असार २०, वासिङ्टन । लोकप्रिय भिडियो शेयरिङ एप टिकटकले अव तीन मिनेटसम्मका भिडियो पोस्ट गर्न मिल्ने सुविधा उपलब्ध गराउने भएको छ ।
कम्पनीका अनुसार यो सुविधा आगामी सातासम्ममा टिकटकका पारखीहरुले उपयोग गर्न पाउने छन् । हाल कम्पनीले १५ सेकेण्ड र अधिकतम एक मिनेटसम्मका भिडियोमात्र टिकटकमा पोस्ट गर्न सकिने सुविधा दिइरहेको छ ।
कम्पनीले अव यो सुविधालाई धेरैमा तीन मिनेटसम्मको बनाउने तयारी गरिरहेको छ । कम्पनीका प्रडक्ट म्यानेजर ड्रिउ किर्चहोफले यस्तो परिवर्तनले प्रयोगकर्ताको कथानक प्रस्तुति तथा मनोरञ्जनलाई थप सम्वृद्ध बनाउने बताएका छन् ।
सन् २०१८ मा लञ्च भएको टिकटकले आफूलाई युट्युबलगायतका अन्य प्रतिस्पर्धी प्लेटफर्मभन्दा फरक प्रस्तुति दिंदै आएको छ । धेरै प्रयोगकर्ताहरुले टिकटकमा केही समय थप होस् भन्ने इच्छा व्यक्त गरेकाले थप सुविधा प्रदान गरिएको टिकटकले बताएको छ।
तथापि कतिपयले भने लामो भिडियोहरु पोस्ट गर्न मिल्ने गरी परिवर्तन गर्दा टिकटकको लोकप्रियतामा नाटकीय गिरावट आउनुसक्ने भन्दै चेतावनी दिएका छन् ।
लामो भिडियोहरु पोस्ट गर्न मिल्ने अन्य थुप्रै लोकप्रिय प्लाटर्फमहरु विद्यमान रहेको अवस्थामा टिकटकलाई पनि त्यस्तै बनाउँदा त्यसले टिकटकको सफलता र लोकप्रियतालार्य फिक्का बनाउने उनीहरुको भनाइ छ । एजेन्सी