काठमाडौं (अस) । रोयल इनफिल्ड मोटरसाइकललाई नेपालभर विक्रीको अनुमति दिइएको छ । नेपालका लागि रोयल इनफिल्डको आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रालिले उक्त बाइक नेपालभर विक्रीका लागि अनुमति पाएको हो । कम्पनीले आफ्नो विक्री, सर्भिस तथा सञ्जाल विस्तार शुरू गरिरहेकाले चाँडै नेपालभर विक्री गरिने जानकारी दिएको छ ।
कम्पनीले गुफीको नामबाट प्रख्यात प्रमोद श्रेष्ठलाई सम्मान समेत गरेको छ । उनलाई कम्पनीका कार्यकारी निर्देशक हर्ष संघईले सम्मान गरेका हुन् । श्रेष्ठ रोयल इनफिल्डको अनुभवी र सबैभन्दा खारिएको एकमात्र राइडर भएकाले सम्मान गरिएको कम्पनीले बताएको छ ।
उत्साही, साहसिक यात्रामा रुचि राख्ने श्रेष्ठले रोयल इनफिल्ड मोटरसाइकलबाट म्यान्मा, तिब्बत, भुटान र भारतको यात्रा गरिसकेका छन् । उनले सन् १९९५ मा रोयल इनफिल्ड ३५० सीसीको बाइकबाट २२ घण्टा २८ मिनेटमा पूर्वपश्चिम राजमार्गको यात्रा गरी कीर्तिमान कायम गरेका थिए ।
श्रेष्ठले यही अप्रिल २०२२ मा सगरमाथा आरोहणमा जाने तयारी गरेका छन् । सो अवसरमा ८ हजार ८४८ बालिकालाई बालविवाहविरुद्ध चेतना जगाउने अभियानको थालनीस्वरूप अल्फा अटोमोटिभ प्रालिले त्रिवेणी ग्रूपको कार्यालयमा एक कार्यक्रम आयोजना गरेको थियो ।