम्याट खाता खोल्ने क्रम बढेको हो । प्राथमिक र दोस्रो बजार पनि पूर्ण रुपमा अनलाईन प्रणालीमा गइसकेकोले पनि आगामी दिनमा अझै डिम्याट खाता बढ्ने देखिन्छ ।
डिम्याट खातासँगै मेरो शेयर खाताको संख्या पनि बढेको छ । सिडिएसका अनुसार मेरो शेयरको संख्या ४३ लाख ९ हजार १८० पुगेको छ । असार मसान्तसम्ममा मेरो शेयरको संख्या २८ लाख ५५ हजार थियो । पछिल्लो समय कोरोना महामारीले गर्दा अरु क्षेत्र प्रभावित भइरहँदा अन्य क्षेत्रका सर्वसाधारण पनि घरेलु शेयर बजारमा प्रवेश गरेको पाइएको छ ।
अहिले सहरी क्षेत्रमात्र नभई ग्रामीण भेगबाट समेत डिम्याट खाता खोली आईपीओ भर्नेहरुको संख्या बढिरहेको छ ।
त्यसो त प्राथमिक बजारबाट थोरै लगानी गरेर छोटो समयमा नै प्रतिफल प्राप्त हुने भएकाले पनि शेयर बजारमा प्रवेश गर्नेको संख्या बढेको हो ।
यसरी हेर्दा आईपीओ निष्कासनमा आवेदन दिनेको संख्यामा बढ्नु नै धितोपत्र कारोबारमा सर्वसाधारणको सहभागिता बढ्नु हो । पछिल्लो समय आईपीओ निष्कासन गरेका कम्पनीहरुको शेयर सूचीकरण पनि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा छिटो हुने गर्दछ ।
यसले गर्दा छोटो समयमा थारै लगानीबाट राम्रो प्रतिफल प्राप्त भएपछि शेयर बजारमा प्रवेश गर्नेको संख्या बढ्दै गएको देखिएको छ ।
हाल ८ ओटा कम्पनीको प्राथमिक शेयर तथा ऋणपत्र सार्वजनिक निष्कासनमा रहेको छ ।