काठमाडौं। भर्खरै एसईईको नतिजा सार्वजनिक भएको छ । धेरैजसो विद्यार्थीलाई उच्च शिक्षामा के पढ्ने भन्ने अन्योल पनि उत्तिकै भएको पाइन्छ । करिअरको राम्रो सम्भावना भएका क्षेत्र धेरै छन् । तीमध्ये सूचनाप्रविधि अर्थात् आईटी पनि हो । शिक्षा क्षेत्रका जानकारहरू भने अबको भविष्य आईटी भएकाले सोही विषय पढ्न सुझाउँछन् ।
एसईईमा ३ दशमलव ७ जीपीए ल्याएका चितवनका रमेश घिमिरे कक्षा १२ पछि आईटी पढ्ने सोचले काठमाडौं आएका छन् । घिमिरे हाल ब्रिज कोर्सको तयारीमा छन् । ‘आईटीमा भविष्य राम्रो हुन्छ भनेर सबैले भन्नुभयो । त्यसैले कक्षा ११–१२ मा विज्ञान विषय पढेर अब ब्याचलरमा आईटी पढ्ने सोच बनाएको छु,’ उनले भने ।
नेपालमा पछिल्लो समय आईटी कलेजहरूमा विभिन्न विषय पढ्ने विद्यार्थीको संख्या बढ्दो छ । आईटी पढ्दापढ्दै काम गर्न पाइने र उच्च शिक्षा प्राप्त गरेपछि झनै राम्रो अवसर पाइने भएकाले यस क्षेत्रमा विद्यार्थीको आकर्षण बढेको सरोकारवालाहरू बताउँछन् । अहिले नेपालमा आईटीको उच्च शिक्षा प्राप्त गरिसकेका र अध्ययनरत विद्यार्थीले घरमै बसेर राष्ट्रिय साथै अन्तरराष्ट्रिय कम्पनीमा काम गरिरहेका छन् ।
डेटा इन्ट्रीबाटै विद्यार्थीले राम्रो कमाइ गर्न सक्छन् : दुवाडी
न्यू समिट कलेजका प्राचार्य चोकराज दुवाडी आईटी पढेका विद्यार्थीले नेपालमा डेटा इन्ट्रीबाटै अधिकृतको भन्दा राम्रो कमाइ गर्न सक्ने बताउँछन् । ‘१०/१२ वर्ष अगाडि आईटीमा विद्यार्थीलाई इन्टर्न पाउन पनि मुश्किल थियो । अहिले भने प्रत्येक स्थानीय तहदेखि सानासाना कम्पनीमा पनि आईटीका विद्यार्थीलाई अवसर नै अवसर छ,’ उनले भने ।
आईटीका विद्यार्थीले मुलुकभित्रका कम्पनीको मात्र नभएर बाहिरका कम्पनीमा पनि काम गर्दै आएका दुवाडी बताउँछन् । उनका अनुसार आईटीका विद्यार्थीले कलेज पढ्दा पढ्दै कलेजमा लाग्ने खर्च पनि विभिन्न प्रोजेक्टमा काम गरेर जुटाउन सक्छन् । ‘आईटीका विद्यार्थीले कलेजमा भर्ना भएको केही महीनामा डेटा इन्ट्री, फोटोशप, डिजाइनिङलगायत सानासाना काम गरेरै मासिक १० हजारदेखि १५ हजार कमाउन सक्छन्,’ उनले भने, ‘ब्याचलर पढिसकेपछि नेपालमै १ लाखदेखि डेढ लाख रुपैयाँसम्म कमाउने विद्यार्थी धेरै छन् ।’
‘आईटी पढेर विदेशको काम नेपालबाटै गर्न सकिन्छ’
अम्निल टेक्नोलोजीकी सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अलिशा श्रेष्ठ नेपालमा आईटी पढेर पनि विदेशका प्रोजेक्टमा काम गर्न सकिने बताउँछिन् । अम्निलले पनि ७० प्रतिशत नेपालका र बाँकी सिंगापुर, अमेरिका, अष्ट्रेलिया, बेलायतलगायत मुलुकका प्रोजेक्टमा काम गर्दै आएको उनको भनाइ छ ।
‘हामीले अहिले क्विक फक्स टेक्नोलोजी भन्ने कम्पनी स्थापना गरेर अमेरिकी बजारलाई लक्षित गरी काम थालेका छौं,’ उनले भनिन् । नेपालमा आईटी जनशक्तिको ठूलो माग रहेकाले यो विषय पढेका विद्यार्थीका लागि अवसर नै अवसर भएको उनी बताउँछिन् । ‘अहिले विदेश जाने र विदेशमै काम गर्न जाने प्रचलन बढ्दो छ । तर, आईटीका विद्यार्थीले नेपालमै बसेर अम्निलले भैंm बाहिरका प्रोजेक्टमा पनि काम गर्न सक्छन्,’ उनले भनिन् ।
अबको शिक्षा नै आईटी हो : श्रेष्ठ
आईसीटी म्यानेजमेन्ट एक्सपर्ट हिमपाल श्रेष्ठ अबको शिक्षा नै आईटीको भएको बताउँछन् । ‘नेपालमा आईटी एउटा विधाको रूपमा र अर्को माध्यमको रूपमा विकास भइरहेको छ । दुईओटै स्रोतबाट हेर्दा आईटी शिक्षाको स्कोप बढेको पाइन्छ,’ उनले भने ।
श्रेष्ठका अनुसार गतवर्ष मात्र नेपालले आईटी सर्भिस र फ्रिल्यान्सिङ निर्यात गरेर ५५० मिलियन डलर भित्त्याएको छ । श्रेष्ठका अनुसार आईटी पढेका विद्यार्थीका लागि ठूलो अवसर छन् । साथै आईटी क्षेत्र राज्यलाई पनि आयस्रोतको राम्रो माध्यम बन्न सक्ने उनी बताउँछन् ।
नेपालमा आईटी जनशक्तिको माग पनि बढ्दै गएको श्रेष्ठको भनाइ छ । ‘अन्य शिक्षाको तुलनामा आईटी पढ्न खर्च पनि धेरै लाग्दैन,’ उनले भने । उनका अनुसार नेपालमा पाटन कलेज, अस्कल कलेजजस्ता सरकारी शिक्षण संस्थादेखि लर्ड बुद्ध कलेज, सफ्टवेरिका कलेज, किङ्स कलेजलगायतले विदेशी विश्वविद्यालयका गुणस्तरीय आईटी शिक्षा दिँदै आएका छन् । उनका अनुसार १५–२० वर्षदेखि आईटी शिक्षा पढाउँदै आएका कलेजले बाहिरको पाठ्यक्रम नेपालमै उपलब्ध गराइरहेका छन् ।
‘डाक्टर, चार्टर्ड एकाउन्टेन्ट, अधिवक्तालगायत पेशाकर्मीको जस्तै आईटी क्षेत्रमा लागेकाहरूको एउटा एकेडेमिक काउन्सिल आवश्यक छ,’ उनले भने, ‘आईटी शिक्षामै विभिन्न विधाहरू विकास भइरहेको छ । त्यसैले यस क्षेत्रलाई थप व्यवस्थित गर्न सरकारले छुट्टै काउन्सिल बनाउन पहल पनि गरिरहेको छ । तर त्यस्तो काउन्सिल मन्त्रालयअन्तर्गत नभई स्वायत्त हुनुपर्छ ।’
नेपालमा पछिल्लो समय आईटी कलेजमा विभिन्न विषय पढ्ने विद्यार्थीको संख्या बढ्दो छ । आईटीको उच्च शिक्षा प्राप्त गरिसकेका र अध्ययनरत विद्यार्थीले घरमै बसेर राष्ट्रिय साथै अन्तरराष्ट्रिय कम्पनीमा काम गरिरहेका छन् ।
नेपालका आईटी कलेज
कम्प्युटर र सूचनाप्रविधिको डिग्री अहिले विश्वव्यापी रूपमा सान्दर्भिक र सम्मानित रहेको छ । यो विषयमा ३ देखि ४ वर्षको पढाइ हुन्छ, जसमा विद्यार्थीले वेब डिजाइन, प्रोग्रामिङ, कम्प्युटर नेटवर्क, कोडिङजस्ता विभिन्न विषयमा ज्ञान र क्षमता प्राप्त गर्छन् । नेपालमा पनि पछिल्लो समय आईटी कलेज धेरै छन् । नेपाली मात्रै नभएर विदेशी मान्यताप्राप्त कलेजले पनि आईटीका कोर्स १५–२० वर्षबाट पढाउँदै आएका छन् । अहिले आईटी कोर्सहरूमा विविधीकरण आएसँगै प्लस टुमा जुनै विषयमा पढेकाले पनि आईटी पढ्न पाइने प्रावधान छ ।
आईसीटी म्यानेजमेन्ट एक्सपर्ट श्रेष्ठ इन्जिनीयरिङ कलेजमा पनि आईटीप्रति आकर्षण बढेको बताउँछन् । यस्तै हाल नेपालमा मानविकीका विद्यार्थीले पनि बीसीए, एजुकेशनकाले बीएड आईटी, विज्ञान पढेकाले बीएससी सीएसआईटी र म्यानेजमेन्ट पढेकाले बीआईएम पढ्न पाउँछन् ।
‘अहिले स्कूलमा पनि व्यावहारिक रूपमा आईटी शिक्षाको पढाइ बढेको देखिन्छ,’ उनले भने, ‘कोभिडपछि विद्यालय तहमै पढाइमा आईटीका विभिन्न आयाम कसरी प्रयोग गर्ने भन्नेबारे पढाइ शुरू भएको छ ।’ आउने दिनहरूमा अन्य मुलुकमा भैंm नेपालमा पनि स्वास्थ्य, कानूनलगायत विविध क्षेत्रमा आईटीको कोर्स शुरू हुने श्रेष्ठ बताउँछन् ।
नेपालमा आईटी पाठ्यक्रमहरू प्रदान गर्ने धेरै कलेज छन् । तिनीहरू प्रतिस्पर्धात्मक र आकर्षक छन् । स्नातक स्तरका केही महत्त्वपूर्ण कार्यक्रम बीसीए, कम्प्युटर इन्जिनीयरिङमा स्नातक (बिई), कम्प्युटर सूचना प्रणालीको स्नातक (बीई), बीएससी सीएसआईटी, ब्याचलर अफ बिजनेश इन्फर्मेशन सिस्टम, सूचनाप्रविधिमा स्नातक लगायत रहेका छन् । नेपालका विश्वविद्यालयहरू सम्बद्ध आईटी कलेजहरूले व्यवस्थापन संकाय, विज्ञान संकाय र मानविकी संकायअन्तर्गत विभिन्न डिग्री प्रदान गर्दै आएका छन् । केही विदेशी विश्वविद्यालयले पनि नेपालमा आईटीअन्तर्गतका विभिन्न डिग्री प्रदान गर्दै आएका छन् ।
नेपालमा दिव्य ज्ञान कलेज, अर्किड इन्टरनेशनल कलेज, थेम्स इन्टरनेशनल कलेज, पद्मश्री अन्तरराष्ट्रिय कलेज, आएसएटी कलेज, ब्रिटिश कलेज, इस्लिङटन कलेज, कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फर्मेशन टेक्नोलोजी, कान्तिपुर सिटी कलेज, क्याथफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनीयरिङ एन्ड म्यानेजमेन्ट, आदिम नेशनल कलेज, नेपाल कलेज अफ इन्फर्मेशन टेक्नोलोजी, कलेज अफ इन्फर्मेशन टेक्नोलोजी एन्ड इन्जिनीयरिङ, किस्ट कलेजलगायतमा आईटीका विभिन्न कार्यक्रम पढाइ हुने गरेका छन् ।
आईटीका विद्यार्थीका अनुभव
कक्षा ११–१२ मा म्यानेजमेन्ट पढेर ब्याचलरमा आईटी पढेका अमीर रेग्मी अहिले महीनाको लाखौं कमाउँछन् । उनले आफ्नो कार्यालयको काम घरमै बसेर गर्दै आएका छन् । सानैदेखि प्रविधिमा रुचि राख्ने उनी आईटी क्षेत्रमा भविष्य बनाउने सोचले यो विषय पढेको बताउँछन् । ‘आईटी पढ्नेलाई नेपालमै पनि प्रशस्त अवसर छन् । आईटी पढेर कोही पनि बेरोजगार बस्नु पर्दैन ।
अहिले मैले दुईओटा काम गरिरहेको छु, जसबाट महीनाको डेढ लाखदेखि २ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ,’ उनले भने ।
नेपालमा अहिले ई–सेवा, खल्ती, दराज, सस्तो डिललगायत विभिन्न आईटी तथा ई–कमर्श कम्पनी सञ्चालनमा छन् । त्यसैले आउने दिनमा आईटी क्षेत्र थप विस्तार हुने भएकाले आईटी पढेका विद्यार्थीले नेपालमै राम्रो भविष्य बनाउन सक्ने रेग्मी बताउँछन् । ‘मेरो पनि कक्षा १२ पछि विदेश गएर मनग्गे कमाउने सोच थियो । तर, अहिले यहीँ विदेशको भन्दा राम्रो पैसा कमाइरहेको छु । मैले यहाँ बसेरै विदेशका कम्पनीमा पनि काम गरेको छु,’ उनले भने ।
यस्तै कक्षा ११–१२ मा विज्ञान पढेर पछि आईटी पढेका सुनील यादवले नेपालमै बसेर बाहिरका काम गरिरहेका छन् । आफूले अमेरिकी आईटी कम्पनीमा कोडिङ र प्रोग्रामिङको काम गरेको उनी बताउँछन् । त्यसबाहेक उनले वेबसाइट बनाउने, डिजाइन गर्नेजस्ता फ्रिल्यान्सिङका काम पनि गरिरहेका छन् ।
‘आईटीमा अहिले नेपालमै पनि धेरै काम पाइन्छन् । मलाई धेरै नेपाली कम्पनीले कामका लागि अप्रोच गर्छन् । कोभिडपछि सबैजसो कम्पनी र संघसंस्थाले डिजिटलाइजेशनमा जोड दिएकाले रोजगारीका प्रशस्त अवसर छन्,’ उनले भने, ‘अहिले बैंक खातादेखि पानी, बिजुलीलगायत सेवाको शुल्क भुक्तानीका काम डिजिटलाइज्ड भएका छन् । यस्ता क्षेत्र धेरै भएकाले आईटी पढेका जनशक्तिका लागि अवसरको कमी नै छैन ।’
पढाइका लागि विदेशिने बढे
नेपालबाट उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको संख्या बढ्दो छ । हाल धेरैजसो विद्यार्थी कक्षा ११–१२ को पढाइपछि विदेशिन चाहन्छन् । यसमा कतिपयले राम्रो शिक्षा र केहीले राम्रो कमाइको अपेक्षा गरेका हुन्छन् । यस्तै केही विद्यार्थी एसईईपछि पनि पढ्न विदेश जाने गरेको पाइन्छ ।
वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार चालू आर्थिक वर्षको साउनदेखि असार ११ गतेसम्म १ लाख ५ हजार ९२ जना विद्यार्थीले देशबाहिर पढ्न जान वैदेशिक अध्ययन अनुमतिपत्र लिएका छन् । नेपालबाट विदेश पढ्न जान अहिले दैनिक २०० देखि ७०० जनाले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिने गरेका छन् ।
एनओसी लिने सबैभन्दा धेरै विद्यार्थी अष्ट्रेलिया जाने रहेका छन् । उक्त अवधिमा अष्ट्रेलिया पढ्न जान मात्रै ३३ हजार ५३२ जना विद्यार्थीले एनओसी लिएका छन् । दोस्रोमा जापान जान अनुमतिपत्र लिनेको संख्या २० हजार ९८९ रहेको छ । यसैगरी क्यानडा पढ्न जाने २० हजार १०७ र संयुक्त अधिराज्य (यूके) पढ्न जानेको संख्या ९ हजार ६८१ रहेको छ । शाखाका अनुसार धेरैजसो विद्यार्थी कम्प्युटिङ, सूचना प्रविधि, डेटा साइन्सलगायत अध्ययनका लागि विदेशिने गरेका छन् ।
अध्ययनका लागि विदेश जाने विद्यार्थी नेपालमा उच्च शिक्षा गुणस्तरीय शिक्षा नभएको बताउँछन् । तर, शिक्षाविद्हरू यो पूर्णरूपमा स्वीकार्दैनन् । उनीहरूका अनुसार धेरैजसो विद्यार्थी पढाइभन्दा पनि कमाउन विदेशिने गरेका छन् । कतिपय भने स्वदेशमा रोजगारी अभावले पढाइको नाममा विदेश जाने र उता गइसकेपछि पढ्दै काम गर्ने गरेको उनीहरू बताउँछन् ।
प्राडा विद्यानाथ कोइराला नेपालमा पाठ्यक्रमभन्दा अतिरिक्त पढाइ नहुने, समयमा स्कूल/कलेज नखुल्ने, समयमै परीक्षा नहुने जस्ता समस्याले पनि विद्यार्थीहरू विदेशिने रहेको बताउँछन् । कुनै पनि राजनीतिक विषयले विद्यार्थीको शिक्षामा असर पार्न नहुनेमा उनी जोड दिन्छन् ।
‘एसईईपछि विद्यार्थीहरू ए लेभल, सीडीएससीजस्ता कोर्स पढ्न चाहन्छन्, किनभने ती व्यावहारिक कोर्सलाई संसारका सबै विश्वविद्यालयले प्राथमिकता दिएका छन्,’ उनले भने, ‘यसले गर्दा पनि विद्यार्थीहरू पढ्न यूरोप, अमेरिका जस्ता मुलुक जाने इच्छा गर्छन् । हामीले पढिरहेको ज्ञान प्रयोगात्मक रूपमा पनि आत्मसात् गर्नुपर्छ । विद्यार्थीलाई पढाइरहेको कुरा व्यावहारिक प्रयोजनमा आउनुपर्छ ।’ नेपालमा पनि अहिले यस्तो अभ्यास कम रहेको उनको बुझाइ छ ।
विदेशमा गएर पढेपछि सामान्यतया त्यहाँ जागीरका लागि समस्या हुँदैन । तर, नेपालमा रोजगारीका अवसर कम हुने भएकाले स्नातक वा स्नातकोत्तर पढ्न विद्यार्थी विदेशिने गरेको विज्ञहरू बताउँछन् । नेपालमा हुने पढाइको सम्बन्धमा विद्यार्थीका लागि राम्रो काउन्सिलिङको अभाव समेत रहेको उनीहरूको ठम्याइ छ । आईटी क्षेत्रका जानकारहरू भने यो विषय पढेकाहरूले नेपालमा काम नै नपाए पनि विदेशका कम्पनीमा पर्याप्त अवसर पाउने बताउँछन् । नेपालमै बसेर विश्वका कुनै पनि मुलुकको कम्पनीमा काम गर्न सक्ने भएकाले जागीरको अभाव नहुने दाबी उनीहरूको छ ।
नेपालमा आईटी पढेका विद्यार्थीले गूगल, माइक्रोसफ्ट, एप्पललगायत ठूला सूचनाप्रविधि कम्पनीमा समेत काम गरिरहेको आईसीटी म्यानेजमेन्ट एक्सपर्ट श्रेष्ठ बताउँछन् । ‘नेपालमा शिक्षाको गुणस्तर नै कम छ भन्ने होइन,’ उनले भने, ‘यहाँ पढेका विद्यार्थीले विश्वको ठूलाठूला कम्पनीमा काम गरिरहेका छन् । नेपालको पढाइ पनि गुणस्तरीय छ भन्ने प्रमाण हो यो । केही विश्वविद्यालयमा कोर्स अपडेट नभएको हुन सक्छ । यस्तै केही कलेजमा समस्या हुन सक्छन् । तर, आईटी शिक्षाको गुणस्तर नै कम छ भन्नु गलत हुन्छ । नेपालमै आईटी पढ्ने विद्यार्थीलाई पनि पर्याप्त विकल्प र अवसर छन् ।’