यसपालि तरकारीको भाउ अत्यधिक सस्तो भएको छ । बन्दा र काउली डेढ रुपैयाँ प्रतिकिलोमा पनि नबिकेर निराश भएका किसानहरूले उत्पादनलाई बारीमा नै कुहिन दिनेसम्मको बाध्यता भोगेका समाचारहरू लगातार आइरहेका छन् । धेरै जिल्लामा आलुको उत्पादन पनि उल्लेख्य मात्रमा बढेको छ । तर, अहिलेकै भाउमा उत्पादनहरू विक्री गर्दा किसानको लगानीको सानो हिस्सा पनि नउठ्ने अवस्था आउनु सुखद पक्ष होइन ।
यिनै तरकारीहरूको भाउ एक महिना, कहिलेकाहीँ त एक हप्ता पनि नबित्दै पुनः कैयौं गुणा माथि पुगिसक्छ । पोहोर साल आलु प्रतिकिलो रू. ५०–६० र काउली ७० सम्म पुगेको थियो । उत्पादन थुप्रिने यो मौसम सकिनेबित्तिकै सबै कृषि उपजहरूको भाउ पुनः उकालो लाग्न थालिहाल्छ ।
बजारको माग एवं आपूर्तिको दृष्टिले यसलाई एउटा स्वाभाविक प्रक्रिया मान्न सकिन्छ । तर, तरकारीको बजारमा एक दुई दिनको फरकमा मात्रै आपूर्ति गर्दा पनि किसानले मूल्यको लाभ लिने अवस्था रहन्छ । र, मुलुकभित्रको उत्पादन कुहिएर फाली नसक्दै विदेशबाट अयात गर्नुपर्ने नियतिलाई हेर्दासमेत यो समस्यामाथि थप चिन्तन अपरिहार्य देखिन्छ
वास्तवमा यो प्रकृतिको समस्या किसानहरूको बजार चेतना, बजार व्यवस्थापनका सीप र न्यूनतम कृषि पूर्वाधारको कमीका कारण देखिएको हो । कुन वस्तु कुन समयमा उत्पादन गर्दा बढी लाभ पाइन्छ भन्ने कुराको जानकारी किसानहरूलाई कम हुनुले धेरैजसो किसान देखासिकी र नक्कल गरेर बाली लगाउँछन् । एउटै गाउँभित्रै पनि जोखिम कम गर्ने कौशल उनीहरूको छैन ।
वर्ष ५, अंक २८, २०६६, चैत २–८