जहाँ संकट हुन्छ, त्यहाँ अवसर पनि हुन्छ

अनेकौं चुनौती र समस्याकै बीच पछिल्लो समय महिला उद्यमीहरू व्यावसायिक क्षेत्रमा अगाडि आउन थालेका छन् । यसमा कतिपयलाई पारिवारिक व्यावसायिक पृष्ठभूमिले समेत सघाएको छ । पारिवारिक व्यवसायलाई कुशल नेतृत्व दिन सफल महिला उद्यमीमध्ये सहारा जोशी पनि नछुट्ने नाम हो । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ)की द्वितीय उपाध्यक्ष समेत रहेकी जोशीले हिमालयन ब्याम्बोमा प्रमुख कार्यकारी अधिकृतको रूपमा रहेर व्यवसायलाई गति दिइरहेकी छिन् । प्रस्तुत छ, उनको व्यावसायिक यात्रा, कम्पनीको अवस्था, उद्यमशीलता प्रवर्द्धनमा एनवाईईएफको भूमिका लगायत विषयमा आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले गरेको कुराकानीको सार : आफ्नो बारेमा बताइदिनुहोस् न । कहाँ पढ्नुभयो ? हिमालयन ब्याम्बोमा कहिलेदेखि जोडिनुभयो ? म शुभतारा स्कुलमा पढेको हुँ । त्यसपछि म थाइल्याण्डमा गएँ । त्यहाँ इन्टरनेशनल ब्याकालरेट कोर्स र अस्ट्रेलियामा ब्याचलर कोर्स सकेर नेपाल फर्कें । त्यसपछि हाम्रो पारिवारिक व्यवसाय हिमालयन ब्याम्बोमा संलग्न भएको हुँ । त्यसमा हामी काठ र बाँसको फ्लोरिङ तथा फर्निचरको काम गर्छौं । ब्याम्बो हाउजिङको पनि धेरै काम गरेका छौं । एनवाईईएफमा आबद्ध भएको ५–७ वर्ष भयो । तपाईंले ग्य्राजुएसन कुन विषयमा गर्नुभयो ? मैले ग्य्राजुएसन उद्यमशीलतामै गरेको हुँ । हिमालयन ब्याम्बोको बारेमा बताइदिनुहोस् न । व्यवसायको अवस्था कस्तो छ ? कहिलेदेखि शुरू भएको हो ? के के उत्पादन हुन्छ ? कहाँ बेच्नुहुन्छ ? हिमालयन ब्याम्बो सन् २००० मा स्थापना भएको हो । पहिला यसको फ्याक्ट्री हेटौंडा औद्योगिक क्षेत्रमा थियो । अहिले चोभारमा सारेका छौं । शुरूमा ब्याम्बो (बाँस)को पार्केट र प्ल्यांक उत्पादन गथ्र्यौं । तर चीनबाट एकदमै सस्तोमा ब्याम्बो प्रडक्ट आउँदा प्रतिस्पर्धा गर्न गाह्रो भएकाले अहिले ब्याम्बो र काठ दुईओटैको काम गरिरहेका छौं । यो सबै स्वदेशी उत्पादन नै हो । ब्याम्बो पनि स्थानीय उत्पादन नै हो, जुन इलामतिरबाट ल्याउँछौं भने काठ धनगढीतिरबाट आउँछ । हाम्रो करीब ९० प्रतिशत उत्पादन स्थानीय स्रोतबाटै आपूर्ति हुन्छ । कोटिङको सामग्री भने बाहिरबाट आउँछ । मशिनरीदेखि कच्चापदार्थ, प्राविधिक सबै स्थानीय नै हो । हाम्रो उत्पादन काठको पार्केट हो । ब्याम्बोको हकमा यसबाट कम खर्च लाग्ने घर बनाउँछौं । ब्याम्बोका फर्निचर र काठमा आधारित कम्पोजिट फर्निचर उत्पादन गर्छौं । यस्तो कम्पोजिट फर्निचर ह्यान्डक्राफ्टबाटै उत्पादन गरिन्छ । यसमा शिकागोको एउटा कम्पनीसँग सहकार्य गरेका छौं । उक्त कम्पनीले गरेको डिजाइनमा हामी उत्पादन गर्छौं । उत्पादित सामग्री पहिले अन्तरराष्ट्रिय बजारमा मात्र पठाउँथ्यौं । तर, कोभिडको कारण ढुवानी लागत धेरै भएर अहिले नेपाली बजार नै विस्तार गर्ने योजनामा छौं ।     हिमालयन ब्याम्बो बीचमा बन्द भएको थियो, होइन ? हामीले २००९ मा ‘टेकओभर’ गरेका हौं । त्यसअघि केही समय बन्द थियो । त्यसपछि यो निरन्तर चलिरहेको छ । म २०१५ देखि यसमा आबद्ध भएकी हुँ । यसलाई निरन्तर चलाइरहेकी छु । यसका उत्पादन नेपाली बजारमै विक्री हुन्छ कि विदेश पनि जान्छ ? फर्निचर विदेश पनि जान्छ । पार्केट चाहिँ नेपाली बजार (होटल, रिसोर्ट र हाउजिङहरू)मा जान्छ । अलिकति लक्जरियस प्रडक्ट छन् । किनभने ठोस काठ अलि महँगो नै छ । गुणस्तर र दिगोपनमा अहिलेका ग्राहक एकदमै सचेत भएका छन् । विदेश कुन मात्रामा जान्छ ? विदेश कोभिडको बेलामा पठाएनौं । पहिले हामीले दुबई, बहराइन, जापान लगायत देशमा पठाएका हौं । खेपको १०–२० हजार वर्गफिट पठाउने गरिएको थियो । अहिले पठाइएको छैन । अहिले स्थानीय बजारमै सीमित छौं । आशा छ, अब फेरि पठाउन थालिन्छ । कोभिडको अवस्था कस्तो रहन्छ, त्यसमा भर पर्छ । नेपाली बजारमा यो कति परिमाणमा जान्छ ? नेपाली बजारमा पनि वर्ष अनुसार हुन्छ । अहिले अलिकति कम नै छ । विस्तारै बढ्दै छ । १४ हजारदेखि २० हजार वर्गफिटजति नेपाली बजारमा जान्छ । त्यो भनेको ५ देखि ६ करोड रुपैयाँ बराबरको हुन्छ । कति जनालाई रोजगार दिइएको छ ? अहिले हामीसँग २० जना कालीगढ मात्र छन् । कार्यालयमा पाँचजना छन् । इन्स्टलेशन टीम छुट्टै हुन्छ । बजारको माग अनुसार बाहिरबाट जनशक्ति जुटाएर पनि काम गर्छौं । कालीगढ नेपाली नै छन् कि ? बाहिरका ? धेरैजसो हामी नेपाली नै छौं । उत्पादनमा प्रतिस्पर्धा कस्तो छ ? प्रतिस्पर्धा एकदमै छ । हाम्रा उत्पादनमा खास काठ नै प्रयोग हुन्छ । तर बजारका अन्य उपादन काठको लेमिनेटेड हुन्छ । यद्यपि त्यस्ता उत्पादनसँग हाम्रो सीधा प्रतिस्पर्धा भने हुँदैन । त्यो एकदमै सस्तो विकल्प हो । हाम्रो उत्पादन प्रतिवर्गफिट रू. ८०० भन्दा बढी पर्छ भने लेमिनेटेड पार्केट  प्रतिवर्गफिट रू. १०० देखि १२० सम्ममा पाइन्छ । हाम्रै जस्तो उत्पादन गर्ने चाहिँ अन्य एक–दुईओटा कम्पनी होलान् । तर गुणस्तर र फिनिसिङमा हामी नै अगाडि छौं । कुनै बेला सालको काठको पनि पार्केट बनाउनु हुन्थ्यो । त्यो अहिले पनि छ ? त्यो अहिले छैन । हामी सिसम, अस्ना, टिक र हिमालयन चेरी गरी खास चारओटा काठमा मात्र काम गर्छौं । चेरी युकालिप्टस काठ हो । त्यो चाँडै हुर्कन्छ । यो वातावरणमैत्री पनि भएकाले हामीले यसमा जोड दिएका छौं । सामुदायिक वनहरूबाट त्यो ल्याउँछौंं । उद्यमशीलता बढाउन हाम्रो शिक्षाक्षेत्रदेखि नै सुधारका काम गर्नुपर्छ ।      नेपाली ग्राहकले हिमालयन ब्याम्बोका उत्पादनलाई धेरै रुचाएका छन् कि अन्य सस्ता प्रडक्टलाई ? हाम्रो त खास ग्राहक नै हुनुहुन्छ । हाम्रा जति ग्राहक हुनुहुन्छ, उहाँहरू हाम्रा प्रडक्ट दोहोर्‍याएर लिने खालको हुनुहुन्छ । साथै हामीले एउटा घरमा सेवा दियौं भने उहाँहरूले अर्कोमा पनि सिफारिश गर्नुहुन्छ । यो कहाँ पाइन्छ ? शोरूम देशैभरि छ कि खास ठाउँमा मात्र ? हाम्रो शोरूम छैन । अफिस थापाथलीमा छ । वर्ड अफ माउथ र बीटुबी विक्री हुन्छ । धेरैजसो होटल र अपार्टमेन्टहरूमा जान्छ । सीमित ग्राहक हुनुहुन्छ । माग आएपछि मात्र उपलब्ध गराउने खालको हो ? कुनै कुनै काठ एकदमै महँगो हुन्छ । त्यो हामी स्टकमा पनि राख्दैनौं । कुनै क्लाइन्टले तोकेरै अर्डर गर्नुभयो भने उहाँहरूले भनेअनुसारको बनाइदिनैपर्छ । कच्चापदार्थ आयात गरिरहनुपर्ने जरुरी छैन ? कच्चापदार्थ खासै आयात गरेका छैनौं । तर कोटिङका जुन लेयर अर्थात् प्रोटेक्टिभ लेयर हुन्छ, त्यो र वुड ओइल, यूभी कोटिङ बाहिरबाट ल्याउनुपर्छ । नेपालमै ब्याम्बो रोप्ने, राटेन अथवा केन प्रडक्सनमा जाने किसिमको सम्भावनामा केही खोजी गर्नुभएको छ ? त्यसमा पनि धेरै अध्ययन गरेको हो । तर यसले हाम्रो आपूर्ति शृंखला धेरै लामो हुने भयो । रोप्नेदेखि लिएर अन्तसम्ममा हामीलाई अनुसन्धान तथा विकासको लागि छुट्टै कोष नै खडा गर्नुपर्ने भयो । एक/दुईचोटि समुदायमै गएर ‘तपाईंहरू बाम्बो रोप्नुस्, हामी लिन्छौं’ भनेर एक/दुईओटा गरैरसरकारी संस्थासँग पनि कुरा गरेर काम गर्न खोज्यौं । तर अहिलेसम्म सफल भएको छैन । तर त्यसमा लागि नै रहेका छौं । निजी कम्पनीले त्यत्रो लामो आपूर्ति श्रृंखला धान्न सक्दैन ।   अमेरिकी कम्पनीसँग डिजाइनिङमा पार्टनरशिप छ भन्नुभयो । त्यो कुन किसिमको हो ? हामीले सहकार्य गरेको एलडटसँग हो, जुन निर्यातको विषयमा हो । उहाँहरूले डिजाइन गर्नुहुन्छ । हाम्रा स्टाफहरू उहाँहरूको डिजाइनमा तालीमप्राप्त भइसकेका छन् । उहाँहरूले अमेरिकामा पनि बेच्नुहुन्छ । त्यसकारण हामीले स्थानीय बजारलाई त्यति ध्यान दिएका थिएनौं । अब चाहिँ हाम्रो योजनामा स्थानीय बजार पनि छ । व्यावसायिक आकार बढाउन सकिने सम्भावना कत्तिको छ ? त्यसबारे केही सोच्नुभएको छ ? व्यावसायिक आकार कत्रो बनाउने भन्ने त बजारमै निर्भर हुन्छ । अहिले बढ्दै गएको छ । दिगोपनका कुरा पनि हुन्छन् । ब्याम्बोको बारेमा धेरै जानकार भएका छन् । पहिले ब्याम्बो भनेपछि एकदमै सस्तो भन्ने सोचिन्थ्यो । भुइँचालोको बेलामा हामीले ब्याम्बोका धेरै घर बनायौं । पुन:स्थापना केन्द्र, अस्थायी आश्रयस्थलहरू बनायौं । त्यो गर्दा बजारमा यसबारे ज्ञान र सोधपुछ पनि बढेको छ । लक्जरी मार्केटमा दिगोपनका हिसाबले अहिले ग्राहक एकदमै सचेत भएका छन् । यसमा विदेशी लगानी ल्याउने, थप व्यापक बनाउने सोच छ कि ? अहिले नै त छैन । अहिले हामी यथावस्थामै चलिरहेका छौं । यद्यपि सम्भाव्य अवसर पनि हेरिरहेका छौं । नेपालमा नयाँ फर्निचर प्रडक्ट पनि ल्याउन लागिएको भन्नुभएको छ । त्यसबारे थोरै बताइदिनुहोस् न । त्यो अहिले योजनाकै तहमा छ । एउटा भारतीय कम्पनी (स्टार्टअप नै हो) सँग सहकार्य गर्दै छौं । निधो भइनसकेको हुनाले नाम चाहिँ अहिले नभनिहालौं । त्यो अनलाइन–बेस्ड ई–कमर्श फर्निचर स्टोर हो । नेपालमा अहिले ई–कमर्श एकदम बढिरहेको छ । तर फर्निचरमा त त्यस्तो छैन । हामीले भारतीय कम्पनीको डिस्ट्रिब्युटरशिप भन्दा पनि सिस्टम लिने हो । उहाँहरूको फ्रेन्चाइजमा काम गर्दै छौं । यो हिमालयन ब्याम्बो भन्दा भिन्नै व्यवसाय हो । मेहनतपूर्वक अथक रूपमा काम गर्न सक्ने हो भने नेपालमा राम्रा अवसर छन् ।  एनवाईईएफको द्वितीय उपाध्यक्ष हुनुहुन्छ । यो संस्थाले के गर्छ ? यो युवाहरूको संस्था हो । यो अहिले १८ वर्षमा चलिरहेको छ । शुरू गर्दा यसमा ४० देखि ५० जना युवा उद्यमी हुनुहुन्थ्यो । अहिले देशभर ११ ओटा च्याप्टर छन् । उत्पादन, सेवा, व्यापार लगायत धेरै क्षेत्रबाट ७०० भन्दा बढी सदस्य हुनुहुन्छ । एनवाईईएफ धेरै समावेशी संस्था हो । पुरुष र महिला सबै जना हुनुहुन्छ । देशभरिका युवा आबद्ध हुनुहुन्छ । हामी युवा उद्यमशीलता प्रवर्द्धन गर्छौं । देशैभरि सकारात्मक सोच प्रवर्द्धन गर्छौं । संस्थाले युवा र युवा उद्यमशीलताका लागि के के गरेको छ ? बुँदागत रूपमै भनिदिनुस् न । हामीले भर्खरै स्टार्टअप कम्युनिटी शुरू गरेका छौं । च्याप्टरमा गएर सानो सानो बैठक शुरू गरेका छौं । त्यो गर्दा स्टार्टअपहरूमा के कस्ता समस्या छन्, कस्ता स्टार्टअप आइरहेका छन् भन्ने थाहा हुन्छ । उहाँहरूको चासो बुझेर अझ ठूलो प्लेटफर्ममा लैजान सकिन्छ । अर्को, हामीले ‘मेड इन नेपाल’ अभियान शुरू गरेका छौं । महिला युवा उद्यमीलाई प्रवर्द्धन गर्ने, संस्थालाई समावेशी बनाउने काम भइरहेको छ । अर्को, नलेज हब प्लेटफर्म शुरू गरेका छौं । यो एउटा पोर्टल हो, जहाँ हामी खोज/अनुसन्धानको सुविधा उपलब्ध गराउँछौं । गतवर्ष आईएलओसँग मिलेर स्टार्टअप पोलिसीको मस्यौदा बनाएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाएका छौं । के छ त्यसमा ? धेरै त याद छैन । मुख्यत: स्टार्टअपलाई परिभाषित गर्ने कुरा नै हो । नेपालमा स्टार्टअप भनेको स्पष्ट भएन । कति वर्षसम्म स्टार्टअपलाई मान्ने, स्टार्टअपलाई करमा कति छूट कसरी दिने भन्ने जस्ता विषय छन् । युवा उद्यमशीलताको बारेमा नीतिगत समस्या के देख्नुहुन्छ ? के भयो भने युवा उद्यमशीलता बढ्छ ? उद्यमशीलता बढाउन हाम्रो शिक्षाक्षेत्रदेखि नै सुधारका काम गर्नुपर्छ । उद्यमशीलता भनेको उद्यमशील मानसिकता हो, करीअर पाथभन्दा पनि माइण्ड सेट नै हो । जागीर गर्दा पनि मेरो उद्यमशील मानसिकता हुन सक्छ । उद्यमशील मानसिकता भएको मान्छेले त्यही कामलाई अर्कै तरिकाले, थप सृजनशील तरीकाले गर्न सक्छ । त्यो मानसिकता बसाउन हामीले विद्यालय तहदेखि नै सिकाउनुपर्छ जस्तो लाग्छ । उद्यममा आइसकेपछि पनि कम्पनी खोल्दादेखि नै सरकारी प्रशासनका झन्झट बेहोर्नुपर्ने समस्या छ । अहिले त झन् वडा/पालिका, वाणिज्यमा दर्ता गर्नुपर्ने, करमा दर्ता गर्नुपर्ने भएको छ । कम्पनी मात्र दर्ता गरेर हुँदैन । त्यसलाई डिजिटल बनाउन सक्नुपर्छ । त्यसो भयो भने धेरै युवा उद्यमशीलतामा आउनुहुन्छ । अहिले त दर्तै नगरी काम शुरू गरिदिनुहुन्छ । शुरू गरेर मात्र हुँदैन । काम भएन भनेर बन्द गर्न सकिँदैन । किनकि बन्द गर्न एकदमै लामो प्रक्रिया हुन्छ । अहिलेका युवालाई धैर्य गर्न पनि अलि गाह्रो लाग्छ । कम्पनी खोल्यो, चलेन भने त्यतिकै छाडेर विदेश गइदिनुहुन्छ । फर्केर आएर कम्पनी चलाउन मन लाग्यो भने त्यहाँ त्यसको जरीवाना यति धेरै हुन्छ कि उहाँहरू त्यो कम्पनी त्यत्तिकै छाडेर फेरि अर्को कम्पनी खोल्नतिर लाग्नुहुन्छ । यो अवस्थामा सुधार आवश्यक छ । तपाईं उद्यमशीलताको यात्रामा केही वर्षदेखि दौडिरहनु भएको छ । तपाईंजस्तै व्यवसाय गर्न चाहने युवालाई के सुझाव दिनुहुन्छ ? मेरो विचारमा जहाँ संकट हुन्छ, त्यहाँ अवसर पनि हुन्छ । विदेशतिर त सबै कुरा व्यवस्थित हुन्छ । सबै कुरा सिस्टममा हुनाले त्यहाँ काम गर्न एकदमै सहज छ । तर यहाँको अवस्था फरक छ । चुनौती र समस्या धेरै छन् । उद्यमशील मानसिकता भएको मानिसले अवसर देख्छ । ऊ त्यो समात्नतिर लागिहाल्छ । तर, नेपालमा काम गर्न, स्वरोजगार उद्यमी बन्न आफ्नै बलबुताले संघर्ष गर्नुपर्छ । अथक रूपमा काम गर्न सक्ने हो भने नेपालमा पनि राम्रो अवसर चाहिँ छन् । (विस्तृत अन्तरवार्ताका लागि Youtube.com/c/NewBusinessAgeNepal मा जान सक्नुहुनेछ ।)

सम्बन्धित सामग्री

अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड

प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन ।

कोहलीलाई अर्को कीर्तिमानको अवसर

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरका विराट कोहलीलाई इन्डियन प्रिमियर लिग (आइपिएल) मा अर्को कीर्तिमान बनाउने अवसर रहेको छ । बिहीबार राती सनराइजर्स हैदराबादविरुद्ध रोयल च्यालेन्जर्स बेंगलोरलाई जिताउन कोहलीले १ सय रनको शतकीय इनिङ खेलेका थिए । कोहलीको त्यो आइपिएल करिअरको छैटौं शतक थियो । आइपिएलमा सर्वाधिक धेरै शतकको कीर्तिमान बराबर गरेका छन् । कोहली र […] The post कोहलीलाई अर्को कीर्तिमानको अवसर first appeared on Hamro Khelkud.

पाटनमा रोजगारीको अवसर, सबैभन्दा धेरै नर्सलाई अवसर

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। प्रतिष्ठानले एक सय ३५ जनाभन्दा बढीलाई रोजगारीको अवसर खुला गरेको हो।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा जागिरको अवसर

१२ फागुन, काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा रोजगारीको अवसर खुलेको छ । प्रतिष्ठानले बढुवा, काज, आन्तरिक प्रतिष्पर्धा र खुलामा जागिरको अवसर खुलेको जानकारी गराएको छ । प्रतिष्ठानका अनुसार बढुवातर्फ वरिष्ठ अध्ययन निर्देशक, अध्ययन उपनिर्देशक र प्रशासकीय तथा वित्तीय उपनिर्देशक पदमा अवसर खुलेको छ । यी पदमा १/१ जनाले अवसर पाउने छन् । काजमा भने […]

आयुर्वेद चिकित्सालय नरदेवीमा विभिन्न पदमा अवसर

आयुर्वेद चिकित्सालय नरदेवीमा विभिन्न पदमा रोजगारीको अवसर खुलेको छ। चिकित्सालयमा रेडियोलोजिष्ट, अकुपन्चर सहायक, स्टाफ नर्स, ल्याब असिस्टेन्ट तथा बैद्यका लागि रोजगारीको अवसर खुलेको हो।

कांग्रेसमा नयाँभन्दा पुरानैलाई अवसर

नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँभन्दा पुराना नेताहरूलाई नै अवसर दिएको छ।...

‘आर्सनलसँगको खेल अवसर’

लिभरपुलका फाबिन्होले आर्सनलविरुद्धको खेल आफूहरूका लागि जितसहित इङ्लिस प्रिमियर लिगको स्वाभाविक लयमा फर्किएको उदारहण दिने सुनौलो अवसर भएको बताएका छन्।...

पुरानो नदोहोर्‍याउँदा एमालेमा युवालाई अवसर

३ असोज, काठमाडौं । नेकपा एमालेले समानुपातिक अवसर नदोहोर्‍याउने नीति अपनाउँदा युवा र नयाँ अनुहारले अवसर पाएका छन् । समानुपातिक सांसद भइसकेकालाई समानुपातिक सूचीमा एमालेले राखेको छैन । त्यसको साटो यसअघि अवसर नपाएका र युवा नेताहरुको नाम निर्वाचन आयोगमा बुझाएको छ । एमाले स्रोतका अनुसार, लगभग सबै क्लस्टरमा युवा नेताहरुले अवसर पाएका छन् । त्यस्तो […]

मोदीयुगमा नेपालीभाषीलाई अवसर, यी तीनलाई पद्मश्री

काठमाडौं, २३ कात्तिक । भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि नेपाली भाषीले महत्वपूर्ण अवसर र सम्मानहरु पाइरहेका छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टीमा नेपाली भाषीहरुको आकर्षण जति बढेको छ त्योसँगै अवसर पनि पाएका छन् । भाजपाका महत्वपूर्ण पदहरुमा नेपाली भाषीले अवसर पाउन थालेका छन् । भाजपाको मेरुदण्ड मानिएको राष्ट्रिय स्वयंसेवक संघमा पनि नेपाली भाषी महत्वपूर्ण […]