असोज २२, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्न केयर रेटिङ नेपालमा रेटिङ गराएको छ ।
केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको हो । यस्तो रेटिङले कम्पनीको आधारभुत अवस्था मध्यम जोखिम रहेको देखाउँछ ।
कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गर्नका लागि असोज ११ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ५० दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा रू. ३ करोड ४३ लाख २४ हजार खुद नाफा आर्जन गरेको उक्त कम्पनीले गत आवमा रू. ५ करोड १८ लाख २५ हजार नाफा गरेको हो ।
गत आवमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र रू.६ करोड १३ लाख ६८ हजार खराब कर्जा उठाएकाले नाफा बढ्नमा टेवा पुगेको हो । गत आवमा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छ्ट्याएका कारण सञ्चालन नाफा भने ऋणात्मक रहेको छ ।
कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ६ करोड २७ लाख २१ हजार छ्ट्याएको हो । चुक्तापूँजी रू. ८ करोड २१ लाख ८ हजार रहेको कम्पनीले जगेडामा रू. ९ करोड ३६ लाख ९४ हजार सञ्चित गरेको छ ।