तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकामा पाँच दिनपछि बत्ती बलेको छ । अविरल वर्षासँगै गएको पहिरोले पोल ढलेर विद्युत् अवरुद्ध हुँदा सिंगो गाउँपालिका अन्धकारमय बनेको थियो ।
गत शुक्रबारदेखि विद्युत् अवरुद्ध हुँदा ऋषिङवासी अन्धकारमा बस्न बाध्य थिए । गाउँपालिकाको ८ वटै वडामा विद्युत् अवरुद्ध हुँदा स्थानीयले सास्ती भोग्नुपरेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।
अविरल वर्षाले शृंगपथअन्तर्गत अजम्बरीमा पुनः पहिरा खसेर सडक अवरुद्ध भएको छ ।
उक्त स्थानमा अघिल्लो महिनाको वर्षाले क्षति पुगेको छ । वर्षाका कारण गाउँपालिकाका ८ वटाघरमा पूर्ण क्षति भएको छ । उनले भने, ‘आंशिक क्षति भएका घरको तथ्यांक लिने काम भइरहेको छ ।’
ऋषिङ गाउँपालिका–८ मिलनचोकस्थित प्रेम शाहीको घर जमिनदेखि करिब दुई मिटर तल भासिएर क्षति भएको छ ।
शृंगपथका विभिन्न स्थानमा पहिरो खसेका कारण आउजाउमा कठिनाइ भएको छ ।
यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएसँगै मानिसको आउजाउमा कठिनाइ भएको छ । ऋषिङ, घिरिङ र भीमाद गरी तीन पालिकाबीच यातायात सेवा नियमित बनाउने विषयमा समन्वय भइरहेको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी जिल्लाका घिरिङ गाउँपालिका–१ अत्रौली निवासी टीकाराम दर्जी, रामबहादुर विक र बमबहादुर थापाको घर जोखिममा रहेका छन् ।
घरमाथिको करिब १०० मिटर भूभाग खेतीयोग्य जमिन फाटेर पहिरो जाने उच्च जोखिममा छ । पहिरोका कारण रीता विक र शर्मिला थापाको परिवार विस्थापित भएको स्थानीय विष्णुभक्त सिग्देलले बताए ।
पीडित परिवारलाई उचित राहत तथा आवश्यक व्यवस्थापनका लागि सम्बन्धित पक्ष र सरोकारवाला निकायसँग माग गरिएको उनले जानकारी दिए । रासस