लघुवित्तका पिता युनुस खाँको सम्मानमा राष्ट्र उत्थान लघुवित्तको नयाँ शाखा ‘युनुस पोखरा’ सञ्चालनमा

चैत्र ७, काठमाडौं । लघुवित्तका पिता भनेर चिनिने बंगलादेशी प्रोफेसर मोहम्मद युनुस खाँको सम्मानमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले ‘युनस पोखरा’ शाखा सञ्चालनमा ल्याएको छ । बंगलादेशको ग्रामीण ट्रष्टका प्रबन्ध निर्देशक अब्दुल हेई खाँले उक्त शाखाको उद्घाटन गरेका छन् । ग्रामीण ट्रस्टको स्थापना युनुस खाँले गरेका थिए ।  खाँ बंगलादेशका प्रोफेसर, बैंकर, अर्थशास्त्री र सामाजिक अभियान्ता हुन् । उनी ग्रामीण ट्रस्टका अध्यक्षसमेत हुन् । ग्रामीण अर्थतन्त्रमा पुर्यााएको योगदानवापत उनले प्रतिष्ठित नोबेल पुरस्कार समेत पाएका थिए । पोखराको चौथेमा सञ्चालनमा आएको यो शाखा कम्पनीको ९९ औं शाखा रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुधीर प्रसाद लोहनीले जानकारी दिए । शाखाको उद्घाटन गर्दै अब्दुल हेई खाँले भने राष्ट्र उत्थानलाई चाहिने सबै सहयोग गर्न ट्रस्ट तयार रहेको बताए । उनले नेपाल रुरल डेभलपमेन्ट अर्गनाइजेशन (नेरुडो) सँगको दशकौं पुरानो सम्बन्धको वारेमा पनि चर्चा गरेका थिए । शाखा उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिका - १४ का अध्यक्ष प्रेम कार्की, नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश प्रुमख डा. रामशरण खरेललगायत उपस्थित रहेका थिए । कार्यक्रममा  राष्ट्र बैंक गण्डकी प्रदेश प्रमुख खरेलले राष्ट्र उत्थान लघुवित्तले ग्रामीण ट्रस्टसँग मिलेर विपन्न क्षेत्रको उत्थानका लागि गरेको कामको प्रशंसा गरेका थिए । यसैगरी कम्पनीका सीईओ लोहनीले लघुवित्तले गरेको कामको वारेमा चर्चा गरेका थिए । कम्पनीमा नेरुडो, प्रभु बैंक र राष्ट्रिय वाणिज्य बैंक संस्थापक शेयर धनी रहेका छन् । कम्पनीले  केही समय अघि मात्रै साढे ८ करोड रुपैयाँको आईपीओ सर्वसाधारणको लागि जारी गरिसकेको छ । उक्त शाखा सञ्चालनमा आएसँगै कम्पनीको शाखा संख्या ९९ ओटा पुगेको छ ।