कर बुझाउने समय थप गर्न चार्टर्ड एकाउन्टेन्ट संघको अर्थमन्त्रीसँग आग्रह

काठमाडौं : कोभिड १९ लाई कारण देखाउँदै चार्टर्ड एकाउन्टेन्टहरुले आयकर विवरण बुझाउने म्याद तीन महिना थप गर्न सरकारसँग आग्रह गरेका छन्। अनुमानित आयकर पुस मसान्तसम्म बुझाउनुपर्ने व्यवस्था भए पनि कोभिड १९ का कारण चुनौती देखिएकाले चैत मसान्तसम्म हुनेगरी व्यवस्था मिलाउन आग्रह गरेका हुन्।  नेपाल चार्टर्ड एकाउन्टेन्ट संघका अध्यक्ष आनन्दराज शर्मा…

सम्बन्धित सामग्री

ओटीसी बजारमा ८६ रुपैयाँमा कारोबार भएको हाथवे इन्भेष्टमेन्टको आईपीओ ५० रुपैयाँमै

काठमाडौं । प्राथमिक बजारमा साउन ४ गतेदेखि प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यमै आईपीओ निष्कासन भएको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणमा जारी गरिने कुल शेयरको १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री खुला गरेको हो ।  सामान्यतया प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमै कम्पनीहरूले आईपीओ जारी गरिरहेको अवस्थामा बोर्डले यस कम्पनीलाई भने ५० रुपैयाँ अंकित मूल्यमै आईपीओ विक्री गर्न अनुमति दिएको हो । बोर्डले कम्पनीलाई १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ विक्री गर्न अनुमति दिएको हो । बोर्डका अध्यक्ष रमेश कुमार हमालले अन्य कम्पनीले जसरी नै १०० रुपैयाँ अंकित मूल्यमै आईपीओ निष्कासनका लागि शुरूमा निर्देशित गरे पनि सबैको सल्लाहबमोजिम ५० रुपैयाँमै आईपीओ निष्कासनको लागि अनुमति दिएको बताए । आगामी दिनमा कम्पनीले अंकित मूल्य १०० रुपैयाँ कायम गर्न चाहेमा गर्न सक्ने गरी अनुमति दिएको जानकारीसमेत हमालले गराए ।  धितोपत्र बजारको इतिहासमा यसअघि पनि प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्यमा सोल्टी होटलको आईपीओ जारी भएको विषयलाई जोड्दै बोर्डको सम्बन्धित विभागको सल्लाहबमोजिम हाथवे इन्भेष्टमेन्टलाई आईपीओ निष्कासनका लागि बाटो खुला गरेको भनाई हमालको छ । धितोपत्र बजारमा फरकपन चाहने लगानीकर्तालाई यस प्रक्रियाले थप उत्साहित गर्ने विश्वास अध्यक्ष हमालको छ ।  कम्पनी ऐनमा समेत पब्लिक कम्पनीको शेयरको अंकित मूूल्य प्रतिशेयर ५० रुपैयाँ वा १० अंकले भाग जाने सोभन्दा बढी अंकले हुन आउने गरी प्रबन्धपत्र तथा नियमावलीमा व्यवस्था भएबमोजिमको रकम बराबर हुने व्यवस्था छ ।  आईपीओ जारी गर्नुअघि कम्पनीको शेयर कारोबार ओटीसी बजारमा प्रतिकित्ता ८६ रुपैयाँमा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नै सञ्चालन गरिरहेको ओटीसी बजारमा यस कम्पनीको शेयर कारोबार गत जेठ २३ गते भएको तथ्यांक छ । ओटीसी बजारमा त्यस दिन कम्पनीको ३ लाख ५७ हजार २९५ कित्ता शेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ । कम्पनीले सर्वसाधारणमा जारी गर्ने कुल कित्ता शेयरमध्ये पहिलो चरणमा १० प्रतिशत दरकोे २ लाख ९२ हजार ५०० कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री खुला गरेको हो । यीबाहेक कर्मचारीका लागि ५८ हजार ५०० कित्ता र १ लाख ४६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट हुनेछ । दोस्रो चरणमा सार्वजनिक निष्कासनमा भने कम्पनीले सर्वसाधारणमा २४ लाख २७ हजार ७५० कित्ता आईपीओ जारी गर्नेछ । हाल वैदेशिक रोजगारीमा रहेका नेपालीमा जारी भएको आईपीओ भने साउन १८ गतेसम्म विक्रीमा रहनेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ । कम्पनीको आईपीओ निष्कासनका लागि गराएको रेटिङमा ईक्रा नेपाल रेटिङ नेपालले मध्यम स्तरको क्रेडिट जोखिम रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । २०६५ चैत १४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सोही मितिदेखि यो कम्पनी सञ्चालनमा छ । यस कम्पनीमा नेपालका ख्यातिप्राप्त युवा व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट लगायतका प्रबुद्ध व्यक्तिहरूको लगानी  छ । यस कम्पनीले नेपालको पूँजीबजार र लगानीका अन्य क्षेत्रहरूमा लगानी गरी आफूलाई एक सफल कम्पनीको रूपमा उभ्याउन सफल भएको छ ।  हाल संस्थापक तर्फबाट चुक्ता भएको पू्ँजी १ अर्ब २ करोड ३७ लाख ५० हजार रुपैयाँ छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब १७ करोड कायम हुनेछ । संस्थापकतर्फ हाल ८७ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम छ ।

एसईईपछिको यात्रा विशेष: आईटी कलेजमा विद्यार्थीको आकर्षण

काठमाडौं। भर्खरै एसईईको नतिजा सार्वजनिक भएको छ । धेरैजसो विद्यार्थीलाई उच्च शिक्षामा के पढ्ने भन्ने अन्योल पनि उत्तिकै भएको पाइन्छ । करिअरको राम्रो सम्भावना भएका क्षेत्र धेरै छन् । तीमध्ये सूचनाप्रविधि अर्थात् आईटी पनि हो । शिक्षा क्षेत्रका जानकारहरू भने अबको भविष्य आईटी भएकाले सोही विषय पढ्न सुझाउँछन् । एसईईमा ३ दशमलव ७ जीपीए ल्याएका चितवनका रमेश घिमिरे कक्षा १२ पछि आईटी पढ्ने सोचले काठमाडौं आएका छन् । घिमिरे हाल ब्रिज कोर्सको तयारीमा छन् । ‘आईटीमा भविष्य राम्रो हुन्छ भनेर सबैले भन्नुभयो । त्यसैले कक्षा ११–१२ मा विज्ञान विषय पढेर अब ब्याचलरमा आईटी पढ्ने सोच बनाएको छु,’ उनले भने ।  नेपालमा पछिल्लो समय आईटी कलेजहरूमा विभिन्न विषय पढ्ने विद्यार्थीको संख्या बढ्दो छ । आईटी पढ्दापढ्दै काम गर्न पाइने र उच्च शिक्षा प्राप्त गरेपछि झनै राम्रो अवसर पाइने भएकाले यस क्षेत्रमा विद्यार्थीको आकर्षण बढेको सरोकारवालाहरू बताउँछन् । अहिले नेपालमा आईटीको उच्च शिक्षा प्राप्त गरिसकेका र अध्ययनरत विद्यार्थीले घरमै बसेर राष्ट्रिय साथै अन्तरराष्ट्रिय कम्पनीमा काम गरिरहेका छन् । डेटा इन्ट्रीबाटै विद्यार्थीले राम्रो कमाइ गर्न सक्छन् : दुवाडी न्यू समिट कलेजका प्राचार्य चोकराज दुवाडी आईटी पढेका विद्यार्थीले नेपालमा डेटा इन्ट्रीबाटै अधिकृतको भन्दा राम्रो कमाइ गर्न सक्ने बताउँछन् । ‘१०/१२ वर्ष अगाडि आईटीमा विद्यार्थीलाई इन्टर्न पाउन पनि मुश्किल थियो । अहिले भने प्रत्येक स्थानीय तहदेखि सानासाना कम्पनीमा पनि आईटीका विद्यार्थीलाई अवसर नै अवसर छ,’ उनले भने ।  आईटीका विद्यार्थीले मुलुकभित्रका कम्पनीको मात्र नभएर बाहिरका कम्पनीमा पनि काम गर्दै आएका दुवाडी बताउँछन् । उनका अनुसार आईटीका विद्यार्थीले कलेज पढ्दा पढ्दै कलेजमा लाग्ने खर्च पनि विभिन्न प्रोजेक्टमा काम गरेर जुटाउन सक्छन् । ‘आईटीका विद्यार्थीले कलेजमा भर्ना भएको केही महीनामा डेटा इन्ट्री, फोटोशप, डिजाइनिङलगायत सानासाना काम गरेरै मासिक १० हजारदेखि १५ हजार कमाउन सक्छन्,’ उनले भने, ‘ब्याचलर पढिसकेपछि नेपालमै १ लाखदेखि डेढ लाख रुपैयाँसम्म कमाउने विद्यार्थी धेरै छन् ।’ ‘आईटी पढेर विदेशको काम नेपालबाटै गर्न सकिन्छ’ अम्निल टेक्नोलोजीकी सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अलिशा श्रेष्ठ नेपालमा आईटी पढेर पनि विदेशका प्रोजेक्टमा काम गर्न सकिने बताउँछिन् । अम्निलले पनि ७० प्रतिशत नेपालका र बाँकी सिंगापुर, अमेरिका, अष्ट्रेलिया, बेलायतलगायत मुलुकका प्रोजेक्टमा काम गर्दै आएको उनको भनाइ छ ।  ‘हामीले अहिले क्विक फक्स टेक्नोलोजी भन्ने कम्पनी स्थापना गरेर अमेरिकी बजारलाई लक्षित गरी काम थालेका छौं,’ उनले भनिन् । नेपालमा आईटी जनशक्तिको ठूलो माग रहेकाले यो विषय पढेका विद्यार्थीका लागि अवसर नै अवसर भएको उनी बताउँछिन् । ‘अहिले विदेश जाने र विदेशमै काम गर्न जाने प्रचलन बढ्दो छ । तर, आईटीका विद्यार्थीले नेपालमै बसेर अम्निलले भैंm बाहिरका प्रोजेक्टमा पनि काम गर्न सक्छन्,’ उनले भनिन् । अबको शिक्षा नै आईटी हो : श्रेष्ठ आईसीटी म्यानेजमेन्ट एक्सपर्ट हिमपाल श्रेष्ठ अबको शिक्षा नै आईटीको भएको बताउँछन् । ‘नेपालमा आईटी एउटा विधाको रूपमा र अर्को माध्यमको रूपमा विकास भइरहेको छ । दुईओटै स्रोतबाट हेर्दा आईटी शिक्षाको स्कोप बढेको पाइन्छ,’ उनले भने । श्रेष्ठका अनुसार गतवर्ष मात्र नेपालले आईटी सर्भिस र फ्रिल्यान्सिङ निर्यात गरेर ५५० मिलियन डलर भित्त्याएको छ । श्रेष्ठका अनुसार आईटी पढेका विद्यार्थीका लागि ठूलो अवसर छन् । साथै आईटी क्षेत्र राज्यलाई पनि आयस्रोतको राम्रो माध्यम बन्न सक्ने उनी बताउँछन् । नेपालमा आईटी जनशक्तिको माग पनि बढ्दै गएको श्रेष्ठको भनाइ छ । ‘अन्य शिक्षाको तुलनामा आईटी पढ्न खर्च पनि धेरै लाग्दैन,’ उनले भने । उनका अनुसार नेपालमा पाटन कलेज, अस्कल कलेजजस्ता सरकारी शिक्षण संस्थादेखि लर्ड बुद्ध कलेज, सफ्टवेरिका कलेज, किङ्स कलेजलगायतले विदेशी विश्वविद्यालयका गुणस्तरीय आईटी शिक्षा दिँदै आएका छन् । उनका अनुसार १५–२० वर्षदेखि आईटी शिक्षा पढाउँदै आएका कलेजले बाहिरको पाठ्यक्रम नेपालमै उपलब्ध गराइरहेका छन् ।  ‘डाक्टर, चार्टर्ड एकाउन्टेन्ट, अधिवक्तालगायत पेशाकर्मीको जस्तै आईटी क्षेत्रमा लागेकाहरूको एउटा एकेडेमिक काउन्सिल आवश्यक छ,’ उनले भने, ‘आईटी शिक्षामै विभिन्न विधाहरू विकास भइरहेको छ । त्यसैले यस क्षेत्रलाई थप व्यवस्थित गर्न सरकारले छुट्टै काउन्सिल बनाउन पहल पनि गरिरहेको छ । तर त्यस्तो काउन्सिल मन्त्रालयअन्तर्गत नभई स्वायत्त हुनुपर्छ ।’ नेपालमा पछिल्लो समय आईटी कलेजमा विभिन्न विषय पढ्ने विद्यार्थीको संख्या बढ्दो छ । आईटीको उच्च शिक्षा प्राप्त गरिसकेका र अध्ययनरत विद्यार्थीले घरमै बसेर राष्ट्रिय साथै अन्तरराष्ट्रिय कम्पनीमा काम गरिरहेका छन् । नेपालका आईटी कलेज कम्प्युटर र सूचनाप्रविधिको डिग्री अहिले विश्वव्यापी रूपमा सान्दर्भिक र सम्मानित रहेको छ । यो विषयमा ३ देखि ४ वर्षको पढाइ हुन्छ, जसमा विद्यार्थीले वेब डिजाइन, प्रोग्रामिङ, कम्प्युटर नेटवर्क, कोडिङजस्ता विभिन्न विषयमा ज्ञान र क्षमता प्राप्त गर्छन् । नेपालमा पनि पछिल्लो समय आईटी कलेज धेरै छन् । नेपाली मात्रै नभएर विदेशी मान्यताप्राप्त कलेजले पनि आईटीका कोर्स १५–२० वर्षबाट पढाउँदै आएका छन् । अहिले आईटी कोर्सहरूमा विविधीकरण आएसँगै प्लस टुमा जुनै विषयमा पढेकाले पनि आईटी पढ्न पाइने प्रावधान छ ।  आईसीटी म्यानेजमेन्ट एक्सपर्ट श्रेष्ठ इन्जिनीयरिङ कलेजमा पनि आईटीप्रति आकर्षण बढेको बताउँछन् । यस्तै हाल नेपालमा मानविकीका विद्यार्थीले पनि बीसीए, एजुकेशनकाले बीएड आईटी, विज्ञान पढेकाले बीएससी सीएसआईटी र म्यानेजमेन्ट पढेकाले बीआईएम पढ्न पाउँछन् । ‘अहिले स्कूलमा पनि व्यावहारिक रूपमा आईटी शिक्षाको पढाइ बढेको देखिन्छ,’ उनले भने, ‘कोभिडपछि विद्यालय तहमै पढाइमा आईटीका विभिन्न आयाम कसरी प्रयोग गर्ने भन्नेबारे पढाइ शुरू भएको छ ।’ आउने दिनहरूमा अन्य मुलुकमा भैंm नेपालमा पनि स्वास्थ्य, कानूनलगायत विविध क्षेत्रमा आईटीको कोर्स शुरू हुने श्रेष्ठ बताउँछन् । नेपालमा आईटी पाठ्यक्रमहरू प्रदान गर्ने धेरै कलेज छन् । तिनीहरू प्रतिस्पर्धात्मक र आकर्षक छन् । स्नातक स्तरका केही महत्त्वपूर्ण कार्यक्रम बीसीए, कम्प्युटर इन्जिनीयरिङमा स्नातक (बिई), कम्प्युटर सूचना प्रणालीको स्नातक (बीई), बीएससी सीएसआईटी, ब्याचलर अफ बिजनेश इन्फर्मेशन सिस्टम, सूचनाप्रविधिमा स्नातक लगायत रहेका छन् । नेपालका विश्वविद्यालयहरू सम्बद्ध आईटी कलेजहरूले व्यवस्थापन संकाय, विज्ञान संकाय र मानविकी संकायअन्तर्गत विभिन्न डिग्री प्रदान गर्दै आएका छन् । केही विदेशी विश्वविद्यालयले पनि नेपालमा आईटीअन्तर्गतका विभिन्न डिग्री प्रदान गर्दै आएका छन् । नेपालमा दिव्य ज्ञान कलेज, अर्किड इन्टरनेशनल कलेज, थेम्स इन्टरनेशनल कलेज, पद्मश्री अन्तरराष्ट्रिय कलेज, आएसएटी कलेज, ब्रिटिश कलेज, इस्लिङटन कलेज, कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फर्मेशन टेक्नोलोजी, कान्तिपुर सिटी कलेज, क्याथफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनीयरिङ एन्ड म्यानेजमेन्ट, आदिम नेशनल कलेज, नेपाल कलेज अफ इन्फर्मेशन टेक्नोलोजी, कलेज अफ इन्फर्मेशन टेक्नोलोजी एन्ड इन्जिनीयरिङ, किस्ट कलेजलगायतमा आईटीका विभिन्न कार्यक्रम पढाइ हुने गरेका छन् ।  आईटीका विद्यार्थीका अनुभव कक्षा ११–१२ मा म्यानेजमेन्ट पढेर ब्याचलरमा आईटी पढेका अमीर रेग्मी अहिले महीनाको लाखौं कमाउँछन् । उनले आफ्नो कार्यालयको काम घरमै बसेर गर्दै आएका छन् । सानैदेखि प्रविधिमा रुचि राख्ने उनी आईटी क्षेत्रमा भविष्य बनाउने सोचले यो विषय पढेको बताउँछन् । ‘आईटी पढ्नेलाई नेपालमै पनि प्रशस्त अवसर छन् । आईटी पढेर कोही पनि बेरोजगार बस्नु पर्दैन ।  अहिले मैले दुईओटा काम गरिरहेको छु, जसबाट महीनाको डेढ लाखदेखि २ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ,’ उनले भने । नेपालमा अहिले ई–सेवा, खल्ती, दराज, सस्तो डिललगायत विभिन्न आईटी तथा ई–कमर्श कम्पनी सञ्चालनमा छन् । त्यसैले आउने दिनमा आईटी क्षेत्र थप विस्तार हुने भएकाले आईटी पढेका विद्यार्थीले नेपालमै राम्रो भविष्य बनाउन सक्ने रेग्मी बताउँछन् । ‘मेरो पनि कक्षा १२ पछि विदेश गएर मनग्गे कमाउने सोच थियो । तर, अहिले यहीँ विदेशको भन्दा राम्रो पैसा कमाइरहेको छु । मैले यहाँ बसेरै विदेशका कम्पनीमा पनि काम गरेको छु,’ उनले भने । यस्तै कक्षा ११–१२ मा विज्ञान पढेर पछि आईटी पढेका सुनील यादवले नेपालमै बसेर बाहिरका काम गरिरहेका छन् । आफूले अमेरिकी आईटी कम्पनीमा कोडिङ र प्रोग्रामिङको काम गरेको उनी बताउँछन् । त्यसबाहेक उनले वेबसाइट बनाउने, डिजाइन गर्नेजस्ता फ्रिल्यान्सिङका काम पनि गरिरहेका छन् । ‘आईटीमा अहिले नेपालमै पनि धेरै काम पाइन्छन् । मलाई धेरै नेपाली कम्पनीले कामका लागि अप्रोच गर्छन् । कोभिडपछि सबैजसो कम्पनी र संघसंस्थाले डिजिटलाइजेशनमा जोड दिएकाले रोजगारीका प्रशस्त अवसर छन्,’ उनले भने, ‘अहिले बैंक खातादेखि पानी, बिजुलीलगायत सेवाको शुल्क भुक्तानीका काम डिजिटलाइज्ड भएका छन् । यस्ता क्षेत्र धेरै भएकाले आईटी पढेका जनशक्तिका लागि अवसरको कमी नै छैन ।’ पढाइका लागि विदेशिने बढे नेपालबाट उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको संख्या बढ्दो छ । हाल धेरैजसो विद्यार्थी कक्षा ११–१२ को पढाइपछि विदेशिन चाहन्छन् । यसमा कतिपयले राम्रो शिक्षा र केहीले राम्रो कमाइको अपेक्षा गरेका हुन्छन् । यस्तै केही विद्यार्थी एसईईपछि पनि पढ्न विदेश जाने गरेको पाइन्छ । वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार चालू आर्थिक वर्षको साउनदेखि असार ११ गतेसम्म १ लाख ५ हजार ९२ जना विद्यार्थीले देशबाहिर पढ्न जान वैदेशिक अध्ययन अनुमतिपत्र लिएका छन् । नेपालबाट विदेश पढ्न जान अहिले दैनिक २०० देखि ७०० जनाले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिने गरेका छन् । एनओसी लिने सबैभन्दा धेरै विद्यार्थी अष्ट्रेलिया जाने रहेका छन् । उक्त अवधिमा अष्ट्रेलिया पढ्न जान मात्रै ३३ हजार ५३२ जना विद्यार्थीले एनओसी लिएका छन् । दोस्रोमा जापान जान अनुमतिपत्र लिनेको संख्या २० हजार ९८९ रहेको छ । यसैगरी क्यानडा पढ्न जाने २० हजार १०७ र संयुक्त अधिराज्य (यूके) पढ्न जानेको संख्या ९ हजार ६८१ रहेको छ । शाखाका अनुसार धेरैजसो विद्यार्थी कम्प्युटिङ, सूचना प्रविधि, डेटा साइन्सलगायत अध्ययनका लागि विदेशिने गरेका छन् । अध्ययनका लागि विदेश जाने विद्यार्थी नेपालमा उच्च शिक्षा गुणस्तरीय शिक्षा नभएको बताउँछन् । तर, शिक्षाविद्हरू यो पूर्णरूपमा स्वीकार्दैनन् । उनीहरूका अनुसार धेरैजसो विद्यार्थी पढाइभन्दा पनि कमाउन विदेशिने गरेका छन् । कतिपय भने स्वदेशमा रोजगारी अभावले पढाइको नाममा विदेश जाने र उता गइसकेपछि पढ्दै काम गर्ने गरेको उनीहरू बताउँछन् । प्राडा विद्यानाथ कोइराला नेपालमा पाठ्यक्रमभन्दा अतिरिक्त पढाइ नहुने, समयमा स्कूल/कलेज नखुल्ने, समयमै परीक्षा नहुने जस्ता समस्याले पनि विद्यार्थीहरू विदेशिने रहेको बताउँछन् । कुनै पनि राजनीतिक विषयले विद्यार्थीको शिक्षामा असर पार्न नहुनेमा उनी जोड दिन्छन् । ‘एसईईपछि विद्यार्थीहरू ए लेभल, सीडीएससीजस्ता कोर्स पढ्न चाहन्छन्, किनभने ती व्यावहारिक कोर्सलाई संसारका सबै विश्वविद्यालयले प्राथमिकता दिएका छन्,’ उनले भने, ‘यसले गर्दा पनि विद्यार्थीहरू पढ्न यूरोप, अमेरिका जस्ता मुलुक जाने इच्छा गर्छन् । हामीले पढिरहेको ज्ञान प्रयोगात्मक रूपमा पनि आत्मसात् गर्नुपर्छ । विद्यार्थीलाई पढाइरहेको कुरा व्यावहारिक प्रयोजनमा आउनुपर्छ ।’ नेपालमा पनि अहिले यस्तो अभ्यास कम रहेको उनको बुझाइ छ । विदेशमा गएर पढेपछि सामान्यतया त्यहाँ जागीरका लागि समस्या हुँदैन । तर, नेपालमा रोजगारीका अवसर कम हुने भएकाले स्नातक वा स्नातकोत्तर पढ्न विद्यार्थी विदेशिने गरेको विज्ञहरू बताउँछन् । नेपालमा हुने पढाइको सम्बन्धमा विद्यार्थीका लागि राम्रो काउन्सिलिङको अभाव समेत रहेको उनीहरूको ठम्याइ छ । आईटी क्षेत्रका जानकारहरू भने यो विषय पढेकाहरूले नेपालमा काम नै नपाए पनि विदेशका कम्पनीमा पर्याप्त अवसर पाउने बताउँछन् । नेपालमै बसेर विश्वका कुनै पनि मुलुकको कम्पनीमा काम गर्न सक्ने भएकाले जागीरको अभाव नहुने दाबी उनीहरूको छ । नेपालमा आईटी पढेका विद्यार्थीले गूगल, माइक्रोसफ्ट, एप्पललगायत ठूला सूचनाप्रविधि कम्पनीमा समेत काम गरिरहेको आईसीटी म्यानेजमेन्ट एक्सपर्ट श्रेष्ठ बताउँछन् । ‘नेपालमा शिक्षाको गुणस्तर नै कम छ भन्ने होइन,’ उनले भने, ‘यहाँ पढेका विद्यार्थीले विश्वको ठूलाठूला कम्पनीमा काम गरिरहेका छन् । नेपालको पढाइ पनि गुणस्तरीय छ भन्ने प्रमाण हो यो । केही विश्वविद्यालयमा कोर्स अपडेट नभएको हुन सक्छ । यस्तै केही कलेजमा समस्या हुन सक्छन् । तर, आईटी शिक्षाको गुणस्तर नै कम छ भन्नु गलत हुन्छ । नेपालमै आईटी पढ्ने विद्यार्थीलाई पनि पर्याप्त विकल्प र अवसर छन् ।’

पूँजीगत लाभकर नै अन्तिम कर हो कि होइन ? 'कानुनी व्यवस्थाले दोहोरो लाग्दैन'

हालै आर्थिक अभियानमा ‘पूँजीगत लाभकरलाई अन्तिम कर मान्न माग’ र ‘दोहोरो कर तिर्न तयार छैनन् लगानीकर्ता’ भन्ने समाचार छापिएको थियो । यो समाचार मात्र होइन, अहिले शेयरबजारका लगानीकर्ता सबैलाई यो व्यवस्था टाउको दुखाइ भएको छ । यही कारण शेयरबजार घटेको हो पनि भनिन्छ । मेरो विचारमा पूँजीगत लाभकर न त अन्तिम कर हो न यो दोहोरो कर हो । यससम्बन्धी आयकर ऐनका दफाहरू स्पष्ट छन् र ती दफाले कुनै प्रकारको अन्योलको सृजना गरेको छैन । तर, यस सम्बन्धमा आयकर ऐनका सम्बद्ध दफाहरूको अभिप्राय अथवा सही अर्थ नबुझेकाले नै अन्योल सृजना भएको हो । साथै आर्थिक विधेयक २०८० को दफा २९ ‘धितोपत्र, जग्गा तथा घरजग्गाको व्यावसायिक कारोबार गर्नेलाई छूटसम्बन्धी विशेष व्यवस्थाले’ अन्योल बढाउनमा आगोमा घिउ हाल्ने कार्य गरेको छ । आन्तरिक राजस्व विभागले पनि प्रेस विज्ञप्ति जारी गरी पूँजीगत लाभकर अन्तिम कर हो भनी लेखेको छ ।  यस सन्दर्भमा आयकर ऐनका सान्दर्भिक दफाहरूको सही व्याख्या यस प्रकारले गर्न सकिन्छ ।   धितोपत्र, जग्गा तथा घरजग्गाको निःसर्गबाट पूँजीगत लाभ भएको अवस्थामा आयकर ऐनको दफा ९५ क ले जुनजुन दरले अग्रिम कर असुल गर्नुपर्ने भनी लेखेको छ उक्त ऐनको अनुसूची १ को दफा ४ ले पनि ती ती दरले नै कर लगाउनु भनी लेखको छ । अर्थात्, पूँजीगत लाभ भएको अवस्थामा अग्रिम करको दर र उक्त लाभमा लाग्ने करका दरहरू उही छन् र कुनै फरक छैन ।  जहाँसम्म पूँजीगत लाभकर अन्तिम हो अथवा होइन भन्ने प्रश्न छ, त्यसको जवाफ आयकर ऐनको दफा ९५ क को उपदफा (१३) ले दिएको छ । यस उपदफामा लेखिएको छ ‘यस दफाबमोजिम दाखिला गरिएको अग्रिम कर दाखिला गर्नुपर्ने व्यक्तिले तिर्नुपर्ने वार्षिक कर दायित्वमा घटाउन पाउनेछ ।’ यस व्यवस्थाले स्पष्ट पारेको छ कि दफा ९५ क अनुसार कुनै पनि अग्रिम कर अन्तिम होइन, अग्रिम नै हो । तर, जबसम्म हामी दफा ९७ को प्रावधानलाई दफा ९५ क को प्रावधानसँग जोडेर अध्ययन गर्दैनौं तबसम्म यो कर अन्तिम होइन, अग्रिम हो भन्ने जवाफ प्रत्येक अवस्थामा सही हुन सक्दैन । आयकर ऐनको दफा ९७ मा आय विवरण दाखिला गर्न नपर्ने अवस्थाहरू बारे कुरा गरेको छ । ती अवस्थाहरूमध्ये एउटा यो पनि छ, ‘(ङ) आय विवरण पेश गर्न नचाहने गैरव्यावसायिक करयोग्य सम्पत्ति निःसर्गको आयमात्र भएको प्राकृतिक व्यक्ति ।’ अर्थात् कुनै प्राकृतिक व्यक्तिको उक्त वर्षमा गैरव्यावसायिक करयोग्य सम्पत्ति निःसर्गको आयमात्र भएको अवस्थामा उक्त व्यक्तिले आय विवरण दाखिला गर्नु पर्दैन । तर, दफा ९७ को उपदफा (२) ले यस प्रावधानमा पनि थप शर्त लगाएको छ, ‘उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राकृतिक व्यक्तिको कुनै आय वर्षमा ४० लाख रुपैयाँभन्दा बढी भएमा ऐनको दफा ९६ बमोजिम आय विवरण पेश गर्नुपर्ने छ ।’ यहाँ बुझ्नुपर्ने कुरा के हो भने जुन अवस्थामा पूँजीगत लाभकरका लागि आय विवरण दाखिला गर्नु पर्दैन भनी लेखेको छ, ती अवस्थामा मात्र पूँजीगत लाभकर अन्तिम कर मानिन्छ । उक्त अवस्थामा पनि लगानीकर्ताले आय विवरण दाखिला गर्न चाहेमा गर्न सक्ने भनी उसलाई स्वैच्छिक अधिकार प्रदान गरेको छ ।  आय विवरण दाखिला गर्दा दोहोरो कर भार पर्न जान्छ भन्ने धारणा पनि कपोलकल्पित हो । आयकर ऐनमा यस्तो लेखेको नै छैन । आय विवरणअनुसार गणना गरिएको कर दायित्वको रकम जैले पनि जम्मा अग्रिम करका रूपमा काटिएको रकमभन्दा घटी नै हुन्छ, बढी त कुनै हालतमा पनि हुँदैन । किनभने नेप्सेले जुनजुन कारोबारबाट लाभ भएको छ उक्त लाभ माथि तोकिएको दरले अग्रिम कर कट्टी गर्ने गर्छ, तर जुन कारोबारमा नोक्सान भएको छ उक्त नोक्सानको समायोजन लाभबाट गर्दैन । लगानीकर्ताले आय विवरण दाखिला गर्दा उक्त वर्षमा भएको लाभबाट नोक्सान घटाई खुद लाभ अथवा खुद नोक्सानको गणना गर्छ र खुद लाभ भएको खण्डमा मात्र उक्त खुद लाभको रकममा तोकिएको दरले कर लगाई जम्मा कर दायित्वको निर्धारण गर्छ । खुद नोक्सान भएको खण्डमा उक्त नोक्सानको रकमलाई आगामी वर्षको लाभबाट समायोजन गर्न पाउने गरी व्यवस्था गर्छ । आय विवरणअनुसारको कर दायित्वभन्दा अग्रिम कर कट्टी भएको रकम बढी भएमा बढी भएजतिको रकम आगामी वर्षको कर दायित्वबाट घटाउन पाइनेछ ।  आय विवरण भर्दा लगानीकर्तालाई निम्न फाइदा हुन जान्छ: कारोबार वर्षमा शेयर कारोबारमा बेहोरेको नोक्सान भए उक्त आय विवरणमा देखाउन पाइन्छ र आगामी वर्षमा हुने लाभबाट घटाउन पाइन्छ । एउटा शेयर बेच्दा भएको नोक्सानलाई अर्को शेयर बेच्दा भएको नाफाबाट घटाउन पाइने भएकाले यसरी वर्षभरिमा शेयर कारोबारबाट खुद लाभको गणना गरी उक्त खुद लाभमाथि मात्र कर दायित्वको निर्धारण गरिन्छ ।  प्राकृतिक व्यक्तिले पाउने कर छूटको रकम रू. ५ लाख वा रू. ५ लाख पनि घटाई बाँकी रहेको आयमा मात्र ५ वा ७ दशमलव ५ प्रतिशतले कर लाग्छ । शेयर खरीद गर्न बैंक वा वित्तीय कम्पनीबाट लिएको ऋणमा तिरेको ब्याज तथा शेयर कारोबारकै लागि गरिएका अन्य प्रत्यक्ष खर्च कर प्रयोजनका लागि उक्त आयबाट घटाउन पाइन्छ । आर्थिक विधेयक २०८० को दफा २९ निम्न अवस्थामा मात्र प्रभावित हुन्छ ।  क) कुनै एउटा प्राकृतिक व्यक्तिले धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबार गर्ने उद्देश्य लिई एउटा व्यावसायिक फर्म कुनै पनि एक सरकारी निकायमा दर्ता गराई वा नगराई सञ्चालन गरिरहेको छ भने र उक्त फर्मको नामबाट नै धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबार गरिरहेको छ भने मात्र ती कारोबारहरूलाई व्यावसायिक कारोबार भन्न मिल्छ । यस्तो अवस्थामा मात्र उक्त व्यावसायिक फर्मले खरीद गरेका धितोपत्र, जग्गा तथा घरजग्गालाई व्यापारिक मौज्दात मान्नुपर्छ । त्यसको निःसर्गबाट निर्धारण गरिएको करयोग्य आयलाई व्यवसायको आय मानी २५ प्रतिशतको दरले कर तिर्नुपर्ने हुन्छ । अन्य कुनै पनि अवस्थामा धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबारलाई नियमित व्यावसायिक कारोबार हो भनी भन्नै मिल्दैन ।  लेखक जगदिश अग्रवाल वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट हुन् ।

महालेखाको प्रतिवेदनमा सेबोनको असन्तुष्टि

काठमाडौं । महालेखा परीक्षककको कार्यालयले सार्वजनिक गरेको ६०औं प्रतिवेदनमा नेपाल धितोपत्र बोर्ड (SEBON)ले असन्तुष्टि व्यक्त गरेको छ ।  महालेखा परीक्षकको कार्यालयले (Office of the Auditor General) सार्वजनिक गरेको प्रतिवेदनमा बोर्डले प्रभावकारी ढंगबाट नियमन, अनुगमन, निरीक्षण तथा जाँचबुझ नगरेको उल्लेख छ । प्रतिवेदनमा कैफियत जनाइएकामध्ये धेरै काम सम्पन्न गरिसकेको बोर्डले दाबी गरेको छ । बोर्डका अध्यक्ष रमेशकुमार हमालले बोर्डले धेरै काम गर्न बाँकी रहे पनि महालेखाको प्रतिवेदनमा उल्लेख भएकामध्ये धेरैजसो सम्पन्न भएको बताए ।  यो १ वर्षमा पूँजीबजारको थप विकास र विस्तारका लागि महत्त्वपूर्ण काम बोर्डबाट भएको दाबी गर्दै हमालले ती कुरा प्रतिवेदनमा नसमेटिएको भन्दै दु:ख व्यक्त गरे ।  अति संवेदनशील धितोपत्र बजार (Stock Exchange) को नियमन गर्ने जिम्मेवारी पाएको बोर्डको काम कारबाही प्रभावकारी नभएको महालेखाको टिप्प्णीले आम लगानीकर्तामा (Investor) नकारात्मक सन्देश जाने बुझाइ हमालको छ । सूचनाको आधारमा चल्ने धितोपत्र बजारका लागि बोर्डबाट भएका सकारात्मक कदमलाई महालेखा परीक्षकको प्रतिवेदनमा समेत समेट्न पाएको भए सुनमा सुगन्ध हुने उनले बताए । २०७९ असारसम्मको अवस्थामा आधारित महालेखाको प्रतिवेदनकै आधारमा बोर्डलाई ‘जज’ नगर्न हमालले सरोकारवालालाई सुझाएका छन् ।  उपमहालेखा परीक्षक वामदेव शर्मा अधिकारीले नेपाल धितोपत्र बोर्डको २०७९ असार मसान्तसम्मको काम कारबाही हेरेर प्रतिवेदन तयार भएकाले नयाँ कुरा अपडेट नभएको बताए । उनका अनुसार बोर्डको सम्बन्धमा प्रतिवेदन तयार गर्न एक जना चार्टर्ड एकाउन्टेन्ट (CA) ‘हायर’ गरी काम गराएकाले प्राप्त लिखित जानकारीका आधारमा मात्र प्रतिवेदन तयार भएको अधिकारीको भनाइ छ । बोर्डबाट पछिल्ला समय भएका नीतिगत सुधारका विषयमा मौखिक जानकारी प्राप्त भए पनि लिखित जानकारी प्राप्त भएको उनले बताए । आगामी दिनमा महालेखाले प्रतिवेदन सार्वजनिक गर्ने अवधिसम्म असार मसान्तपछि थपिएका गतिविधिलाई समेत समेट्ने अनुभव प्राप्त गरेको भनाइ अधिकारीको छ । महालेखाले धितोपत्र बजार तथा दलालको अनलाइन रियल टाइम अनुगमन कार्यका लागि नेपाल अनलाइन ट्रेडिङ सिस्टम जडान गरे पनि धितोपत्र दलाल व्यवसायीले प्रयोग गर्ने सफैटवेयर र नेप्सेको कारोबार प्रणालीको तथ्यांकमा भिन्नता देखिएको औंल्याएको छ । त्यस्तै आईपीओ बाँडफाँट सफैटवेयरको न्यूनतम विशेषता निर्धारण नभएको, सूचीकृत संस्थाको कोषको उपयोग प्रतिवेदनले समेट्न नसकेको तथा धितोपत्र व्यवसायीको वित्तीय विवरणको ढाँचामा विविधता हुँदा पनि टिप्पणी नगरिएको र मर्जरमा गएका बैंकहरूले तोकेको समयमा वित्तीय विवरण पेश नगरेको प्रतिवेदनमा उल्लेख छ । धितोपत्र बजार सहभागीको लक्ष्यअनुसार स्थलगत अनुगमन नगरेको, आस्बा सदस्य, सूचीकृत संस्था र संस्थागत लगानीकर्ताको अनुगमन नगरेको, सूचीकृत संस्थाले निर्देशिकाअनुसारको सुशासन प्रतिवेदन पेश नगरेकोमा कारबाही नगरेको, आईपीओ, हकप्रद तथा बोनस शेयर र ऋणपत्र स्वीकृति तोकिएको समयमा नदिएको, भित्री कारोबार नियन्त्रण गर्ने जस्ता विषयमा प्रभावकारी अनुगमन, सुपरिवेक्षण र नियमन नभएको समेत महालेखाको प्रतिवेदनमा उल्लेख छ । महालेखाको प्रतिवेदनमा बोर्डमा प्राप्त शंकास्पद कारोबार तथा गुनासोअन्तर्गत २०७८ जेठ ५ गते एक इन्स्योरेन्सको कारोबारमा ११ प्रतिशत फरक परेको, एक हाइड्रोपावरको शेयरधनीले २०७८ भदौ ४ गते धितोपत्रको दोस्रो बजारमा कारोबार गरेको, १२ कम्पनीमा बजारको निजी कारोबार तथा कोडउपर सञ्चालक तथा पदाधिकारीको संलग्नता रहेको, शेयर कर्नरिङमा एक व्यक्तिको भूमिका, दुई जलविद्युत् कम्पनीका अध्यक्षले नै कारोबार गरेकोलगायत विषयमा परेका उजुरी सम्बन्धमा टुंगो नलगाएको उल्लेख छ । महालेखाले उल्लेख गरेमध्येका केही काम बोर्डले सम्पन्न गर्न बाँकी छ । तर, पछिल्लो समय बोर्डले धितोपत्रको प्राथमिक बजार खाली नहुने गरी आईपीओ, सामूहिक लगानी कोषका एकाइ, ऋणपत्रलाई स्वीकृति दिँदै आएको बताइएको छ । बोर्डले बजारको नियमनमा कडाइ गर्दै पछिल्लो समय विभिन्न ब्रोकर कम्पनी, क्रेडिट रेटिङ कम्पनी र मर्चेन्ट बैंकरलाई समेत कारबाही गरेको छ । आईपीओ सबैलाई पर्न नसक्ने हालको अवस्थामा आवेदकलाई राहत हुने गरी बोर्डले आस्बा शुल्क घटाएर बढीमा ५ रुपैयाँसम्म लिन सक्ने व्यवस्था गरेको छ । यसअघि अधिकतम सय रुपैयाँसम्म आस्बा शुल्क लिन सक्ने व्यवस्था थियो ।  त्यस्तै बोर्डले मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिका लागू गरी लामो समय धितोपत्र बन्धक हुने समस्याको अन्त्य गरेको छ । देशव्यापी रूपमा धितोपत्र बजारको पहँुच विस्तार गर्ने उद्देश्यले बोर्डले पछिल्लो समय धितोपत्र दलाल व्यवसायीको शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका समेत लागू गरेको छ । उक्त निर्देशिका लागू भएसँगै बोर्डले २० स्थानमा ब्रोकरलाई शाखा खोल्न अनुमति दिइसकेको छ ।

आधुनिक बीमा सेवामा फड्को : राष्ट्रिय बीमा संस्थानको ५६औं वार्षिकोत्सव विशेष

काठमाडौं । मुलुकको बीमा क्षेत्रमा साढे ५ दशकको योगदान रहेको राष्ट्रिय बीमा संस्थान आज (बिहीवार) ५६औं वर्षमा प्रवेश गर्दै छ । २०२४ पुस १ गते राष्ट्रिय बीमा संस्थानको स्थापना एक निजी कम्पनीको रूपमा भएको थियो । स्थापनाकालमा संस्थानको अधिकृत पूँजी १ करोड मात्र रहेको देखिन्छ । राष्ट्रिय बीमा संस्थान ऐन २०२५ जारी भइसकेपछि २०२५ पुस १ गतेदेखि यसले संस्थागत रूप लिएको हो । २०२४ फागुन ११ गतदेखि व्यवसाय शुरू गरेकाले संस्थानले फागुन ११ गतेलाई आधार मानेर वार्षिकोत्सव मनाउने गरेको छ । शुरुआतमा निर्जीवन बीमा गर्ने संस्थानले प्रथम बीमितको रूपमा नेपालका तत्कालीन शासक राजा महेन्द्रको बीमा गरेको थियो । संस्थानले २०२९ फागुन ७ गतेदेखि जीवन बीमा व्यवसाय शुरू गर्‍यो । त्यसपछि बीमा २०७१ सालसम्म निर्जीवन र जीवन दुवै बीमा गर्दै आएकोे थियो । तर दुवै प्रकारका बीमा एउटै कम्पनीबाट गर्न नपाइने निर्देशनपछि २०७१ सालमा निर्जीवन बीमाका लागि राष्ट्रिय बीमा कम्पनीको स्थापना गरियो । संस्थानले अहिले जीवन बीमा मात्र गर्छ । अहिले सबै प्रदेशमा गरी २३ शाखा कार्यालयबाट जीवन बीमाको व्यवसाय भइरहेको छ । बीमा अभिकर्ताका लागि अहिले धेरै सजिलो भएको संस्थानका अधिकारीहरू बताउँछन् । शुरूका दिनमा अभिकर्ताले बीमा गर्न शाखा कार्यालयमा गएर कागजपत्र बुझाइसकेपछि काठमाडौंमा पठाउनुपर्ने र काठमाडौंबाट बीमालेख प्रिन्ट गरेर पठाउनुपर्ने व्यवस्था थियो । तर अहिले कागजपत्र पूरा गरेर ल्याएको आधा घण्टाभित्र बीमालेख जारी गरिसक्ने व्यवस्था रहेको संस्थानका प्रशासक कविप्रसाद पाठकले बताए । ‘गतवर्षदेखि कनेक्ट आईपीएस, खल्ती र ई–सेवाबाट बीमाशुल्क संकलन शुरू गरेका छौं,’ उनले भने, ‘यही फागुनदेखि दाबी भुक्तानी पनि कनेक्ट आईपीएसको माध्यमबाट गर्दै छौं ।’ उनका अनुसार संस्थानले प्रविधिको क्षेत्रमा ठूलो सुधार गरेको छ । बीमा क्षेत्रमा बीमा संस्थानको ठूलो योगदान छ ईश्वर पौडेल अध्यक्ष, राष्ट्रिय बीमा संस्थान राष्ट्रिय बीमा संस्थानलाई कसरी अघि बढाउँदै हुनुहुन्छ ? म यो संस्थामा आएको ५/६ महीना मात्र भएको छ । राष्ट्रिय बीमा संस्थान बीमा क्षेत्रको अग्रणी संस्था हो । यसले बीमालाई व्यवस्थित गर्न, बीमाको बारेमा चेतना बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । संस्थान व्यावसायिक हिसाबले पनि सबल छ । पुरानो संस्था भएकाले पूँजी निर्माणमा संस्थान अग्रणी छ । हामीले बीमालाई अगाडि बढाउन कस्तो रणनीति लिने भनेर गहन छलफल गरेका छौं । लामो समयदेखि संस्थानको लेखापरीक्षण भएको छैन । त्यसलाई पूरा गर्नुपर्ने छ । समग्रमा संस्थानलाई अझै अब्बल बनाउन लागिपरेका छौं । संस्थानका शाखा पनि कम छन् । शाखा सञ्जाल विस्तारका लागि कस्तो योजना छ ? संस्थानका शाखा कम भयो भन्ने छ । तर जनशक्तिको स्थिति हेर्दा यो स्वाभाविक नै हो जस्तो लाग्छ । पहिले जीवन र निर्जीवन दुवै हेर्ने गरेको बीमा संस्थानबाट निर्जीवन बीमा हेर्नेगरी राष्ट्रिय बीमा कम्पनी बनेपछि जनशक्ति घटेका हुन् । पछि संस्थान निजीक्षेत्रका अन्य बीमा कम्पनी जसरी आक्रामक रूपमा विस्तार हुन नसकेको देखिन्छ । यसको एउटा कारण लेखापरीक्षण नहुँदा पूँजी बढ्न नसक्नु पनि हो । अहिले हाम्रा जति शाखा छन्, तिनबाट काम कारबाही अघि बढाउने, पछि पूँजी वृद्धि पनि गर्ने र शाखा बढाउने सोच छ । बीमा संस्थानमा सञ्चालक समिति र व्यवस्थापन समूहबीच कत्तिको समन्वय भइरहेको छ ? हिजो एउटा परिस्थितिमा यसको ऐन आयो । २०२५ सालमा अन्य कुनै बीमा कम्पनी नरहेको अवस्थामा संस्थानले आफ्नै संयन्त्र र स्रोतसाधनमार्फत यो व्यवसाय शुरू गरेको थियो । अहिलेको अवस्थामा व्यवस्थापनमा रहेका साथीहरू लामो समय बीमा क्षेत्रमा काम गरेका हुनुहुन्छ । साथै सर्वसाधारण शेयर धेरै नभएकाले व्यवस्थापनमा समस्या छैन । संस्थानका कर्मचारीले छाड्ने गरेको कुरा पनि आइरहन्छ नि । कारण के होला ? कर्मचारीले छाड्ने कुरा व्यक्तिगत कारण हो । कहाँ जाने, के गर्ने भन्ने भन्ने विषय कर्मचारीको योग्यता र क्षमतामा पनि भर पर्छ । सेवासुविधाको कुरा पनि होला । संस्थानमा सेवा सुविधा अलि अगाडिकै कायम छ । त्यसलाई अद्यावधिक गर्नुपर्ने छ । त्यसमा हामी लागेका छौं । सेवासुविधा बढाउन प्रस्ताव पनि गरिसकेको हो । तर अहिले आर्थिक मन्दीको जस्तो अवस्था भएकाले सबै कुरा समुचित तवरले हेर्नुपर्छ । संस्थानको ५५ वर्षको यात्रालाई कसरी समीक्षा गर्नुहुन्छ ? नेपालको समग्र बीमा क्षेत्रमा बीमा संस्थानको ठूलो योगदान छ । जनसाधारणलाई बीमाका बारेमा जानकारी दिन र चेतना विकास गर्न संस्थानले अग्रणी भूमिका निर्वाह गरेको छ । अहिले निजीक्षेत्रका बीमा कम्पनीका कारण हाम्रो उपस्थिति अलि कमजस्तो देखिएको छ । यद्यपि हामो भूमिका उच्चस्तरको छ । हामी व्यावसायिक रूपमा सबल पनि छौं । चालू आवमै लेखापरीक्षण सम्पन्न गर्ने तयारीमा छौं कविप्रसाद पाठक प्रशासक, राष्ट्रिय बीमा संस्थान विगतको तुलनामा अहिले राष्ट्रिय बीमा संस्थानमा बीमाशुल्क तथा दाबी भुक्तानी सेवामा के कस्तो परिवर्तन आएको छ ? पहिला बीमाशुल्क तिर्न बैंकमै जानुपर्ने वा हाम्रो काउन्टरमै आएर तिर्नुपर्ने अवस्था थियो । गतवर्षदेखि कनेक्ट आईपीएस, खल्ती र ई–सेवाबाट बीमाशुल्क संकलन कार्य शुरू गरेका छौं । यही फागुनदेखि दाबी भुक्तानी पनि कनेक्ट आईपीएसमार्फत गर्दै छौं । क्रमशः अन्य भुक्तानी पनि अनलाइनबाटै गर्ने व्यवस्था गर्नेछौं । संस्थानले आफूलाई कसरी प्रविधिमैत्री बनाइरहेको छ ? संस्थानमा म आइसकेपछि वेबबेस्ड सफ्टवेयर लागू गरेका छौं । यसमार्फत काम गर्दा शाखा कार्यालयको कारोबार र प्रधान कार्यालयको कारोबार एकीकृत भएको छ । साथै बीमा गरिसकेपछि ग्राहकलाई जानकारी दिने हिसाबले एसएमएस सेवा पनि शुरू गरेका छौं । मोबाइल एपको पनि विकास गरेका छौं, जसमार्फत बीमाशुल्क बुझाउन सकिने सुविधा ल्याइएको छ । लामो समयदेखि संस्थानको लेखापरीक्षण हुन सकेको छैन । यो कहिले हुन्छ ? लेखापरीक्षण हुन नसक्नु ठूलो समस्याको रूपमा रहेको छ । सबै तिरबाट राष्ट्रिय बीमा संस्थानले लेखापरीक्षण गरेन, गर्न सकेन भन्ने कुरा आइरहन्छ । हामीले यसलाई मुख्य प्राथमिकतामा राखेर चालू आर्थिक वर्षमै सक्नेगरी कार्ययोजना बनाउन लागिरहेका छौं । त्यसका लागि अहिले चार्टर्ड एकाउन्टेन्ट, सेमिक्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट कन्ट्र्याक्टमा लिन लागेका छौं । चुक्तापूँजी बढाउने सम्बन्धमा तपाईंहरूको योजना के छ ? आउँदो चैतभित्र चुक्तापूँजी ५ अर्ब रुपैयाँ पुर्‍याउन नेपाल बीमा प्राधिकरणको निर्देशन छ । हाम्रो विशेष ऐन, राष्ट्रिय बीमा ऐन २०२५ अनुसार हाम्रो अधिकृत पूँजी ५० करोड रुपैयाँ मात्र भए पुग्ने व्यवस्था छ । त्यसो हुँदा ५ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्‍याउन हामीलाई कानूनी अड्चन थियो । प्राधिकरणको उक्त निर्देशन आइसकेपछि ५ अर्ब चुक्तापूँजी पुर्‍याउने गरी पूँजी वृद्धि योजना सञ्चालक समितिबाट स्वीकृत गरेका छौं । प्राधिकरणलाई पनि यसको जानकारी गराएका छौं । पूँजी थप गर्न हाम्रा तीनओटै संस्थापक नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंक लिमिटेडलाई पत्राचार गरिसकेका छौं । अहिले पूँजी वृद्धिका लागि बनाइएको मोडालिटी ७० प्रतिशत संस्थापकबाट र ३० प्रतिशत सर्वसाधारणबाट जुटाउने हो । पछिल्लो समय संस्थानको बीमा व्यवसाय कत्तिको प्रतिस्पर्धी छ ? प्रतिस्पर्धा बढेको छ । तर हाम्रो ६०–७० प्रतिशत कर्पोरेट व्यवसाय छ । नेपाल सरकारका सम्पूर्ण कर्मचारी, सरकारी बैंक र सरकारी निकायको सम्पूर्ण व्यवसाय हामीसँग छ । व्यक्तिगत बीमाका लागि मात्र प्रतिस्पर्धा गर्ने हो । त्यसका लागि सेवाको गुणस्तर बढाउनुका साथै नयाँ नयाँ प्रडक्ट ल्याउँछौं । व्यावसायिक सूचकमा अगाडि नै छौं कृष्णकुमार श्रेष्ठ सहायक प्रशासक, राष्ट्रिय बीमा संस्थान अहिले राष्ट्रिय बीमा संस्थानको व्यावसायिक अवस्था कस्तो छ ? संस्थानले गत आर्थिक वर्षमा २०७८/७९ मा बीमाशुल्क करीब ९ अर्ब रुपैयाँ संकलन गरेको छ । यस्तै चालू आर्थिक वर्ष २०७९/८० को ६ महीनामा करीब साढे ५ अर्ब रुपैयाँ बीमाशुल्क संकलन भएको छ । यो वर्ष १२ अर्ब रुपैयाँ बीमाशुल्क संकलन हुने अनुमान छ । त्यस्तै गत आर्थिक वर्षमा २०७८/७९ मा करीब साढे ४ अर्ब रुपैयाँ दाबी भुक्तानी भएको थियो । चालू आर्थिक वर्षको ६ महीनामा १ अर्ब ८० करोड रुपैयाँ दाबी भुक्तानी भएको छ । यसमध्ये मृत्यु दाबीतर्फ ३ करोड १० लाख रुपैयाँ भुक्तानी भएको छ । मृत्यु दाबी एकदम कम पर्नुको अर्थ हाम्रो कार्यसम्पादन राम्रो भएर पनि हो । संस्थानमा लगानीयोग्य रकम कति छ ? अहिलेको स्थितिमा संस्थानको लगानीयोग्य रकम ४५ अर्ब रुपैयाँ छ । हरेक वर्ष यसमा करीब ५ अर्ब रुपैयाँ बढिरहेको छ । अहिले बैंकले ब्याज पनि धेरै दिइरहेको छ । यसले गर्दा संस्थानको राम्रै आम्दानी भइरहेको छ । बीमितलाई शेयरको व्यवस्था गर्नुपर्छ भन्ने तपाईंको मान्यता देखिन्छ । त्यो किन हो ? जीवन बीमा कम्पनीले ५ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्‍याउनैपर्ने बीमा प्राधिकरणको निर्णय कार्यान्वयन गर्न हामीले संस्थापक शेयर ७० प्रतिशत र सर्वसाधारण शेयर ३० प्रतिशत गर्ने व्यवस्था गरेका छौं । सर्वसाधारण शेयरमध्ये ५ प्रतिशत कम्पनीका कर्मचारीलाई र केही प्रतिशत बीमितलाई दिनु उपयुक्त हुन्छ भन्ने मेरो मान्यता हो । यसबाट हाम्रो बीमालेखप्रति मानिसको आकर्षण बढ्छ । बीमितलाई शेयर दिँदा व्यवसाय तथा सरकारको राजस्व बढ्ने र बीमाको दायरा फराकिलो हुने देखिन्छ । संस्थानले आफ्नो व्यवसायका अतिरिक्त के कस्ता कार्य गरिरहेको छ ? बीमा संस्थानले व्यवसायका अतिरिक्त परोपकारी संस्थाका लागि सहयोग गर्दै आएको छ । हामीले अनाथ बालबालिकाका लागि खाद्यान्न वितरण गर्‍यौं । हामीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोग गर्दै आएका छौं । यस प्रकारका परोपकारी कार्यक्रम निरन्तर चलिरहेका हुन्छन् ।

नेपाल टी–२० लिगका बाँकी दुई टोली घोषणा

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौंमा हुने नेपाल टी–२० लिगका थप दुई टोली घोषणा भएका छन्।क्यानले बिहीबार पत्रकार सम्मेलन गर्दै पोखरा एभेन्चर्स र फार वेस्टर्न युनाइटेडको नाम सार्वजनिक गरेको हो। सार्वजनिक गरिएको टोलीमा पोखरा एभेन्चर्सको अध्यक्षमा पोस्टराज ज्ञवाली, निर्देशकमा सुवोध त्रिपाठी र सिइओमा अतिशा ज्ञवाली रहेका छन् भने फार वेस्टर्न युनाइटेडको इङ्ल्याण्डको एस आर स्पोर्ट्स एण्ड भेन्चर्स, चार्टर्ड एकाउन्टेन्ट रुपिन्दर बग्गा रहेकी छिन्।कार्यक्

मुलुकको अर्थतन्त्र आत्तिहाल्नु पर्ने अवस्थामा छैन, केहि समय धैर्य गरौं : गभर्नर

वैशाख २१, काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र आत्तिहाल्नु पर्ने अवस्थामा नभएको बताएका छन् । साथै उनले अर्थतन्त्र रहे मात्रै व्यापारीहरुले व्यापार गर्न पाउने भएकाले केही समय सबैले धैर्य गर्नुपर्ने पनि बताएका छन् ।  बुधवार नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले चालू वर्षको मौद्रिक नीतिमार्फत निजी क्षेत्रमा जाने १९ प्रतिशतको कर्जा लक्ष्य पुरा नहुने बताए । बैंकिङ प्रणालीमा तरलता अभावको कारण ब्याजदरमा असर परेको भन्दै उनले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा समेत २ प्रतिशतले रेट बढाएको बताए । गभर्नर अधिकारीले व्यापार घाटा बढ्दै गएमा आयातका नीतिहरुमा सोच्नु पर्ने अवस्था भने रहेको बताए । उनले सरकारले आयातमा रोक लगाएको नीति सँधैको लागि नभएर छोटो समयको लागि भएको बताए ।  उनले आर्थिक वर्षको शुुरुवातमा कर्जा बिस्तार ३२ प्रतिशतसम्म पुगेको र बैकिङ प्रणालीमा तरलता अभावका कारण कर्जा विस्तार हुन नसकेको कारण निजी क्षेत्रमा जाने १९ प्रतिशतको कर्जा लक्ष्य पुरा नहुने बताए । उनले १९ प्रतिशतको कर्जा विस्तारको लक्ष्य पुरा गर्न थप २ खर्ब रुपैयाँ ऋण बैंकहरुले बिस्तार गर्नुपर्ने अवस्था रहेको पनि बताए ।  गभर्नर अधिकारीले बजारमा तरलता अभाव तथा अर्थतन्त्र चुनौती पूर्ण रहेकाले अवको दुई महीनामा २ खर्ब रुपैयाँ लगानी विस्तार हुन नसक्ने स्पष्ट पारे  । उनले मुलुकमा चालू आर्थिक वर्षमा अत्यधिक रुपमा आयात बढेकाले विदेशी मुद्रा सञ्चितिमा चाप परेको बताए ।  गभर्नर अधिकारीले बजारमा तरलता सहज बनाउनको लागि राष्ट्र बैंकले अहिलेसम्म एसएलएफ र अरु उपकरण प्रयोग गरेर झन्डै ६६ खर्ब रुपैयाँ प्रवाह गरेको बताए । अहिले अर्थतन्त्रमा देखिएको चुनौती आत्याधिक आयात,उच्च कर्जा विस्तार र बजारमा तरलतामा परको चापको कारण देखिएको उनको भनाइ छ । त्यस्तै,उनले विदेशबाट आउने रेमिटेन्स औपचारिक क्षेत्रबाट ल्याउने प्रयास गर्दा गर्दै पनि नसकिएको बताए । अनुदान तथा सहुलियत दिएर रेमिटेन्स बढाउने कुरा गरे पनि अहिले नेपाल जस्तै विदेशी मुलुक पनि विदेशी मुद्रा दिन नसक्ने अवस्थामा रहेकाले सोचे जस्तो रेमिटेन्स आउन नसक्ने उनको भनाइ छ । अहिले माल्दिभ्स, कतार र कोरियाले समेत विदेशी मुद्रा पठाउन नसक्ने अवस्थामा रहेकाले रेमिटेन्स भित्र्याउन नेपालले जति नै योजना बनाए पनि काम नगर्ने उनले बताए ।

परिस्थितिले ब्याजदर बढ्न सक्छ, सबै तयार रहनुपर्छ : गभर्नर अधिकारी

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले परिस्थितिवश् ब्याजदर थप बढ्न सक्ने संकेत गर्दै त्यसका लागि सबै तयार रहनुपर्ने बताएका छन् । बुधबार नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले बैंकिङ प्रणालीमा तरलता अभावको कारण व्याजदरमा असर परेको बताए । यसअघि बढाइएको २ प्रतिशत पोलिसी दर पनि पर्याप्त नभएजस्तो देखिएको उनले बताए ।

कर बुझाउने समय थप गर्न चार्टर्ड एकाउन्टेन्ट संघको अर्थमन्त्रीसँग आग्रह

काठमाडौं : कोभिड १९ लाई कारण देखाउँदै चार्टर्ड एकाउन्टेन्टहरुले आयकर विवरण बुझाउने म्याद तीन महिना थप गर्न सरकारसँग आग्रह गरेका छन्। अनुमानित आयकर पुस मसान्तसम्म बुझाउनुपर्ने व्यवस्था भए पनि कोभिड १९ का कारण चुनौती देखिएकाले चैत मसान्तसम्म हुनेगरी व्यवस्था मिलाउन आग्रह गरेका हुन्।  नेपाल चार्टर्ड एकाउन्टेन्ट संघका अध्यक्ष आनन्दराज