साउन २४, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा गत आवमा ५० दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीले रू. ३ करोड ४३ लाख २४ हजार खुद नाफा आर्जन गरेको उक्त कम्पनीले गत आवमा वृद्धि गरेर रू. ५ करोड १८ लाख २५ हजार कमाएको छ ।
गत आवमा खुद ब्याज आम्दानीमा वृद्धि भएको र रू.६ करोड १३ लाख ६८ हजार खराब कर्जा उठाएकाले कम्पनीको नाफामा बढ्न टेवा पुगेको हो । गत आवमा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छ्ट्याएका कारण सञ्चालन नाफा ऋणात्मक रहेको छ ।
कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ६ करोड २७ लाख २१ हजार छ्ट्याएको छ । चुक्तापूँजी रू. ८ करोड २१ लाख ८ हजार रहेको कम्पनीले जगेडा कोषमा रू. ९ करोड ३६ लाख ९४ हजार सञ्चित गरेको छ ।
कम्पनीले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेसँगै प्रक्रिया अगाडि बढाएको हो ।
कम्पनीले ३ लाख ९५ हजार ३३५ दशमलव ९७ कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । सो सम्बन्धमा लघुवित्त र क्यापिटल बीच आईपीओ निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भइसकेको छ ।
आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिई स्वीकृती पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।