समुद्री सतहदेखि दुई हजार नौ सय २९ मिटर उचाइमा अवस्थित पर्यटकीय गन्तव्य रारालाई हिउँले छपक्कै ढाकेको छ । वरिपरि सेताम्य हिउँ, बीचमा निलो ताल, आइतबार राराको सौन्दर्य झनै खुलेको छ । शुक्रबारदेखि मौसममा परिवर्तन भइ शनिबारदेखि बर्षा सुरुवात भएसँगै रारामा ७ इन्च भन्दा बढी हिउँ जमेको छ ।फागुनको हिउँले गर्दा रारा कपास फुलेजस्तै देखिएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयकी रेन्जर हिमाली खत्रीले बताइन् । पर्यटकलाई स्वागत गर्न प्रकृतिले रारा ताल वरिपरि सेता कार्पेट बिछ्याएको उनको भनाइ छ । रारा ताल वरपर रहेका होटेल, निकुञ्जको कार्यालय र हुटु नेपाली सेनाको ब्यारेक हिउँले सेताम्य देखिएका छन् ।