अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रिय निकुञ्जको पर्यटन र सुरक्षा तथा जैविक विविधताको संरक्षण एकसाथ अघि बढाउनुपर्ने बताएका छन् । नेपालको प्रमुख पर्यटकीय गन्तव्यमा नै आरक्ष र निकुञ्ज बढी भएकाले पर्यटन र पर्यावरणलाई सँगै लैजानु आवश्यक छ । पर्यावरणमा क्षति पुग्दै गए दिगो पर्यटनमा समस्या आउन सक्छ । त्यस्तै निकुञ्ज र स्थानीयवासीबीचको द्वन्द्वलाई सम्बोधन गर्दै स्थानीयलाई पर्यटनको लाभ दिलाउन पनि आवश्यक छ । विसं. २०२९ सालमा जारी भएको निकुञ्ज ऐन निकै पुरानो भइसकेको छ । निकुञ्जमार्फत जैविक विविधताको संरक्षणमा नेपालले उल्लेख्य सफलता प्राप्त गरेको छ । तर, वन्यजन्तु बस्तीमा आउँदा स्थानीय बासिन्दालाई मर्का पर्ने गरेको छ । वन्यजन्तुले बालीनाली खाइदिने र यदाकदा मानिसमाथि आक्रमणसमेत गर्ने गरेकाले स्थानीयलाई निकुञ्जसँग जोड्न सकिएको छैन । निकुञ्ज र स्थानीयबीच दूरी बढाउने खालको गतिविधि हुनु हुँदैन । निकुञ्जले स्थानीयको जीवनशैलीमा सुधार ल्याउन सहयोग गरे निकुञ्जप्रति स्थानीयमा सकारात्मक सोच पैदा हुनेछ ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा सबैभन्दा बढी पर्यटकीय गतिविधि हुने गर्छ । यही संरक्षण क्षेत्रमा पदयात्रा मार्ग पर्छ । यसबाट स्थानीयले लाभ लिएको देखिन्छ । तर, यसको संरक्षण गर्न तथा पर्यावरण जोगाउन यहाँ व्यवसाय गर्नेले पर्याप्त ध्यान नदिएको देखिन्छ । खासगरी पदयात्रीहरूले प्लास्टिक तथा बोटलहरू फालेर प्रदूषित गरिरहेका छन् । यसमा ध्यान जानु जरुरी छ । नेपालको पर्यटन प्रकृतिमा निर्भर छ । त्यसो हुँदा प्राकृतिक सुन्दरता कायम गरेर पर्यटन गतिविधि अघि बढाउनुपर्छ । पर्यावरण र पर्यटनलाई सँगसँगै लैजान सके दिगो पर्यटनको आधार तयार हुन्छ । पर्यटकको संख्या बढी हुँदा सगरमाथादेखि तराईका निकुञ्जसम्म र माटोदेखि पानीसम्म प्रदूषित र फोहोर भएको छ । यसले पर्यटकका माझमा नकारात्मक सन्देश जान्छ । त्यसैले पर्यटन नीतिमा पर्यावरण पनि जोडिनुपर्छ । हुन त नेपालको पर्यटन नीतिले पर्यापर्यटनका विषय उठाएको छ । त्यसअनुसार केही नीति पनि लिएको देखिन्छ । तर, यसले बृहत् रूपमा सबै पक्षलाई सम्बोधन भने गर्न सकेको छैन । त्यस्तै यसको कार्यान्वयन पक्ष पनि निकै कमजोर छ । त्यसैले पर्यटनबाट प्राप्त राजस्वको परिचालन त्यही क्षेत्रको संरक्षण, संवद्र्धन तथा स्थानीयको आर्थिक सुधारका लागि खर्च हुनुपर्छ । केही पर्यटकीय क्षेत्रमा स्थानीय सरकारले पर्यटन शुल्कको रकम पाए पनि त्यसको उपयोग त्यसको संरक्षणमा नगरेको पनि पाइन्छ । यी समस्यालाई सम्बोधन गर्न सके निकुञ्ज र स्थानीय बासिन्दाबीच सुमधुर सम्बन्ध स्थापित हुन्छ र त्यहाँको पर्यटन दिगो बन्न सक्छ ।