अब लुम्बिनी प्रदेशका सबै कोरोना विशेष अस्पतालहरुमा प्लाज्मा थेरापीका लागि रगत संकलन हुनेभएको छ । यो प्रदेशमा चार वटा त्यस्ता अस्पतालहरु छन् ।
प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रको शुक्रबार बुटवलमा बसेको बैठकले यस्तो ब्यवस्था गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रको बैठकले लक्षण देखिएका शंकास्पद विरामीहरुको निःशुल्क पिसीआर परीक्षणको व्यवस्था गर्ने लगायतका निर्णयहरु समेत गरेको छ । त्यस्ता बिरामीहरुलाई अनिवार्य परीक्षणको दायरामा ल्याउने र आफ्नै खर्चमा आफ्नो सुरक्षाको लागि परीक्षण गर्न चाहने व्यक्तिलाई सःशुल्क परीक्षणको व्यवस्था गर्ने समेत निर्णय भएको छ ।
त्यस्तै बैठकले सबै कोभिड विशेष अस्पतालमा बिशेष क्षमता विस्तार गर्ने, लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखाना कोभिड विशेष अस्पतालमा अघिल्लो निर्णयानुसार तत्काल आईसियु र हाईडिपेन्डसी युनिट सेवा विस्तार गर्ने, अन्य सबै जिल्ला अस्पतालहरुमा अन्य सेवा प्रभावित नहुनेगरि पाँच बेडसम्म क्षमताको हाईडिपेन्डसी युनिट सेवा संचालन गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तो सेवा स्थापना गर्दा लाग्ने खर्च केन्द्र सरकारबाट प्राप्त भएको सहयोग र अनुदानलाई परिचालन गर्ने तथा नपुग रकम प्रदेश सरकारसंग माग गर्ने गरि तत्काल व्यवस्था मिलाईने भएको छ ।