काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले म्यान्मारले सेनाले ‘कू’ गरी सत्ता हातमा लिएको घटनाप्रति आपत्ति जनाएको छ ।
महामन्त्री मोहनविक्रम सिंहले मंगलबार वक्तव्य प्रकाशित गरी ‘कुनै पनि बहानामा सत्ता हातमा लिने सेनाको उक्त कदम लोकतन्त्र र जनअधिकारमाथिको कुठाराघात’ भएको बताउनुभएको छ ।
वक्तव्यमा त्यहाँका नेताहरुमाथि भएको धरपकड र गिरफ्तारीको निन्दा गर्दै उनीहरुको तुरुन्त रिहाई तथा लोकतन्त्र बहालीका लागि अपिल गरिएको छ ।
यस्तो छ वक्तव्य
जननिर्वाचित सरकार विरूद्ध ‘कू’ गरी शासनसत्ता हातमा लिने म्यानमारको सेनाको कदमलाई नेपाल कम्युनिस्ट पार्टी(मसाल)ले कडा शब्दमा विरोध र भ्रत्र्सना गर्दछ । गत नोभेम्बरमा भएको निर्वाचनमा त्यहाँकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीको दलले बहुमत ल्याएको थियो । त्यसरी जनताद्वारा निर्वाचित भएको सरकार र संसदका विरूद्ध ‘कू’ गरेर अहिले कुनै पनि बहानामा सत्ता हातमा लिने सेनाको उक्त कदम लोकतन्त्र र जनअधिकारमाथिको कुठाराघात हो । ‘कू’ सँगै आङ सान सुची सहित बिभिन्न राजनीतिक कार्यकर्ता तथा नेतामाथि भएको व्यापक गिरफ्तारी र धरपकडको निन्दा गर्दछौँ । हामीले उनीहरू सबैको तुरुन्त रिहाइको माग गर्दै म्यानमारमा लोकतन्त्र बहालीका लागि जोड दिन्छौँ ।