फागुन २९, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको कुल २० प्रतिशत लाभांश पारित भएको छ ।
कम्पनीले ३३औं वार्षिक साधारण सभा आइतवार सम्पन्न गरी १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ३ अर्ब ३९ करोड ८ लाख ८९ हजारको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो । यस वर्ष कम्पनीले विगत तीन आर्थिक वर्ष पछिकै उच्च लाभांश वितरण गर्न लागेको हो ।
यस अघि आर्थिक वर्ष ०७३/७४ को मुनाफाबाट कुल १४ दशमलव ६३ प्रतिशत, आर्थिक वर्ष ०७४/७५ को मुनाफाबाट कुल १४ दशमलव ५० प्रतिशत र आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट कुल १० दशमलव ५३ प्रतिशत लाभांश कम्पनीले वितरण गरेको थियो ।
त्यस अघिको आर्थिक वर्ष ०७२/७३ को मुनाफाबाट भने कम्पनीले कुल २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गरेको थियो । सभाले लाभांश प्रस्तावसँगै अघिल्लो आर्थिक वर्षको अन्त्यसम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु समेत पारित गरेको छ ।
साथै, सभाबाट संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट दुई जना गरी पाँच जना सञ्चालक समेत सभाबाट निर्विरोध निर्वाचित भएका छन् । संस्थापक समूहतर्फ प्रेमा राज्य लक्ष्मी सिंह, पवन बहादर पाँडे र कुशल मल्ली तथा सर्वसाधारण समूहबाट भवानी राणा र कुलदीप शरण सिंह सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन् ।
लगानी प्रतिफलमा स्थायित्व ल्याउन कम्पनी प्रयासरत रहेको जानकारी दिदैं कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा वार्षिक औषत प्रतिफल १० दशमलव १६ प्रतिशत कायम रहेको उल्लेख गरेको छ । साथै कम्पनीको चुक्तापूँजी समेत सन्तोषजनक रहेको र चालू वर्षको बोनस समेत गरी कुल पूँजी रू. ४ अर्ब ३ करोडभन्दा बढी पुग्ने समेत जानकारी दिएको छ ।
कम्पनीको बीमांकीय मूल्यांकन सन्तोषजनक रहेका कारण यस वर्ष नियामकीय निर्देशन अनुसार 'Future Bonus Provisioning' मा यथेष्ट व्यवस्था गरिए पनि बीमितहरुलाई पहिलाकै सरह बोनस दर प्रदान गर्न सफल भएको कम्पनीको भनाइ छ ।
गत आर्थिक वर्ष २०७७/०७८ सम्ममा कम्पनीको व्यवसाय सन्तोषजनक रहेको र प्रथम बीमाशुल्क ७१ प्रतिशतले वृद्धि भई रू. ४ अर्ब नाघेको जानकारी कम्पनीले दिएको छ ।