म्यानमार घटनाबारे प्रगतिशील लेखक संघको विरोध

काठमाडौँ । प्रगतिशील लेखक सङ्घले म्यानमारमा हालै भएको सैनिक कूको विरोध गरेको छ । प्रलेसका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरी र महासचिव समीर सिंहको हस्ताषरमा २०७७ माघ १९ गते जारी प्रेसवक्तव्यमा म्यानमार घटनाको विरोध गरिएको हो । म्यानमार प्रजातान्त्रिक आन्दोलनको समर्थनमा विश्वव्यापी रूपमा चल्ने आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ– “म्यानमारमा सैनिक ‘कू’ गरी सङ्कटकाल घोषणा गरिएको अप्रजातान्त्रिक कदमप्रति प्रगतिशील लेखक सङ्घको ध्यानाकर्षण भएको छ । जनताको मतलाई सम्मान गर्दै विश्वव्यापी रूपमा प्रजातान्त्रिक अभ्यासलाई अझ सशक्त पार्दै जानुपर्नेमा म्यानमारमा प्रजातन्त्रको हत्या गर्ने कार्य भएको छ । राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकी र सुकीको पार्टी नेसनल लिग फर डेमाक्रेसीका वरिष्ठ नेताहरूलाई गिरफ्तार गरी सेनाद्वारा सत्ता कब्जा गरिएको छ । प्रजातन्त्रवादी नेत्री सुकीले सेनाको उक्त घटनाको प्रतिरोध गर्न आम जनतासँग आह्वान गरेकी छिन् । अहिले विश्वव्यापी रूपमा म्यानमारको सैनिक ‘कू’ को विरोध गरिरहेको सन्दर्भमा प्रगतिशील लेखक सङ्घले पनि सो घटनाको भत्र्सना गर्दछ र म्यानमारको प्रजातान्त्रिक आन्दोलनको समर्थनमा विश्वव्यापी रूपमा चल्ने न्यायपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दछ ।”