तिहारका लागि विक्री गर्न शहरमा लगिएका फूल विक्री भएनन् अनि व्यापारीले ती फूल सडकमै छाडेर हिँडे । यो निकै दु:खलाग्दो तथ्य हो जसले नेपालमा किन कृषि पेशाप्रति विकर्षण छ र उत्पादन बढिरहेको छैन भन्ने तथ्यलाई उजागर गर्छ । नेपालमा फूलखेती निकै बढेको छ जुन सकारात्मक छ । फूल उत्पादन बढेसँगै सरकारले तिहारमा फूल आयात गर्न प्रतिबन्ध लगायो, प्लास्टिकका फूलमाथि पनि प्रतिबन्ध लगायो । तर, बजार व्यवस्थापनको त्रुटिका कारण नेपाली फूलले बजार पाएन । पहिलो त फूलको आपूर्ति बढेअनुसार मूल्य तय भएन । शुरूमा महँगोमा बेच्न खोजियो तर विक्री नभए पछि मूल्य घटाउँदा पनि विक्री हुन सकेन । कति उत्पादन हुन्छ र कति माग हुन्छ भन्ने सही जानकारी नहुँदा यो समस्या उत्पन्न भएको देखिन्छ । त्यस्तै भारतीय फूल आयातमा प्रतिबन्ध लागे पनि तिनको आयात भयो ।
फूलको विक्री नभएपछि व्यापारीले फूल छाडेर हिँडे । यो अर्को समस्या बन्यो । फूल त्यसरी छाडेर हिँड्नुपर्ने उत्पादन होइन । यसको बहुप्रयोग हुन्छ । त्यसतर्फ सरकारले किसान र व्यापारीलाई जानकारी दिन आवश्यक नै ठानेन । नेपालमै फूलबाट धूप बनाइन्छ । फूलप्रसाद भन्ने स्टार्टअपले चढाइएको फूलबाट विभिन्न सामान बनाई विक्री गर्दै आएको छ । भारतमा फूलबाट बनेका नक्कली छालाका सामान बन्छ । अत्तर बनाउन पनि फूलको प्रयोग हुन्छ । सयपत्रीकै प्रयोग तिहारमा माला लगाउन र घर सजाउन मात्र होइन, विभिन्न उत्पादनका लागि कच्चा पदार्थ पनि हुन्छ । त्यसो हुँदा यसबारे किसानलाई जानकारी दिनु सरकार तथा व्यवसायीको काम हो । त्यस्तै मुलुकमा कमोडिटी मार्केट भएको भए त्यसबाट पनि बजार व्यवस्थापन हुन सक्थ्यो । काठमाडौंमा भने महानगरले विक्री स्थल तोक्दा उल्टो असर पर्यो ।
नेपालमा कृषिको विकास हुन नसक्नुको मुख्य कारण नै बजारीकरणको समस्या हो । माग र उत्पादन भए पनि ती दुईलाई जोड्ने संयन्त्र र प्र्रविधिको उचित प्रयोग हुन सकेको छैन । त्यही कारण एकातिर उत्पादनले बजार नपाउँदा उत्पादक समस्यामा परिरहेको हुन्छ भने अर्कोतर्फ त्यस्तो वस्तुको माग गर्नेले सामान नपाइरहेको अवस्थासमेत छ । यो समस्यालाई सम्बोधन नगरेसम्म नेपालमा कृषिको रूपान्तरण सम्भव छैन । कृषि एपमार्फत यी सबै जानकारी दिने तथा सम्बद्ध सबैलाई एकै ठाउँमा आबद्ध गर्नेतर्फ सरकारले नीति निर्माण गर्नुपर्छ ।