भारतीय लोकतन्त्रलाई सही मार्गमा ल्याउने अवसर

करिब ९६ करोड ८० लाख मतदाताले मतदानका लागि नाम दर्ता गराएको भारतको आगामी आमनिर्वाचन मानव इतिहासकै सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास हुनेछ । तर, यो अवसरमा भारतीय लोकतन्त्रको भविष्यबारे प्रश्न पनि उठिरहेका...

सम्बन्धित सामग्री

बंगलादेशमा बिजुली निर्यात सम्झौता अर्को महीना हुने

काठमाडौं । नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्न बंगलादेश सरकार सहमत भएको छ । विद्युत् किनबेचका लागि आगामी महीना दुई देशका अधिकारीबीच सम्झौता हुने बताइएको छ । बंगलादेशका ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले बंगलादेशले छिमेकी मुलुकबाट ९ हजार मेगावाट बिजुली आयात गर्ने तयारी गरिरहेको जानकारी दिँदै नेपालबाट ४० मेगावाट आयात गर्न अर्को महीना सम्झौता हुने सम्भावना रहेको बताएका छन् ।  बंगलादेशी सञ्चारमाध्यमका अनुसार हमिदले बंगलादेशस्थित भारतीय उच्च आयोगका प्रणय बर्मासँगको भेटवार्ताका क्रममा नेपालबाट विद्युत् आयात गर्ने प्रक्रियामा थप प्रगति भएको बताएका हुन् । भेटवार्ताका क्रममा बंगलादेश र भारतले ऊर्जाक्षेत्रको विकासका लागि मिलेर काम गर्ने ठूलो अवसर रहेको बताउँदै नसरुलले भने, ‘हामी छिमेकी मुलुकबाट ९ हजार मेगावाट बिजुली आयात गर्न चाहन्छौं । नेपाल र भुटानबाट जलविद्युत् ल्याउने प्रक्रियामा राम्रो प्रगति भएको छ ।’  उनले भारतीय कम्पनी जीएमआरमार्फत नेपालबाट ५०० मेगावाट विद्युत् आयात गर्ने लगभग निश्चित भएको र नवीकरणीय ऊर्जा आयातको काम पनि भइरहेको बताए । हमिदले नेपालदेखि बंगलादेशसम्म डेडिकेटेड लाइन भए विद्युत् व्यापारले गति लिने र त्यसले भारतलाई पनि फाइदा पुग्ने बताएका छन् । दुई देशबीच विद्युत् व्यापार सम्झौताका लागि २ साताअघि नेपाल विद्युत् प्राधिकरणको टोली बंगलादेशको राजधानी ढाका पुगेको थियो । प्राधिकरणको टोलीले बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) सँगको विद्युत् विक्री वार्ता सकारात्मक रूपमा अगाडि बढे पनि मूल्य टुंगो नलागेको बताएको थियो । मूल्य टुंगो लगाउन र विद्युत् किनबेचलाई अन्तिम रूप दिन चाँडै अर्को सम्झौता हुने बताइएको थियो । यसअघि भएको भेटमा बंगलादेश सरकारसँग विद्युत् महशुलको विषयमा सहमति भइसके पनि अन्तिम सम्झौता हुन बाँकी रहेकाले अहिले नै मूल्यको विषयमा केही बोल्न नसकिने प्राधिकरणको टोलीसँगै छलफलका लागि ढाका पुगेका कानूनविद् सेमन्त दाहालले बताए । आगामी असारदेखि ४० मेगावाट विद्युत् निर्यात गर्ने गरी अर्को महीना अन्तिम सम्झौताको तयारी भएको उनले बताए । प्राधिकरणले हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म वर्षायामका ६ महीना ४० मेगावाटसम्म विद्युत् निर्यातका लागि बंगलादेशसमक्ष प्रस्ताव पठाएको छ । विद्युत् विक्री सम्झौता ५ वर्षको गर्न लागिएको छ । नेपालले ढल्केवर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरमपुर–भेरामारा प्रसारण लाइनबाट विद्युत् निर्यात गर्ने गरी सम्झौता हुनेछ ।

जलविद्युत्मा भारतीय लगानी

विश्व अर्थतन्त्रमा आफ्नो स्थान उकास्दै गएको भारतमा अहिले झन्डै २२३.२३ गिगावाट विद्युत् माग रहेको छ भने यो बढेर २०३० मा दोब्बर पुग्ने अनुमान त्यहाँका विज्ञहरूले गरेका छन् । भारतमा त्यति ठूलो बिजुलीको माग भइरहँदा नेपालमा झन्डै २ लाख मेगावाट (मेवा) विद्युत् उत्पादन हुने सम्भावना छ भने वित्तीय रूपमा ७२ हजार मेवाभन्दा बढी जलविद्युत् उत्पादन हुने सम्भावना छ । यो सम्भावना दोहनका लागि भारतीय लगानी आवश्यक छ । भारतले चाहने हो भने आगामी १० वर्षमा २५ हजार मेवा बिजुली निकाल्न सक्ने देखिएको छ । अहिले नेपालको विद्युत् ३ हजार मेवा जडितक्षमता रहेको छ । वर्षायाममा बढी भएको ५ सय मेवा बिजुली भारतलाई बेचिरहेको छ । तर, हिउँदमा भने उताबाट किन्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा दुवै मुलुकलाई फाइदा हुने गरी विद्युत् उत्पादनमा दुवै देशका सरकार गम्भीर हुनुपर्ने हो । तर, व्यवहारमा त्यस्तो भएको पाइँदैन ।  नेपालमा हाल ४ हजार ५ सय मेवा क्षमताका आयोजनाहरू निर्माणाधीन छन् । १२ हजार मेवा क्षमताका आयोजनाहरू विद्युत् खरीद विक्री सम्झौताको पर्खाइमा छन् भने त्यति नै क्षमताका आयोजनाहरू अध्ययनकै चरणमा रहेको बताइन्छ । यी आयोजनामा नेपालका बैंक र प्रवद्र्धकहरूको करीब १३ खर्ब रुपैयाँ लगानी भइसकेको छ । यो लगानी नेपालका सन्दर्भमा ठूलै हो । त्यसैले अब थप लगानीका लागि भारतलाई लगानी गर्न आग्रह गर्नुपर्छ । खासगरी त्यहाँको निजीक्षेत्रलाई लगानीका लागि आग्रह गर्नुपर्छ । भारतीय लगानीकर्ता गौतम अडानीले नेपालको जलविद्युत्मा लगानी गर्न इच्छा व्यक्त गरेको समाचार आएको थियो । तर, त्यो प्रक्रिया अगाडि बढेन । अब नेपाल सरकार आफैले भारतीय ठूला लगानीकर्तालाई भेटेर लगानीका लागि आग्रह गर्नु उपयुक्त हुन्छ । नेपालको जलविद्युत्मा भारतीय लगानीकर्ता आकर्षित गर्न आवश्यक उपाय अवलम्बन गर्न ढिलासुस्ती गर्नु हुँदैन । सरकारी स्तरमा समस्या छ भने पनि नेपाल सरकारले भारत सरकारसँग निजीक्षेत्रको लगानीमा सहजता ल्याउने वातावरण बनाउन पहल कदमी लिनुपर्छ ।  भारतले नेपालको जलविद्युत्मा लगानी गर्न विभिन्न सम्झौता गरेको छ । अरूण नदी बेसिनमा मात्रै उसले झन्डै ३ हजार मेवा क्षमताको आयोजना अघि बढाउन खोजेको देखिन्छ । अहिले अन्य देशको लगानीका बिजुली खरीद नगर्ने अडानमा भारत रहेको देखिन्छ । त्यसो भएकाले पनि नेपालको ऊर्जा विकासमा भारतीय लगानी बढी आवश्यक देखिएको हो । कतिपयले भारतको नेपालका जलविद्युत्मा लगानी गर्नुभन्दा पनि पानीमा बढी चासो राखेको भनेर टिप्पणी गर्ने गर्छन् । केही आयोजनामा भइरहेको ढिलासुस्ती हेर्दा त्यस्तो आशंकालाई मलजल गर्छ पनि । तर, सधैं यसो भनेर मात्रै बस्ने हो भने कतै पनि पुग्न सकिँदैन, किनकि नेपालले जलविद्युत् क्षेत्रबाट लाभ लिन ढिला हुँदै गएको छ । साढे ६ हजार मेगावाटको पञ्चेश्वर आयोजना निर्माणका लागि सम्झौता भए पनि प्रक्रिया अघि बढाउन भारतले आलटाल गरेको दशकौं भइसकेको छ । निजीक्षेत्रलाई आकर्षण गर्न सकेको भए यस्तो ढिलासुस्ती नहुन सक्थ्यो । भारत सरकारले जसरी अहिले नेपालमा उत्पादित विद्युत् खरीदमा अनेक शर्त राख्ने गरेको छ यदि भारतीय निजीक्षेत्रले उत्पादन गरेको विद्युत्मा त्यस्तो समस्या आउँथ्यो भने त्यसको प्रतिवाद तिनै भारतीय लगानीकर्ताले नै गर्थे । जसका कारण जलविद्युत् आयोजनामा हुने गरेको राजनीतिक चलखेलमा कमी आई नेपालले ऊर्जाक्षेत्रबाट लाभ लिने वातावरण बन्न सक्थ्यो । पक्कै पनि भएभरका सबै परियँेजना कुनै एउटा मुलुकलाई दिन हुँदैन तर लगानी गर्ने अवसर पनि सरकारी निकाय र निजीक्षेत्रले पाउनुपर्छ । भारतीय निजीक्षेत्रको चाहना हुँदाहुँदै किन नेपालको ऊर्जाक्षेत्रमा निजीक्षेत्र आएन भन्ने प्रश्न महत्त्वपूर्ण भएकाले सरकारले यसको सूक्ष्म अध्ययन गर्न आवश्यक छ । अप्ठ्यारा पक्ष छन् भने सहज बनाउने दायित्व सरकारकै हो ।

खुला र उदार अर्थतन्त्रमा मात्रै अवसर र सम्भावना छ : विज्ञ

काठमाडौं । खुला र उदार अर्थतन्त्रमा मात्रै अवसर र सम्भावनाको विस्तार हुने आर्थिक क्षेत्रका विज्ञहरूले बताएका छन् ।  काठमाडौ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टले मंगलवार आयोजना गरको अन्तरराष्ट्रिय सम्मेलनमा विज्ञहरूले अहिलेको विश्वमा शत प्रतिशत आत्मनिर्भरता असम्भव रहेको र यही कारणले गर्दा खुला व्यापारको विकल्प  नरहेको उनीहरूको धारणा थियो । तर, नेपालले विश्व व्यापार सगठनमा प्रवेश गरको दुई दशक बित्दा पनि देश थप आयातमुखी हुनुको कारण पहिल्याएर उचित निति लिनुपर्ने पनि औंल्याए । इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट एकेडेमी, बैंगलोरन्तर्गत साउथ एसिया वोर्ड एकेडेमी अफ इन्टरनेशनल विजिनेशका अध्यक्ष प्राध्यापक डा. रघुनाथ सुब्रमन्यमले व्यापारमा खुलापनले आफैंमा अवसर ल्याउने बताए । ‘यसले प्रतिस्पर्धी क्षमताको विकास, प्रविधिले प्रयोगले उत्पादनमा गुणस्तर बढाउने अवसर दिन्छ,’ उनले भने ।  उनले नेपालले आफ्नै स्थायीय स्रोतमा आधारित उत्पादन बढाउनुपर्नेमा जोड दिए । ‘कुनै पनि देशको एउटा निश्चित ब्राण्ड हुन्छ । स्थानीय स्रोतमा आधारित र विश्वबजारमा प्रतिस्पर्धी वस्तु तथा सेवाको पहिचान नेपालले गर्न सक्छ ।  व्यापार प्रणालीका सुधारसँगै सूचना प्रविधिको प्रयोगले समग्र यी उपलब्धी हाँसल हुनसक्छन्,’ उनले भने । उनका अनुसार व्यापार विविधीकरण तथा निर्यात बढाउने नेपालको लक्ष्य पूरा गर्न नेपालले डिजिटल सेवा, पर्यटन लगायतका क्षेत्रमा काम गर्न सक्छ ।  भारतीय सरकारको पुर्व वाणिज्य सचिव डा. अनुप वाधावनले व्यापारमा जति थोरै नियमन तथा उदार नियम हुन्छ त्यति धेरै अर्थतन्त्रले लाभ पाउँने वताए । ‘कुनै पनि देशले खुला व्यापार अपनाउनुको अर्थ विकसित  र प्रतिस्पर्धी अर्थतन्त्रको लाभ लिएर आफूलाई उन्नत बनाउने हो,’ उनले भने । उनका अनुसार अहिलेको समयमा सतप्रतिशत आत्मनिर्भर असम्भव छ । ‘यही कारणले गर्दा खुला व्यापारको विकल्प कम्तीमा व्यापारमा सिर्जनशीलता चाहनेका लागि छैन,’ उनले भने । अहिले विश्वमा बहुआयामिक आर्थिक संकटहरू देखिएको तर यो संकट र असरका बाबजुद खुला अर्थतन्त्रमा मात्र सही र सहज समाधान निस्किने उनको दाबी छ । कारोना महामारी, रुस युक्रेन युद्ध, अमेरिका चीनको व्यापारिक द्वन्द्वका कारण अन्तरराष्ट्रिय व्यापारमा नयाँ आयामहरू देखिएको र त्यसको प्रभाव समय क्रममा देखिँदै जाने बताए ।  इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट उदयपुरका बजिनेश पोलिसी एण्ड स्ट्रेटेजीका अनुसन्धान अध्यक्ष एलिजाबेथ लुइज रोजले कुनै पनि अर्थतन्त्रको मुख्य आधार भनेकै साना तथा मझौला उद्योग हुने बताइन् । अन्तरराष्ट्रिय व्यापारमा बहुराष्ट्रिय ठूला कम्पनीहरू दृश्यमा बढी आए पनि पनि साना तथा मझौला उद्योग निकै महत्त्वपूण हुने उनको धारणा थियो ।  ‘आफ्नै र सृजनशील किसिमको उत्पादन हुने यस्ता उद्योगका विकास निकै महत्त्वपूर्ण हुन्छ,’ उनले भनिन, ‘साना तथा मझौला उद्मीहरूका लागि इकोसिस्टम बनाउनुपर्छ र यस्ता उद्यमीलाई दिने सहायताको किफायती बाटो लिनुपर्छ ।’ काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाले नेपालले व्यापारको क्षेत्रमा निरन्तर धक्का खाँदै आएको र देशको व्यापार उच्च व्यापार घाटा जोखिमपूर्ण रहेको वताए ।  नेपालले अपनाएको अहिलेसम्मका व्यापार नीतिवाट उत्पादन र बजारको खोजीमा असफलता नै धेरै हात लागेको बताए । यस्ता असफलताको समीक्षा गरी उपयुक्त नीतिगत पहिचानका लागि यो सम्मेलन सफल हुने उनले विश्वास व्यक्त गरे । ‘विश्वविद्यालयका रुपमा हामीले दक्ष जनशक्ति विकासमा काम गरिरहेका छौं । अझै नयाँ युगको आवश्यकता अनुसारको जनशक्ति विकासमा हामीले ध्यान दिइरहेका छौं,’ उनले भने ।  डब्लु टि ओ चेयरस प्रोगामका नलेज म्यानेजमेन्ट डिभिजनका निर्देशक डा. वेर्नर जेडडौकले सदस्य राष्ट्रहरूको व्यापारिक क्षमता विकासका लागि विश्व व्यापार संगठनले नीति निर्माणमा आवश्यक तथ्यगत अनुसन्धान, नीतिगत समीक्षा, मानव संसाधन विकासमा सहयोग गर्ने वताए ।सोही मुताविक नेपालमा पनि डब्लु टि ओ चेयरस प्रोगाम कार्यान्वयन भइरहेको उनले वताए । काठमाडौ  विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डिन तथा  डब्लु टि ओ चेयरस प्रोगाम–नेपालका अध्यक्ष प्रोफेसर डा. देवी प्रसाद बेडारीले विश्वव्यापीकरण कुनै पनि अर्थतन्त्रका लागि आफैमा राम्रो भए पनि नेपालजस्तो मुलुकका लागि केही चुनौति पनि रहेको वताए ।  ‘हामी अझै सिर्जनसील हुन आवश्यक छ किनभने नेपाल पहिले नै औद्योगिककरण कमजोर छ अनि उपयुक्त  शिक्षा तथा तालिम, बजार अनुसारको सीप विकास गर्नुपर्ने जस्ता थुप्रै चुनौति छन्,’ उनले भने। ‘डब्लु टि ओ चेयरस प्रोगाम अन्तर्गत यस्तै विषयमा प्राज्ञिक तथा व्यावाहरिक कामहरू हुनेछन्।’ काठमाडैो विश्वविद्यालयका रजिष्ट्रार तथा डब्लु टि ओ चेयरस प्रोगामका सहअध्यक्ष प्रोफेसर अच्युत वाग्लले देशको ८५ प्रतिशत व्यापार दुई छिमेकी भारत र चीनसँग मात्र भईरहेकोले व्यापार विविधिकरणलाई नेपालले प्राथमिकता दिनुपर्ने वताए ।  ठूला छिमेकीले इतिहासमा आफ्नो भू-राजनीतिक स्वार्थ पुरा गर्न व्यापारलाई रणनीतिक वस्तुको रुपमा उपयोग गरेकाले व्यापार विविधिकरण महत्त्वपूर्ण रहेको उनको भनाइ थियो वस्तु निर्यातमा कमजोर रहँदारहदै सेवा व्यापारमा पनि नेपाल कमजोर रहेको उनको भनाइ थियो । ‘उच्च शिक्षा, उच्च स्वास्थ्य सेवा र अन्तर्राष्ट्रिय हवाइ सेवामा नेपाल खुद आयातकर्ता हो ।’ उनले सन् २००४ मा नेपाल विश्व व्यापर संगठनमा आवद्ध भएपछि निर्यात बढाउन अपनाइएका धेरै नीतिहरू असफल रहेको बताए । यी नीतिहरू उत्पादकत्व वढाउन र व्यापार घटाउन असफल रहेको र यसको लागि प्राज्ञिक र व्याहारिक अनुसन्धान आवश्यक हुने बताए । व्यापारमा खुलापन, आर्थिक विकास र आर्थिक दिगोपन विषयमा आयोजित यो अन्तरराष्ट्रिय सम्मेलन बुधवारसम्म चल्नेछ ।

स्टार्टअप फेस्ट गर्दै परिसंघ, ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता गरिने

नेपाल उद्योग परिसंघले आउँदो शनिवार काठमाडौंमा नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ । परिसंघको युवा उद्यमी मञ्चले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्दश्यले नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने बताएको हो । असार ११ गते काठमाडौंको सोल्टी होटलमा हुने स्टार्टअप फेस्टमा राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदुतावासको सहयोग रहेको छ । स्टार्टअप फेस्टमा छनोट भएकामध्ये १० वटा प्रश्तावलाई प्रश्तुती गर्ने अवसर दिइनेछ भने पुँजी लगानीको अवसर पनि दिने आयोजकले बताएको छ । यसअघि स्टार्टअपहरुलाई लगानीका लागि आवेदन पेश गर्न जेठ २७ गतेसम्मको समय अवधि दिएकोमा देशभरबाट ३ सय बढी परियोजना प्रश्ताव आएको थियो । जसमध्ये १० वटालाई प्रश्तुती गर्ने अवसरका दिनुका साथै पुँजी तथा प्रविधिक सहयोग गर्ने तथा लगानीकर्तालाई उत्कृष्ट परियोजनामा लगानीको अवसर दिने आयोजक नेपाल उद्योग परिसंघले बताएको छ ।स्वदेशमै नयाँ उद्यम गर्न चाहने युवाहरुलाई व्यवसायमा ल्याउने विश्वासका साथ आयोजना गर्न लागिएको मेलामार्फत करिव ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता गरिने पनि आयोजक परिसंघले बताएको छ । कार्यक्रममा स्वदेशी एवं विदेशी विज्ञहरुबाट स्टार्टअप विषयमा प्रश्तुती हुनुका साथै प्यानल डिस्कश न, रोबोटिक फुटबल, लाइभ म्युजिक कन्सर्ट पनि हुनेछ । यसका साथै, ४० बढी स्टार्टअप्सले आफ्नो वस्तु तथा सेवाको प्रदर्शनी गर्नेछन् ।

जहाँ संकट हुन्छ, त्यहाँ अवसर पनि हुन्छ

अनेकौं चुनौती र समस्याकै बीच पछिल्लो समय महिला उद्यमीहरू व्यावसायिक क्षेत्रमा अगाडि आउन थालेका छन् । यसमा कतिपयलाई पारिवारिक व्यावसायिक पृष्ठभूमिले समेत सघाएको छ । पारिवारिक व्यवसायलाई कुशल नेतृत्व दिन सफल महिला उद्यमीमध्ये सहारा जोशी पनि नछुट्ने नाम हो । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ)की द्वितीय उपाध्यक्ष समेत रहेकी जोशीले हिमालयन ब्याम्बोमा प्रमुख कार्यकारी अधिकृतको रूपमा रहेर व्यवसायलाई गति दिइरहेकी छिन् । प्रस्तुत छ, उनको व्यावसायिक यात्रा, कम्पनीको अवस्था, उद्यमशीलता प्रवर्द्धनमा एनवाईईएफको भूमिका लगायत विषयमा आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले गरेको कुराकानीको सार : आफ्नो बारेमा बताइदिनुहोस् न । कहाँ पढ्नुभयो ? हिमालयन ब्याम्बोमा कहिलेदेखि जोडिनुभयो ? म शुभतारा स्कुलमा पढेको हुँ । त्यसपछि म थाइल्याण्डमा गएँ । त्यहाँ इन्टरनेशनल ब्याकालरेट कोर्स र अस्ट्रेलियामा ब्याचलर कोर्स सकेर नेपाल फर्कें । त्यसपछि हाम्रो पारिवारिक व्यवसाय हिमालयन ब्याम्बोमा संलग्न भएको हुँ । त्यसमा हामी काठ र बाँसको फ्लोरिङ तथा फर्निचरको काम गर्छौं । ब्याम्बो हाउजिङको पनि धेरै काम गरेका छौं । एनवाईईएफमा आबद्ध भएको ५–७ वर्ष भयो । तपाईंले ग्य्राजुएसन कुन विषयमा गर्नुभयो ? मैले ग्य्राजुएसन उद्यमशीलतामै गरेको हुँ । हिमालयन ब्याम्बोको बारेमा बताइदिनुहोस् न । व्यवसायको अवस्था कस्तो छ ? कहिलेदेखि शुरू भएको हो ? के के उत्पादन हुन्छ ? कहाँ बेच्नुहुन्छ ? हिमालयन ब्याम्बो सन् २००० मा स्थापना भएको हो । पहिला यसको फ्याक्ट्री हेटौंडा औद्योगिक क्षेत्रमा थियो । अहिले चोभारमा सारेका छौं । शुरूमा ब्याम्बो (बाँस)को पार्केट र प्ल्यांक उत्पादन गथ्र्यौं । तर चीनबाट एकदमै सस्तोमा ब्याम्बो प्रडक्ट आउँदा प्रतिस्पर्धा गर्न गाह्रो भएकाले अहिले ब्याम्बो र काठ दुईओटैको काम गरिरहेका छौं । यो सबै स्वदेशी उत्पादन नै हो । ब्याम्बो पनि स्थानीय उत्पादन नै हो, जुन इलामतिरबाट ल्याउँछौं भने काठ धनगढीतिरबाट आउँछ । हाम्रो करीब ९० प्रतिशत उत्पादन स्थानीय स्रोतबाटै आपूर्ति हुन्छ । कोटिङको सामग्री भने बाहिरबाट आउँछ । मशिनरीदेखि कच्चापदार्थ, प्राविधिक सबै स्थानीय नै हो । हाम्रो उत्पादन काठको पार्केट हो । ब्याम्बोको हकमा यसबाट कम खर्च लाग्ने घर बनाउँछौं । ब्याम्बोका फर्निचर र काठमा आधारित कम्पोजिट फर्निचर उत्पादन गर्छौं । यस्तो कम्पोजिट फर्निचर ह्यान्डक्राफ्टबाटै उत्पादन गरिन्छ । यसमा शिकागोको एउटा कम्पनीसँग सहकार्य गरेका छौं । उक्त कम्पनीले गरेको डिजाइनमा हामी उत्पादन गर्छौं । उत्पादित सामग्री पहिले अन्तरराष्ट्रिय बजारमा मात्र पठाउँथ्यौं । तर, कोभिडको कारण ढुवानी लागत धेरै भएर अहिले नेपाली बजार नै विस्तार गर्ने योजनामा छौं ।     हिमालयन ब्याम्बो बीचमा बन्द भएको थियो, होइन ? हामीले २००९ मा ‘टेकओभर’ गरेका हौं । त्यसअघि केही समय बन्द थियो । त्यसपछि यो निरन्तर चलिरहेको छ । म २०१५ देखि यसमा आबद्ध भएकी हुँ । यसलाई निरन्तर चलाइरहेकी छु । यसका उत्पादन नेपाली बजारमै विक्री हुन्छ कि विदेश पनि जान्छ ? फर्निचर विदेश पनि जान्छ । पार्केट चाहिँ नेपाली बजार (होटल, रिसोर्ट र हाउजिङहरू)मा जान्छ । अलिकति लक्जरियस प्रडक्ट छन् । किनभने ठोस काठ अलि महँगो नै छ । गुणस्तर र दिगोपनमा अहिलेका ग्राहक एकदमै सचेत भएका छन् । विदेश कुन मात्रामा जान्छ ? विदेश कोभिडको बेलामा पठाएनौं । पहिले हामीले दुबई, बहराइन, जापान लगायत देशमा पठाएका हौं । खेपको १०–२० हजार वर्गफिट पठाउने गरिएको थियो । अहिले पठाइएको छैन । अहिले स्थानीय बजारमै सीमित छौं । आशा छ, अब फेरि पठाउन थालिन्छ । कोभिडको अवस्था कस्तो रहन्छ, त्यसमा भर पर्छ । नेपाली बजारमा यो कति परिमाणमा जान्छ ? नेपाली बजारमा पनि वर्ष अनुसार हुन्छ । अहिले अलिकति कम नै छ । विस्तारै बढ्दै छ । १४ हजारदेखि २० हजार वर्गफिटजति नेपाली बजारमा जान्छ । त्यो भनेको ५ देखि ६ करोड रुपैयाँ बराबरको हुन्छ । कति जनालाई रोजगार दिइएको छ ? अहिले हामीसँग २० जना कालीगढ मात्र छन् । कार्यालयमा पाँचजना छन् । इन्स्टलेशन टीम छुट्टै हुन्छ । बजारको माग अनुसार बाहिरबाट जनशक्ति जुटाएर पनि काम गर्छौं । कालीगढ नेपाली नै छन् कि ? बाहिरका ? धेरैजसो हामी नेपाली नै छौं । उत्पादनमा प्रतिस्पर्धा कस्तो छ ? प्रतिस्पर्धा एकदमै छ । हाम्रा उत्पादनमा खास काठ नै प्रयोग हुन्छ । तर बजारका अन्य उपादन काठको लेमिनेटेड हुन्छ । यद्यपि त्यस्ता उत्पादनसँग हाम्रो सीधा प्रतिस्पर्धा भने हुँदैन । त्यो एकदमै सस्तो विकल्प हो । हाम्रो उत्पादन प्रतिवर्गफिट रू. ८०० भन्दा बढी पर्छ भने लेमिनेटेड पार्केट  प्रतिवर्गफिट रू. १०० देखि १२० सम्ममा पाइन्छ । हाम्रै जस्तो उत्पादन गर्ने चाहिँ अन्य एक–दुईओटा कम्पनी होलान् । तर गुणस्तर र फिनिसिङमा हामी नै अगाडि छौं । कुनै बेला सालको काठको पनि पार्केट बनाउनु हुन्थ्यो । त्यो अहिले पनि छ ? त्यो अहिले छैन । हामी सिसम, अस्ना, टिक र हिमालयन चेरी गरी खास चारओटा काठमा मात्र काम गर्छौं । चेरी युकालिप्टस काठ हो । त्यो चाँडै हुर्कन्छ । यो वातावरणमैत्री पनि भएकाले हामीले यसमा जोड दिएका छौं । सामुदायिक वनहरूबाट त्यो ल्याउँछौंं । उद्यमशीलता बढाउन हाम्रो शिक्षाक्षेत्रदेखि नै सुधारका काम गर्नुपर्छ ।      नेपाली ग्राहकले हिमालयन ब्याम्बोका उत्पादनलाई धेरै रुचाएका छन् कि अन्य सस्ता प्रडक्टलाई ? हाम्रो त खास ग्राहक नै हुनुहुन्छ । हाम्रा जति ग्राहक हुनुहुन्छ, उहाँहरू हाम्रा प्रडक्ट दोहोर्‍याएर लिने खालको हुनुहुन्छ । साथै हामीले एउटा घरमा सेवा दियौं भने उहाँहरूले अर्कोमा पनि सिफारिश गर्नुहुन्छ । यो कहाँ पाइन्छ ? शोरूम देशैभरि छ कि खास ठाउँमा मात्र ? हाम्रो शोरूम छैन । अफिस थापाथलीमा छ । वर्ड अफ माउथ र बीटुबी विक्री हुन्छ । धेरैजसो होटल र अपार्टमेन्टहरूमा जान्छ । सीमित ग्राहक हुनुहुन्छ । माग आएपछि मात्र उपलब्ध गराउने खालको हो ? कुनै कुनै काठ एकदमै महँगो हुन्छ । त्यो हामी स्टकमा पनि राख्दैनौं । कुनै क्लाइन्टले तोकेरै अर्डर गर्नुभयो भने उहाँहरूले भनेअनुसारको बनाइदिनैपर्छ । कच्चापदार्थ आयात गरिरहनुपर्ने जरुरी छैन ? कच्चापदार्थ खासै आयात गरेका छैनौं । तर कोटिङका जुन लेयर अर्थात् प्रोटेक्टिभ लेयर हुन्छ, त्यो र वुड ओइल, यूभी कोटिङ बाहिरबाट ल्याउनुपर्छ । नेपालमै ब्याम्बो रोप्ने, राटेन अथवा केन प्रडक्सनमा जाने किसिमको सम्भावनामा केही खोजी गर्नुभएको छ ? त्यसमा पनि धेरै अध्ययन गरेको हो । तर यसले हाम्रो आपूर्ति शृंखला धेरै लामो हुने भयो । रोप्नेदेखि लिएर अन्तसम्ममा हामीलाई अनुसन्धान तथा विकासको लागि छुट्टै कोष नै खडा गर्नुपर्ने भयो । एक/दुईचोटि समुदायमै गएर ‘तपाईंहरू बाम्बो रोप्नुस्, हामी लिन्छौं’ भनेर एक/दुईओटा गरैरसरकारी संस्थासँग पनि कुरा गरेर काम गर्न खोज्यौं । तर अहिलेसम्म सफल भएको छैन । तर त्यसमा लागि नै रहेका छौं । निजी कम्पनीले त्यत्रो लामो आपूर्ति श्रृंखला धान्न सक्दैन ।   अमेरिकी कम्पनीसँग डिजाइनिङमा पार्टनरशिप छ भन्नुभयो । त्यो कुन किसिमको हो ? हामीले सहकार्य गरेको एलडटसँग हो, जुन निर्यातको विषयमा हो । उहाँहरूले डिजाइन गर्नुहुन्छ । हाम्रा स्टाफहरू उहाँहरूको डिजाइनमा तालीमप्राप्त भइसकेका छन् । उहाँहरूले अमेरिकामा पनि बेच्नुहुन्छ । त्यसकारण हामीले स्थानीय बजारलाई त्यति ध्यान दिएका थिएनौं । अब चाहिँ हाम्रो योजनामा स्थानीय बजार पनि छ । व्यावसायिक आकार बढाउन सकिने सम्भावना कत्तिको छ ? त्यसबारे केही सोच्नुभएको छ ? व्यावसायिक आकार कत्रो बनाउने भन्ने त बजारमै निर्भर हुन्छ । अहिले बढ्दै गएको छ । दिगोपनका कुरा पनि हुन्छन् । ब्याम्बोको बारेमा धेरै जानकार भएका छन् । पहिले ब्याम्बो भनेपछि एकदमै सस्तो भन्ने सोचिन्थ्यो । भुइँचालोको बेलामा हामीले ब्याम्बोका धेरै घर बनायौं । पुन:स्थापना केन्द्र, अस्थायी आश्रयस्थलहरू बनायौं । त्यो गर्दा बजारमा यसबारे ज्ञान र सोधपुछ पनि बढेको छ । लक्जरी मार्केटमा दिगोपनका हिसाबले अहिले ग्राहक एकदमै सचेत भएका छन् । यसमा विदेशी लगानी ल्याउने, थप व्यापक बनाउने सोच छ कि ? अहिले नै त छैन । अहिले हामी यथावस्थामै चलिरहेका छौं । यद्यपि सम्भाव्य अवसर पनि हेरिरहेका छौं । नेपालमा नयाँ फर्निचर प्रडक्ट पनि ल्याउन लागिएको भन्नुभएको छ । त्यसबारे थोरै बताइदिनुहोस् न । त्यो अहिले योजनाकै तहमा छ । एउटा भारतीय कम्पनी (स्टार्टअप नै हो) सँग सहकार्य गर्दै छौं । निधो भइनसकेको हुनाले नाम चाहिँ अहिले नभनिहालौं । त्यो अनलाइन–बेस्ड ई–कमर्श फर्निचर स्टोर हो । नेपालमा अहिले ई–कमर्श एकदम बढिरहेको छ । तर फर्निचरमा त त्यस्तो छैन । हामीले भारतीय कम्पनीको डिस्ट्रिब्युटरशिप भन्दा पनि सिस्टम लिने हो । उहाँहरूको फ्रेन्चाइजमा काम गर्दै छौं । यो हिमालयन ब्याम्बो भन्दा भिन्नै व्यवसाय हो । मेहनतपूर्वक अथक रूपमा काम गर्न सक्ने हो भने नेपालमा राम्रा अवसर छन् ।  एनवाईईएफको द्वितीय उपाध्यक्ष हुनुहुन्छ । यो संस्थाले के गर्छ ? यो युवाहरूको संस्था हो । यो अहिले १८ वर्षमा चलिरहेको छ । शुरू गर्दा यसमा ४० देखि ५० जना युवा उद्यमी हुनुहुन्थ्यो । अहिले देशभर ११ ओटा च्याप्टर छन् । उत्पादन, सेवा, व्यापार लगायत धेरै क्षेत्रबाट ७०० भन्दा बढी सदस्य हुनुहुन्छ । एनवाईईएफ धेरै समावेशी संस्था हो । पुरुष र महिला सबै जना हुनुहुन्छ । देशभरिका युवा आबद्ध हुनुहुन्छ । हामी युवा उद्यमशीलता प्रवर्द्धन गर्छौं । देशैभरि सकारात्मक सोच प्रवर्द्धन गर्छौं । संस्थाले युवा र युवा उद्यमशीलताका लागि के के गरेको छ ? बुँदागत रूपमै भनिदिनुस् न । हामीले भर्खरै स्टार्टअप कम्युनिटी शुरू गरेका छौं । च्याप्टरमा गएर सानो सानो बैठक शुरू गरेका छौं । त्यो गर्दा स्टार्टअपहरूमा के कस्ता समस्या छन्, कस्ता स्टार्टअप आइरहेका छन् भन्ने थाहा हुन्छ । उहाँहरूको चासो बुझेर अझ ठूलो प्लेटफर्ममा लैजान सकिन्छ । अर्को, हामीले ‘मेड इन नेपाल’ अभियान शुरू गरेका छौं । महिला युवा उद्यमीलाई प्रवर्द्धन गर्ने, संस्थालाई समावेशी बनाउने काम भइरहेको छ । अर्को, नलेज हब प्लेटफर्म शुरू गरेका छौं । यो एउटा पोर्टल हो, जहाँ हामी खोज/अनुसन्धानको सुविधा उपलब्ध गराउँछौं । गतवर्ष आईएलओसँग मिलेर स्टार्टअप पोलिसीको मस्यौदा बनाएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाएका छौं । के छ त्यसमा ? धेरै त याद छैन । मुख्यत: स्टार्टअपलाई परिभाषित गर्ने कुरा नै हो । नेपालमा स्टार्टअप भनेको स्पष्ट भएन । कति वर्षसम्म स्टार्टअपलाई मान्ने, स्टार्टअपलाई करमा कति छूट कसरी दिने भन्ने जस्ता विषय छन् । युवा उद्यमशीलताको बारेमा नीतिगत समस्या के देख्नुहुन्छ ? के भयो भने युवा उद्यमशीलता बढ्छ ? उद्यमशीलता बढाउन हाम्रो शिक्षाक्षेत्रदेखि नै सुधारका काम गर्नुपर्छ । उद्यमशीलता भनेको उद्यमशील मानसिकता हो, करीअर पाथभन्दा पनि माइण्ड सेट नै हो । जागीर गर्दा पनि मेरो उद्यमशील मानसिकता हुन सक्छ । उद्यमशील मानसिकता भएको मान्छेले त्यही कामलाई अर्कै तरिकाले, थप सृजनशील तरीकाले गर्न सक्छ । त्यो मानसिकता बसाउन हामीले विद्यालय तहदेखि नै सिकाउनुपर्छ जस्तो लाग्छ । उद्यममा आइसकेपछि पनि कम्पनी खोल्दादेखि नै सरकारी प्रशासनका झन्झट बेहोर्नुपर्ने समस्या छ । अहिले त झन् वडा/पालिका, वाणिज्यमा दर्ता गर्नुपर्ने, करमा दर्ता गर्नुपर्ने भएको छ । कम्पनी मात्र दर्ता गरेर हुँदैन । त्यसलाई डिजिटल बनाउन सक्नुपर्छ । त्यसो भयो भने धेरै युवा उद्यमशीलतामा आउनुहुन्छ । अहिले त दर्तै नगरी काम शुरू गरिदिनुहुन्छ । शुरू गरेर मात्र हुँदैन । काम भएन भनेर बन्द गर्न सकिँदैन । किनकि बन्द गर्न एकदमै लामो प्रक्रिया हुन्छ । अहिलेका युवालाई धैर्य गर्न पनि अलि गाह्रो लाग्छ । कम्पनी खोल्यो, चलेन भने त्यतिकै छाडेर विदेश गइदिनुहुन्छ । फर्केर आएर कम्पनी चलाउन मन लाग्यो भने त्यहाँ त्यसको जरीवाना यति धेरै हुन्छ कि उहाँहरू त्यो कम्पनी त्यत्तिकै छाडेर फेरि अर्को कम्पनी खोल्नतिर लाग्नुहुन्छ । यो अवस्थामा सुधार आवश्यक छ । तपाईं उद्यमशीलताको यात्रामा केही वर्षदेखि दौडिरहनु भएको छ । तपाईंजस्तै व्यवसाय गर्न चाहने युवालाई के सुझाव दिनुहुन्छ ? मेरो विचारमा जहाँ संकट हुन्छ, त्यहाँ अवसर पनि हुन्छ । विदेशतिर त सबै कुरा व्यवस्थित हुन्छ । सबै कुरा सिस्टममा हुनाले त्यहाँ काम गर्न एकदमै सहज छ । तर यहाँको अवस्था फरक छ । चुनौती र समस्या धेरै छन् । उद्यमशील मानसिकता भएको मानिसले अवसर देख्छ । ऊ त्यो समात्नतिर लागिहाल्छ । तर, नेपालमा काम गर्न, स्वरोजगार उद्यमी बन्न आफ्नै बलबुताले संघर्ष गर्नुपर्छ । अथक रूपमा काम गर्न सक्ने हो भने नेपालमा पनि राम्रो अवसर चाहिँ छन् । (विस्तृत अन्तरवार्ताका लागि Youtube.com/c/NewBusinessAgeNepal मा जान सक्नुहुनेछ ।)

बीमा बजारमा अब फरक प्रकारको चेतना ल्याउन आवश्यक छ

हालै युनाइटेड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएकी उपासना पौडेल नेपाली बीमा बजारका लागि नयाँ व्यक्ति हुन् । भारतीय बीमा बजारमा लामो समय काम गरेकी पौडेलसँग नेपाली बीमा बजारको अनुभव भने छोटो छ । यस अवस्थामा उनले कम्पनीलाई कसरी अगाडि बढाउँदै छिन् ? प्रस्तुत छ, यस्तै समसामयिक विषयमा आर्थिक अभियानका मिलन विश्वकर्माले पौडेलसँग गरेको कुराकानीको सार : नेपालको बीमा क्षेत्रमा यसअघि कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा महिला थिएनन् । त्यो अवस्थामा तपाईं युनाइटेड इन्स्योरेन्सको सीईओमा नियुक्त हुनुभएको छ । कस्तो लागिरहेको छ ? यस कम्पनीको सीईओ भएर आउँदा एकदम उत्साहित भएको छु । तर, उत्साहसँगै जिम्मेवारी पनि बढेको महसुस भएको छ । महिला भएको हुनाले बजारले के गर्न सक्ला भन्ने पनि हुन सक्छ । यसमा महिला/पुरुषले यसमा खास अर्थ त राख्दैन । तर, केही फरक भने हुन्छ । यद्यपि, महिला भएको कारण हाम्रो आवाज सुनिन्छन् । तर, काम गर्ने मामलामा महिला/पुरुषलाई आधार बनाउनु हुँदैन । काम गर्न सक्नेलाई स्थान दिनुपर्छ । नेपालमा यस्तो संस्कार बल्ल शुरू हुन खोजेको छ । अहिले भारतका ठूला बैंक तथा बीमा कम्पनीहरूमा महिलाले पनि नेतृत्व गरेका छन् । तर, केही समयअघि त्यहाँ पनि महिलाको सहभागिता न्यून थियो । धेरै लामो समयपछि त्यहाँको बजारमा महिलाहरू नेतृत्वमा आएका हुन् । म भारतीय बीमा बजारमा २०१२ मा प्रवेश गरेको हुँ । त्यस बेला त्यहाँ महिला नेतृत्व अत्यन्त कम थियो । तर, अहिले त्यहाँ महिलाहरू नेतृत्वमा आइसकेका छन् । अब नेपालमा पनि त्यो परिवर्तन आउँदै छ । केही समयअघि युनाइटेडमा महिला कर्मचारी संख्या कम थियो । तर, अहिले कुल कर्मचारीमा महिला कर्मचारीको हिस्सा ३५ प्रतिशत पुगिसकेको छ । नेतृत्व तथा विभागीय प्रमुखहरूमा त महिलाको संख्या ५० प्रतिशतभन्दा बढी छ । यद्यपि, हामीले महिला नै भएर उनीहरूलाई स्थान दिएका भने होइनौं । महिलाले एकदम प्रतिबद्ध एवं समर्पित भएर काम गर्छन् । त्यसैले, महिलालाई महिलाको रूपमा मात्र हेर्नु हुँदैन । अझ भनौं, काम गर्ने मामलामा महिला/पुरुष भनेर भन्नु हुँदैन । बीमा क्षेत्रमा प्रवेश गरेर छोटो समयमै व्यवस्थापकीय रूपमा एक कम्पनीको नेतृत्व गर्दै हुनुहुन्छ । यहाँसम्मको यात्रा कस्तो रह्यो ? मैले ब्याचलरसम्म नेपालमै पढेको हुँ । मास्टर डिग्री भने भारतको दिल्ली युनिभर्सिटी फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिजमा गरेको हुँ । त्यो कलेज भारतको उत्कृष्ट ५ भित्र पर्छ । त्यसकारण मलार्ई त्यहाँ जागिर खोज्दै हिँड्नु परेन । त्यहाँ राम्रा कलेजहरूमा कम्पनीहरू आफै इन्टर्नशिपको अवसर लिएर आउने गर्छन् । सोही क्रममा मैले त्यहाँको एक म्यानुफ्याक्चरिङ कम्पनी कुम्मिन्स इन्डिया लिमिटेडमा जोडिने अवसर पाएँ । त्यहाँ मेरो कार्यसम्पादनलाई मूल्यांकन गर्दै कम्पनीले पूर्णकालीन रूपमै काम गर्ने अवसर दियो । यसै क्रममा नेपालीसँग नै मेरो विवाह पनि भयो । थप करिअरका लागि म २०१२ मा मुम्बई गए । त्यहाँ गएर जागिर खोज्ने क्रममा आईसीआईसीआई नामक निर्जीवन बीमा कम्पनीमा जोडिएँ । त्यही कम्पनीबाट बीमा क्षेत्रमा मेरो प्रवेश भएको हो । त्यस कम्पनीमा ६ महिना मात्र काम पाएमा पनि धेरै राम्रो हुने थियो । तर, त्यहाँ पनि मैले राम्रै कार्यसम्पादन गर्न सकेँ । त्यहाँ कार्यसम्पादनको आधारमा ३/३ वर्षमा मात्र कर्मचारीको प्रमोसन हुन्थ्यो । तर, मेरो १/१ वर्षमै प्रमोसन हुन्थ्यो । त्यहाँ काम गर्दा मेरो व्यक्तिगत जीवनलाई पनि धेरै फाइदा गर्‍यो । म त्यहाँ म्यानेजमेन्ट तहबाटै सेवा शुरू गरेको थिएँ । त्यसको प्रभावले नै मलाई अहिले युनाइटेड इन्स्योरेन्सको सीईओ हुन मद्दत पुगेको हो । त्यस कम्पनीमा काम गर्दा गर्दै म फेरि भोडाफोन नामक टेलिकम कम्पनीमा जोडिन पुगेँ । त्यहाँ काम राम्रो गरे पनि उत्साह भने भएन । त्यहाँ ६ महिनाजति काम गरेर म बीमा बजारमै फर्किएँ । त्यसपछि मैले आईसीआईसीआईसँग मर्ज हुन लागेको भारतीय एक्सा नामक बीमा कम्पनीमा काम शुरू गरेँ । तर, भारतमा लामो समयसम्म बस्न मन भएन । अन्ततः हामी (श्रीमान् समेत)ले २०१९ डिसेम्बरमा नेपाल आउने निर्णय गर्‍यौं । नेपाल आएर सानिमा जनरल इन्स्योरेन्समा महाप्रबन्धकको रूपमा काम शुरू गरेँ । त्यसपछि युनाइटेड इन्स्योरेन्समा डीसीईओ रूपमा नियुक्त भएर डेढ वर्षअघि आएको हुँ । लामो समय भारतीय बीमा बजारमा काम गर्नुभयो । अहिले नेपाली बीमा बजारमा सक्रिय हुनुहुन्छ ? नेपाल र भारतीय बीमा बजारमा महिला सहभागिता, पहु“च, प्रविधि लगायतको अवस्था कस्तो छ ? भारतमा अहिले महिला कर्मचारीको हिस्सा बढी नै छ । त्यहाँ कम्पनीमा ३५ प्रतिशत महिला कर्मचारी हुनुपर्ने प्रावधान पनि छ । त्यसको कारणले पनि त्यहाँ अहिले महिला कर्मचारीको हिस्सा राम्रो छ । तर, उनीहरूले महिला नै भएर जागिर पाएका भने होइनन् । काम गर्न सक्ने भएर नै पाएका हुन् । तर, नेपालमा भने महिलाको सहभागिता कम नै छ । तर, विस्तारै बढ्दै गएको पनि देखिन्छ । तर, महिलाले काम भने गर्न सक्नुपर्छ । अहिले यहाँ महिलाको हिस्सा ३५ प्रतिशत हुनुपर्छ भनियो भने काम गर्ने सक्ने मान्छे पाउन गाह्रो हुन्छ । त्यो कोटा परिपूर्ति गर्दा प्रभावकारिता पनि घट्न सक्छ । महिला कर्मचारीको हकमा विस्तारै विकास हुन्छ जस्तो लाग्छ । हाम्रो कम्पनीमा त भइपनि सक्यो । केही समय यहाँ १० प्रतिशत महिला कर्मचारी थिए । अहिले त्यो ३०÷३५ प्रतिशत पुगेको छ । विभागीय प्रमुखहरूमा त ५० प्रतिशतभन्दा बढी छ । अरूले शुरू नगरे पनि हामीले शुरू गरेका छौं । अब यसको नतीजा कस्तो आउँछ, त्यो पनि विस्तारै देखिन्छ । नतीजा राम्रै आयो भने अन्य कम्पनीले पनि यस्तो अभ्यास गर्न सक्छन् । कम्पनीले राम्रो व्यवसाय गर्दै गयो भने महिलामैत्री कार्यालय पनि बनाउँछौं । तर, अहिले कम्पनीसँग पर्याप्त पूँजी नहुँदा त्यो गर्न सकिएको छैन । निकट भविष्यमा हुन सक्छ । नेपालका कम्पनी महिलामैत्री भने छैनन् । भारतमा यस्ता कम्पनीहरूमा ‘चाइल्डकेयर सेन्टरहरू’ पनि छन्, ता कि बच्चा भएका महिला कर्मचारीले पनि कार्यालयमा आएर काम गर्न सकून् । बच्चा हेर्नकै लागि जागिर छोड्न नपरोस् । तर, नेपालमा त्यस्तो संस्कृतिको विकास भएको छैन । करियर राम्रो भएका महिला साथीहरू पनि बच्चा हेरचाह गर्नकै लागि जागिर छोडेका विभिन्न उदाहरण छन् । परम्परागत मान्यतालाई ध्यानमा राखेर बच्चा हेरचाह गर्न श्रीमतीलाई नै जागिर छोड्न लगाइन्छ । यस अवस्थामा महिलामैत्री कार्यालय बनाउन आवश्यक छ । साथै, हामी विमन ब्रान्च नै बनाउने योजनामा छौं । महिलाले मात्र काम गर्ने तथा महिलासम्बन्धी बीमा गर्नेगरी विमन ब्रान्च स्थापना गर्ने योजनामा छौं । बजारका कुरा गर्दा हामी भारतीय बीमा बजार भन्दा पछाडि नै छौं । म सन् २०१२ मा भारतीय बजारमा प्रवेश गरेको हुँ । त्यसबेला त्यहाँ म्यानुअल रूपमै बीमा पोलिसी जारी गरिन्थ्यो । तर, केही वर्षमै त्यहाँ त्यो अवस्था अन्त्य भयो । सूचनाप्रविधिमा एकदम राम्रो परिवर्तन आयो । तर, नेपाली बीमा बजार यस मामलामा अझै पछाडि छ । अब प्रविधिको विकास गर्न सकियो भने राम्रो हुन्छ । कम्पनीहरूको खर्च पनि घट्छ । त्यसरी बचेको पैसा अन्य क्षेत्रमा लगानी गरेर फाइदा कमाउन सकिन्छ । त्यसकारण अब नेपाली बजारलाई डिजिटाइजेशन गर्न आवश्यक छ । अबको केही वर्षमै त्यो पूरा हुने देखिन्छ । केही समय पहिला यस कम्पनीको व्यावसायिक गतिविधि त्यति राम्रो थिएन । तर, अहिले राम्रो देखिएको छ । यसका कारण के के हुन् ? कम्पनीको ग्रोथ राम्रो थिएन नै । त्यसैले नै म य यहाँ आएको हुँ । मलाई मेहनत गर्न, चुनौती लिन मन लाग्छ । कम्पनीलाई राम्रो बनाउने चुनौती लिएरै म यहाँ आएको हुँ । २७ वर्ष पूरा गरेको कम्पनी अहिले जुन स्थानमा हुनुपर्ने थियो, त्यो स्थानमा छैन । बजारको हामीप्रतिको धारणा पनि त्यति राम्रो छैन । हामी बजारमा त्यति भिजिबल नै थिएनौं । यस अवस्थामा कम्पनीलाई माथि उकास्न निकै चुनैतीपूर्ण छ । त्यस चुनौतीलाई सामना गर्नेगरी केही रणनीति पनि बनाएर अगाडि बढेका छौं । युनाइटेड स्थापनाको आधारमा पाँचौं र पुरानो कम्पनी पनि हो । त्यो हिसाबले पहिला हामीसँग ठूला पोर्टफोलियो कारोबार गर्ने ग्राहक पनि थिए । तर, विस्तारै उनीहरूले हामीसँग कारोबार गर्न छाड्दै गए । सामान्यतया कम्पनीप्रति सकारात्मक र नकारात्मक दुवै धारणा भएका ग्राहक हुन्छन् नै । तर, हाम्रोमा नकारात्मक धारणा भएका ग्राहक हावी भएर समस्या भएको हो । त्यो अवस्थामा हामीले ग्रोथ बढाउनुभन्दा पनि हामीप्रति ग्राहको धारणा परिवर्तन गर्नुपर्ने मुख्य चुनौती छ । त्यसैले हामीले लागो नै परिवर्तन गरेर कम्पनीलाई रिब्रान्डिङ गर्दै गएका छौं । यो नेपाली बजारमा नयाँ अभ्यास हो । लोगो परिवर्तन गरेपछि हामीलाई बजारमा जान धेरै सजिलो पनि भएको छ । अहिले बजारमा पुरानो छवि करीब हटेको अवस्था छ । साथै, हाम्रो टिम समेत नयाँ छ । त्यसले गर्दा पनि हामीलाई काम गर्न सहज भएको छ । हामीप्रति नकारात्मक धारणा बनाएका ग्राहक पनि सानो सानो बीमा लिएर आउन थालेका छन् । यस्तै, म आएपछि कम्पनीको आन्तरिक व्यावसायिक रणनीति पनि बनायौं । नाफा दिन नसक्ने शाखा बन्द गर्ने, काम गर्न नसक्ने कर्मचारीलाई आन्तरिक रूपमै प्लेसमेन्ट गर्ने काम पनि गरेका छौं । हामीले व्यवसाय विस्तारको मामलामा काठमाडौंभन्दा बाहिरको शहरलाई प्राथमिकता दिएका छौं । अहिले काठमाडौंको बजार ‘अकुपाई’ भइसकेको छ । त्यसैले हामी काठमाडौं बाहिर व्यवसाय विस्तारका लागि आक्रामक रूपमा लागेका छौं । नारायणगढ, हेटाैंडा, वीरगञ्ज, नेपालगञ्ज, विराटनगर जस्ता शहरलाई बढी प्राथमिकतामा राखेका छौं । पछि अन्य ठाउँमा पनि व्यवसाय विस्तार गर्नेछौं । विस्तारै काठमाडौंको मार्केटलाई रिभाइव गर्छाैं । हामीले कम्पनीको आन्तरिक कामलाई पनि अटोमेशन गरेका छौं । इन्टरनेट, प्रविधिबाट गर्न सक्ने जति सबै कामलाई अटोमेशन गरेका छौं । पहिला १५ दिनमा गरिने काम अहिले एक दिनमै हुन्छ । यस्तै, हामीले महिलालाई लक्षित गरेर घरदेखि नै काम गर्ने परिपाटी विकास गरेका छौं । अहिले यो कम्पनीमा काम गरिरहेका कर्मचारी छाडेर जान चाहँदैनन् । तर, हामी नयाँ इन्नोभेशन गर्ने अवस्थामा अझै पुग्न सकेको छैनौं । हामीले पहिले बिग्रेका कामलाई नै सुधार गर्दै गएका छौं । समग्रमा अहिले हामी दाबी भुक्तानीमा बढी ध्यान दिएका छौं । यसलाई राम्रो गर्न सकियो भने व्यवसाय बढाउन समस्या हुँदैन । त्यसपछि हामी इन्नोभेशनमा पनि जानेछौं । हामीले अधिकारलाई पनि विकेन्द्रित गरेका छौं । सीईओ भए पनि मैले सबै अधिकार लिएको छैन । केही अन्य साथीहरूलाई पनि विभिन्न विषयमा निर्णय गर्न सक्ने अधिकार दिइएको छ । त्यसले गर्दा उहाँहरूलाई पनि जिम्मेवारी बोध हुन्छ र कम्पनीलाई अगाडि बढाउन सहज हुन्छ । कम्पनीले लामो समयदेखि शेयरधनीलाई लाभांश दिन सकेको छैन । अब हामी हरेक लाभांश दिनेगरी हामी काम गर्छाैं । यस्तै, हामीले कर्मचारीमा पनि लगानी गर्न आवश्यक छ । उनीहरूमा लगानी गर्न सकिएन भने कम्पनी अगाडि बढ्न सक्दैन । अहिले कम्पनीको व्यावसायिक गतिविधि राम्रो छ भन्नुभयो । अबको २–४ वर्षमा कम्पनीलाई कस्तो रूपमा देख्न सकिन्छ ? इच्छाशक्ति त नम्बर एक नै बनाउने हो । तर, उत्कृष्ट पाँचसम्म पुग्न सकिन्छ जस्तो लाग्छ । पहिला हामी १८औं स्थानमा थियौं । अहिले १३ नम्बरमा आएका छौं । गत वैशाखको मात्र व्यवसायलाई आधार मान्ने हो भने हामी छैटौं स्थानमा छौं । त्यसअनुसार कम्पनी छिट्टै माथि आउने देखिन्छ । यो वर्ष अर्ब क्लबमा पुग्ने लक्ष्य थियो । तर, कोरोनाका कारण त्यसमा चुनौती देखिएको छ । अहिले व्यवसायमा ६२ प्रतिशतको वृद्धिदर देखिएको छ । तर, यो सधैं कायम रहँदैन । तर, बजार १२/१३ प्रतिशतको वृद्धिदरमा अगाडि बढ्दा हामी २० प्रतिशतसम्मको वृद्धिमा अगाडि बढ्छौं । पहिला युनाइटेड इन्स्योरेन्समा काम गर्न सहज थिएन भन्ने सुनिन्थ्यो । अहिले कस्तो अवस्था छ ? त्यस्तो मैले पनि सुनेको थिएँ । तर, मैले यहाँ डीसीईओदेखि काम गर्दा त्यस्तो महसुस गरिनँ । यहाँ हामी पारिवारिक वातावरणमै काम गर्छाैं । सञ्चालक समितिको काम भनेको सञ्चालन गर्ने र हामीलाई बीमा समितिको दायरामा रहेर विभिन्न निर्देशन दिने हो । तर, हाम्रो कम्पनीको अध्यक्षज्यू, हाम्रो प्रवर्द्धक समूह र सञ्चालक समितिबाट व्यवसाय बढाउन धेरै सहज वातावरण प्राप्त भएको छ । बोर्ड र म्यानेजमेन्ट टीम बीच एकदम राम्रो सहकार्य छ । कर्मचारी र म्यानेजमेन्ट टीमबीचको सहकार्य पनि राम्रो छ । त्यसैले हामी पछिल्लो समय कम्पनीको गतिविधि राम्रो बनाउन सफल भएका छौं । अब नेपाली बीमा बजार कसरी अगाडि बढ्नुपर्छ होला ? अहिले आममानिसमा बीमाको जागरण आइसकेको छ । कोरोना बीमाको दाबी भुक्तानीको विषयलाई नकारात्मक वा सकारात्मक कुुन रूपमा हेर्ने, आफ्नो ठाउँमा छ । बीमा कम्पनीले दाबी भुक्तानी दिएका नै छन् । कोरोना बीमाको कारण गाउँ गाउँमा बीमाको पहुँच तथा सचेतना बढेको छ । यो सकारात्मक पक्ष हो । त्यसअनुसार अब बीमा जागरण आइसकेको छ । अब नयाँ नयाँ प्रडक्ट ल्याउने, बीमाको फरक जागरण दिने काम गर्नुपर्छ । अहिले मोटर बीमामा थर्ट पार्टीको मात्र बीमा हुन्छ । तर, मोटरसाइकल दुर्घटना भएर बिग्रिँदा पनि बीमाले कभर गर्छ भन्नेबारे धेरैलाई थाहा छैन । यस्ता विषयमा पनि सचेतना ल्याउन आवश्यक छ । यसैगरी नयाँ नयाँ प्रडक्ट पनि ल्याउनुपर्छ । विशेषगरी ग्याजेट्स बीमालाई प्रवर्द्धन गर्नुपर्छ । नेपालमा अहिले मोबाइलको प्रयोग व्यापक छ । तर, त्यो खसेर फुट्दा, कुनै पाटपुर्जा बिग्रिँदा ठूलो रकम खर्च हुने गरेको छ । त्यसको बीमा गरेको भए ग्राहकको पैसा खर्च हुने थिएन, बीमाले भुक्तानी गर्ने थियो । अब यस्तै प्रकारका बीमाहरू प्रचलनमा ल्याउनुपर्छ । साथै, ४ वर्षअघि ७ प्रतिशत रहेको बीमाको पहुँच अहिले करीब २४ प्रतिशत पुगेको छ । यो ठूलो उपलब्धि हो । अब त्यो ५० प्रतिशत पुग्न कुनै समस्या हुँदैन । तपाईंहरू पनि कुनै नयाँ प्रडक्ट ल्याउने तयारीमा हुनुहुन्छ कि ? विशेषगरी हामीले महिलामा हुने क्यान्सरलाई लक्षित गरेर एउटा बीमा पोलिसी बनाउने तयारी गरेका छौं । यस विषयमा काम भइरहेको छ । यसका अलावा अन्य योजनाहरू पनि बनाउने तयारी छ ।