काठमाडौं । तीन वाणिज्य बैंकले ३८ लाख ९७ हजार ६८९ कित्ता संस्थापक शेयर विक्रीका लागि मंगलवार सूचना जारी गरेका छन् । प्रभु बैंक, सानिमा बैंक र कुमारी बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएका हुन् ।
कुल कित्तामध्ये प्रभु बैंकको २५ लाख ७ हजार ४२९ कित्ता, सानिमा बैंकको ११ लाख ८७ हजार १७३ कित्ता र कुमारी बैंकको २ लाख ३ हजार ८७ कित्ता रहेको छ । तीन वाणिज्य बैंकहरूमध्ये सानिमा बैंकले प्रतिकित्ता शेयर मूल्य रू. १५० तोकेको छ । सानिमा बैंकको शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
अन्य दुई बैंकको संस्थापक शेयर खरीदका लागि भने मूल्य र आवेदन कित्ता तोकिएको छैन । तीन ओटै बैंकको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।
प्रभु बैंकको शेयर खरीदका लागि केन्द्रीय कार्यालय बबरमहल, काठमाडौं, सानिमा बैंकको शेयर खरीदका लागि केन्द्रीय कार्यालय नक्साल, काठमाडौं र कुमारी बैंकको शेयर खरीदका लागि केन्द्रीय कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उल्लिखित शेयर विक्री गरिने जानकारी बैंकहरूले दिएका छन् ।