काठमाडौं । प्राथमिक बजारमा साउन ४ गतेदेखि प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यमै आईपीओ निष्कासन भएको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणमा जारी गरिने कुल शेयरको १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री खुला गरेको हो ।
सामान्यतया प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमै कम्पनीहरूले आईपीओ जारी गरिरहेको अवस्थामा बोर्डले यस कम्पनीलाई भने ५० रुपैयाँ अंकित मूल्यमै आईपीओ विक्री गर्न अनुमति दिएको हो । बोर्डले कम्पनीलाई १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ विक्री गर्न अनुमति दिएको हो ।
बोर्डका अध्यक्ष रमेश कुमार हमालले अन्य कम्पनीले जसरी नै १०० रुपैयाँ अंकित मूल्यमै आईपीओ निष्कासनका लागि शुरूमा निर्देशित गरे पनि सबैको सल्लाहबमोजिम ५० रुपैयाँमै आईपीओ निष्कासनको लागि अनुमति दिएको बताए । आगामी दिनमा कम्पनीले अंकित मूल्य १०० रुपैयाँ कायम गर्न चाहेमा गर्न सक्ने गरी अनुमति दिएको जानकारीसमेत हमालले गराए ।
धितोपत्र बजारको इतिहासमा यसअघि पनि प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्यमा सोल्टी होटलको आईपीओ जारी भएको विषयलाई जोड्दै बोर्डको सम्बन्धित विभागको सल्लाहबमोजिम हाथवे इन्भेष्टमेन्टलाई आईपीओ निष्कासनका लागि बाटो खुला गरेको भनाई हमालको छ । धितोपत्र बजारमा फरकपन चाहने लगानीकर्तालाई यस प्रक्रियाले थप उत्साहित गर्ने विश्वास अध्यक्ष हमालको छ ।
कम्पनी ऐनमा समेत पब्लिक कम्पनीको शेयरको अंकित मूूल्य प्रतिशेयर ५० रुपैयाँ वा १० अंकले भाग जाने सोभन्दा बढी अंकले हुन आउने गरी प्रबन्धपत्र तथा नियमावलीमा व्यवस्था भएबमोजिमको रकम बराबर हुने व्यवस्था छ ।
आईपीओ जारी गर्नुअघि कम्पनीको शेयर कारोबार ओटीसी बजारमा प्रतिकित्ता ८६ रुपैयाँमा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नै सञ्चालन गरिरहेको ओटीसी बजारमा यस कम्पनीको शेयर कारोबार गत जेठ २३ गते भएको तथ्यांक छ । ओटीसी बजारमा त्यस दिन कम्पनीको ३ लाख ५७ हजार २९५ कित्ता शेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
कम्पनीले सर्वसाधारणमा जारी गर्ने कुल कित्ता शेयरमध्ये पहिलो चरणमा १० प्रतिशत दरकोे २ लाख ९२ हजार ५०० कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री खुला गरेको हो । यीबाहेक कर्मचारीका लागि ५८ हजार ५०० कित्ता र १ लाख ४६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट हुनेछ ।
दोस्रो चरणमा सार्वजनिक निष्कासनमा भने कम्पनीले सर्वसाधारणमा २४ लाख २७ हजार ७५० कित्ता आईपीओ जारी गर्नेछ । हाल वैदेशिक रोजगारीमा रहेका नेपालीमा जारी भएको आईपीओ भने साउन १८ गतेसम्म विक्रीमा रहनेछ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ । कम्पनीको आईपीओ निष्कासनका लागि गराएको रेटिङमा ईक्रा नेपाल रेटिङ नेपालले मध्यम स्तरको क्रेडिट जोखिम रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ ।
२०६५ चैत १४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सोही मितिदेखि यो कम्पनी सञ्चालनमा छ । यस कम्पनीमा नेपालका ख्यातिप्राप्त युवा व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट लगायतका प्रबुद्ध व्यक्तिहरूको लगानी छ । यस कम्पनीले नेपालको पूँजीबजार र लगानीका अन्य क्षेत्रहरूमा लगानी गरी आफूलाई एक सफल कम्पनीको रूपमा उभ्याउन सफल भएको छ ।
हाल संस्थापक तर्फबाट चुक्ता भएको पू्ँजी १ अर्ब २ करोड ३७ लाख ५० हजार रुपैयाँ छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब १७ करोड कायम हुनेछ । संस्थापकतर्फ हाल ८७ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम छ ।