वैशाख १४, काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ ओटा सञ्चार माध्यमलाई कारवाही गरेको छ ।
साथै काउन्सिलले दर्ता नभएका चार ओटा वेबपोर्टललाई मुलुकभित्र सम्प्रेषण हुन नसक्ने बनाएको छ । सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचन आयोगलाई गराउँदै आएको उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराद्वारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ ।
निर्वाचन आचारसंहिता लागू भएपश्चात् काउन्सिलले देशभरका सञ्चार माध्यमहरूबाट आचारसंहिता पालना भए/ नभएको विषयमा अनुगमन गरिरहेको बताएको छ ।
२०७८ चैत २६ गतेदेखि हालसम्म आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ ओटा सञ्चार माध्यममध्ये चार ओटालाई २४ घण्टे स्पष्टीकरण माग गरिएकोमा दुई ओटा सञ्चार माध्यमबाट पेस भएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकोले प्रथम पृष्ठमा क्षमायाचना प्रकाशन गर्न निर्देशन दिइएकोमा सोहीअनुसार प्रकाशन भएको पनि काउन्सिलले बताएको छ ।
काउन्सिलका अनुसाार दुई ओटाले आगामीदिनमा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्ने र सजग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैगरी छ ओटा पत्रपत्रिका, तीन ओटा रेडियो, पाँच ओटा टेलिभिजन र १४ ओटा अनलाइन गरी २८ ओटालाई निर्देशन दिइएको र दुई ओटा अनलाइनबाट निर्देशनपछि पनि प्रतिकूल सामग्री पुनः सम्प्रेषण भएको देखिएकोले सचेत गराइएको छ । त्यस्तै चार ओटा सञ्चार माध्यमलाई ध्यानाकर्षण गराइएको छ ।
दल तथा उम्मेदवारका बारेमा सूचना तथा समाचार सम्प्रेषण गर्दा विशेष ध्यान पुयाउनु सञ्चार माध्यमको कर्तव्य भएकाले गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरू सम्प्रेषण हुन नदिन, कसैको पक्ष वा विपक्ष हुने गरी र राजनीतिक दल वा उम्मेदवारको प्रतिष्ठामा आँच पुर्याउने गरी सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सजग रहन पनि विज्ञप्तिमा भनिएको छ ।