म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले सुन्तला बिक्रीबाट यो वर्ष ५० लाखभन्दा बढी रकम भित्र्याएका छन् ।
व्यावसायिक सुन्तला खेती गर्दै आएका दोसल्लेका किसानले उत्पादित सुन्तला बिक्रीबाट यो वर्ष ५० लाखभन्दा बढी रकम भित्र्याएका हुन् । पोखरा, चितवन र काठमाडौंबाट आएका व्यापारीले बगैंचाबाटै प्रतिकिलो सरदर रु ८० का दरले सुन्तला खरिद गरेका हुन् ।
दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजाले ६२ हजार ५०० किलो सुन्तला निकासी हुँदा ५० लाख गाउँमा भित्रिएको जानकारी दिए ।
‘गत वर्ष २५ लाख बराबरको सुन्तला बिक्री भएको थियो’, उनले भने, ‘नयाँ बिरुवा थपिएका, रोगकिराको समस्या कम र अनुकूल मौसमका कारण उत्पादन दोब्बरले बढ्यो ।’ विगतका वर्ष मंसिरमै सुन्तला बिक्री गरिसकेका हुन्थे । यसपालि बढी मूल्य पार्न यहाँका किसानले पुस अन्तिम सातादेखि सुन्तला टिपेर बजार पठाउन थालेका छन् ।
एक किसानले ३० हजारदेखि २ लाख ३० हजारसम्मको सुन्तला बिक्री गरेको समूहले जनाएको छ । व्यापारीसँग समन्वय गरेर सुन्तला बजार पठाउन समूहले समन्वय गरेको थियो ।
५७ घरधुरीको बसोबास रहेको दोसल्ले गाउँभरि सुन्तला खेती भएको छ । १५ हजार बोटमध्ये करिब ५ हजार बोटबाट उत्पादन हुन थालेको छ । परम्परागत कोदो, मकै र गहुँ खेतीको विकल्पमा सुन्तला खेती गरेको किसान खगप्रसाद पाइजाले बताए । वर्षमा तीन मुरी कोदो फल्ने बारीमा लगाएको सुन्तलाबाट ५० हजारभन्दा बढी आम्दानी भएको उनले जानकारी दिए ।
सडक यातायातको सुविधा भएपछि स्थानीयले बाँझिएका पाखोबारीका झाडी फाँडेर सुन्तलाका बिरुवा रोप्ने अभियान चलाएका छन् ।
१० वर्षअघि स्थानीय मिलन गर्बुजाको अगुवाइमा दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान सुरु भएको थियो । भीरालो पाखोमा अवस्थित दोसल्लेको भूगोल सुन्तला खेतीका लागि अनुकूल रहेको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले बताए ।
दोसल्लेमा सुन्तला खेती विस्तारका लागि नयाँ बिरुवा वितरण, किसानलाई बगैंचा र किरा व्यवस्थापनसम्बन्धी स्थलगत तालिममा सहयोग गरिएको उनले जानकारी दिए ।
बेमौसममा सुन्तला बिक्री गर्न दोसल्लेमा तत्कालीन कृषि विकास कार्यालयको सहयोगमा सुन्तला भण्डारगृहको भवनसमेत निर्माण भएको थियो । दोसल्लेका बासिन्दासमेत रहेकी अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष केशमाया मगरले सिँचाइ सुविधा र थप जमिनमा सुन्तला खेती विस्तारमा जोड दिइएको बताइन् । रासस