भरतपुर आन्तरिक राजस्व कार्यालयले उठायो १ अर्ब ७ करोड राजस्व

चितवन (अस) । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालू आर्थिक वर्ष ०७८/७९ को माघमा १ अर्ब ७ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार उक्त  महिनामा सबै शीर्षक गरी १ अर्ब ७ करोड १ लाख ५१ हजार संकलन गरेको छ । कार्यालयले यो महिनामा लक्ष्यअनुसार कर संकलन गरेको छैन । यो महिनामा विभागले १ अर्ब ५१ करोड ५० लाख ७४ हजार लक्ष्य दिइएको थियो, जुन रकम २९ दशमलव २७ प्रतिशत कम हो । आयकर र स्वास्थ्य सेवाबाट मात्र लक्ष्यभन्दा बढी असुली कार्यालयले सबै शीर्षकमध्ये आयकर र स्वास्थ्य सेवा शीर्षकबाट मात्रै लक्ष्यभन्दा बढी कर असुलेको छ । विभागले माघमा कार्यालयलाई ८ करोड २० लाख ७७ हजार लक्ष्य दिइएकामा १५ करोड ४ लाख ८५ हजार रुपैयाँ संकलन गरेको छ भने स्वास्थ्य सेवा करमा ३ लाख ७१ हजार लक्ष्य दिइएकामा १९ लाख १० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै, सबैभन्दा बढी कर संकलन अन्तशुल्कबाट भएको छ भने शिक्षा सेवाबाट कुनै पनि रकम संकलन भएको छैन । कार्यालयले सो महिनामा अन्तशुल्कबाट ७७ करोड ११ लाख ७४ हजार संकलन गरेको छ । उक्त महिनामा विभागले कार्यालयलाई १ अर्ब २० करोड ८४ लाख ८६ हजार असुली लक्ष्य दिएको थियो । शिक्षा सेवा शीर्षकमा माघमा ४ लाख ६५ हजार असुली लक्ष्य दिएकामा शून्य रकम संकलन भएको हो । दोस्रो सबैभन्दा बढी असुली मूल्य अभिवृद्धि करबाट १२ करोड ६६ लाख ८१ हजार असुली भएको छ । यो शीर्षकमा विभागले १६ करोड ३७ लाख ५० हजार राजस्व संकलन लक्ष्य दिएको थियो । यसैगरी बहाल कर शीर्षकमा ४४ लाख ७२ हजार लक्ष्य दिएकामा ३४ लाख ८५ हजार संकलन र ब्याजकर शीर्षकमा ५५ करोड ४५ लाख ३ हजार लक्ष्य दिइएकामा १५ करोड ४ लाख ८५ हजार राजस्व असुली भएको छ । कार्यालयका कर अधिकृत सुशील लम्सालले कोरोनाकै कारण आर्थिक गतिविधि हुँदा राजस्व संकलन लक्ष्यअनुसार भेट्याउन नसकिएको बताए । ‘कोरोनाका कारण आर्थिक गतिविधि सुस्त भयो’, लम्सालले भने, ‘जाडोयाममा बियरको खपत कम भएकाले पनि अन्तशुल्क शीर्षकमा लक्ष्यभन्दा कम संकलन हुँदा समग्र रूपमा असर परेको हो ।’ आयकर शीर्षकमा पुसमा तिर्नुपर्ने रकम माघमा पनि आउने भएको लक्ष्यभन्दा बढी संकलन भएको र स्वास्थ्य सेवा कर शीर्षकको बक्यौता रकम असुली भएकाले लक्ष्यभन्दा बढी उठेको उनले बताए । ‘हाम्रो सबैभन्दा बढी करको स्रोत अन्तशुल्क, मूअक र आयकर नै हो’, उनले भने, ‘अन्य शीर्षकमा घटबढ हुँदा खासै लक्ष्यमा असर पर्दैन ।’ गर्मीयाम सुरु भएसँगै बियरलगायत अन्य पेय पदार्थको उत्पादन र बिक्री बढ्ने भएकाले आगामी महिनाबाट कर संकलन अपेक्षित हुने उनको भनाइ छ ।

सम्बन्धित सामग्री

आन्तरिक राजस्व कार्यालय भरतपुर: लक्ष्यभन्दा ४६ प्रतिशत कम राजस्व असुली

चितवन। कोभिडपछि तँगिन थालेको उद्योग व्यवसाय पछिल्लो समय पुन: शिथिल बन्दा यसको असर राजस्व संकलनमा समेत परेको छ । नयाँ व्यवसाय नथपिनु, भएका व्यवसाय टाट पल्टिँदै जानु, देशमा उत्पादन तथा उपभोग कम हुनु र क्रयशक्तिमा ह्रास आउँदा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको हो । आर्थिक सुस्तीका कारण चितवनमा उद्योग व्यवसाय बन्द हुन थालेका छन् । भएका पनि कम क्षमतामा चलेका छन् । यस्तै बैंकको ब्याजदर नघटेको र उत्पादित वस्तु समेत विक्री नभएकाले राजस्व असुलीमा ह्रास आएको आन्तरिक राजस्व कार्यालय, भरतपुरले बताएको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को साउन महीनामा लक्ष्यभन्दा ३७ प्रतिशतले कम कर असुली भएको थियो । राजस्व असुली भदौमा झनै खस्किएको छ । गत महीना लक्ष्यभन्दा ४६ प्रतिशत कम राजस्व उठेको कार्यालयले बताएको छ । कार्यालयका अनुसार गत साउनमा २ अर्ब २ करोड ७५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा १ अर्ब २७ करोड ५३ लाख रुपैयाँ असुल भएको थियो । यस्तै भदौमा २ अर्ब ४ करोड ८ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य रहेकोमा १ अर्ब ११ करोड १६ लाख रुपैयाँ मात्र उठेको थियो । साउनमा कार्यालयले सबै शीर्षकमा गरी ६२ दशमलव ९ प्रतिशत राजस्व असुली गरेको थियो । यस्तै भदौमा ५४ दशमलव ४७ प्रतिशत मात्र राजस्व असुली गरेको छ । कार्यालयले आयकर, ब्याजकर, मूल्यअभिवृद्धि कर, अन्त:शुल्क, घर बहाल कर, स्वास्थ्य सेवा कर र शिक्षा सेवा कर शीर्षकमा कर संकलन गर्दै आएको छ । यीमध्ये भदौमा आयकर शीर्षकमा लक्ष्यभन्दा बढी कर असुली भएको छ भने अन्य कुनै शीर्षकमा लक्ष्य भेट्टाउन सकेको छैन ।  कार्यालयका अनुसार भदौ महीनामा आयकर शीर्षकमा १८९ दशमलव शून्य ९ प्रतिशत राजस्व असुली गरेको छ । यस्तै ब्याजकरमा ३१ दशमलव ४१ प्रतिशत, घर बहाल करमा ६५ दशमलव ६४ प्रतिशत, मूल्य अभिवृद्धि करमा ५७ दशमलब ९२ प्रतिशत, अन्त:शुल्क शीर्षकमा ४७ दशमलव ३५ प्रतिशत र स्वास्थ्य सेवा करमा ५८ दशमलव १५ प्रतिशत कर असुली गरेको छ भने शिक्षा सेवा करमा कुनै कर असुली भएको छैन । कार्यालयका कर अधिकृत विष्णुबहादुर रावतले राजस्व असुलीको अनुपात हरेक महीना क्रमश: घट्दै गएको बताए । ‘अहिले नयाँ व्यवसाय गर्ने घटेका छन्, पुराना कम्पनी नवीकरण गर्ने पनि कम छन्,’ उनले भने, ‘मुख्य त आर्थिक गतिविधि नै सुस्त छ ।’  चितवनको राजस्व असुली अन्त:शुल्कमा निर्भर हुने भएकाले पछिल्लो समय मदिराजन्य वस्तुको विक्रीमा ठूलो कमी आउँदा सो शीर्षकको राजस्व असुली समेत प्रभावित भएको उनको भनाइ छ । ‘अधिकांश मानिसलाई दैनिक खर्च चलाउनै समस्या छ । व्यापार छैन, उपभोग पनि छैन,’ रावतले भने । कतिपय उद्योग व्यवसाय धराशयी भएको र व्यवसायी विस्थापित भई अन्य पेशा तथा विकल्प रोजेकाले पनि यसको असर राजस्व असुलीमा परेको उनले बताए । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० को साउन र भदौमा गरी १ हजार ३२७ ओटा नयाँ व्यवसाय दर्ता भएकोमा चालू आर्थिक वर्षको पहिलो दुई महीनामा ९२३ ओटा नयाँ व्यवसाय मात्र दर्ता भएका छन् । यस्तै गत आर्थिक वर्षको पहिलो दुई महीनामा ५ हजार ३९१ ओटा व्यक्तिगत प्यान जारी भएकोमा यो चालू वर्षको सोही अवधिमा ५ हजार ९ ओटा जारी भएका छन् ।

आन्तरिक राजस्व कार्यालय भरतपुर : वैशाखमा लक्ष्यभन्दा बढी राजस्व असुली

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले वैशाखमा लक्ष्यभन्दा भन्दा ५ दशमलव ०५ प्रतिशत बढी राजस्व असुली गरेको छ । आन्तरिक राजस्व विभागले कार्यालयलाई वैशाख महीनाका लागि २ अर्ब २३ करोड ३८ लाख ६२ हजार राजस्व संकलनको लक्ष्य दिएकोमा २ अर्ब ३४ करोड ५९ लाख ३९ हजार रुपैयाँ असुली गरेको हो । कार्यालयले आयकर, बहालकर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्त:शुल्क कर, स्वास्थ्य सेवा कर र शिक्षा सेवा कर शीर्षकबाट राजस्व संकलन गर्दै आएको छ । यी शीर्षकमध्ये अन्त:शुल्क शीर्षकमा सबैभन्दा बढी कर असुली भएको छ भने शिक्षा सेवा कर सबैभन्दा कम संकलन भएको छ । अन्त:शुल्क शीर्षकमा विभागले कार्यालयलाई १ अर्ब ८३ करोड ५५ लाख ७७ हजारको लक्ष्य दिएकोमा २ अर्ब ९ करोड ४६ लाख ७२ हजार राजस्व असुली भएको । यस्तै शिक्षा सेवा करको लक्ष्य ४ लाख ८९ हजार रहेकोमा ११ हजार रुपैयाँ मात्र असुली भएको छ । अन्त:शुल्क र आयकरबाहेक अन्य शीर्षकमा भने कार्यालयले लक्ष्य भेट्टाउन सकेको छैन । कार्यालयको तथ्यांक अनुसार वैशाखमा आयकर शीर्षकमा १० करोड १० लाख २८ हजार लक्ष्य दिएकोमा १० करोड ६१ लाख २८ हजार उठेको छ । यस्तै बहालकर शीर्षकमा ५० लाख ८० हजार संकलनको लक्ष्य दिइएकोमा १९ लाख ५० हजार, ब्याजकर शीर्षकमा ५ करोड ७२ लाख ९ हजारको लक्ष्यमा १ करोड १० लाख ३४ हजार, मूल्य अभिवृद्धि करको लक्ष्य २३ करोड ३९ लाख ६ हजार रहेकोमा १३ करोड ४ लाख ६४ हजार र स्वास्थ्य सेवा शुल्क शीर्षकमा ५५ लाख ३ हजार संकलनको लक्ष्यमा १६ लाख ८० हजार रुपैयाँ असुली भएको छ । कार्यालयका कर अधिकृत सुशील लम्सालले कार्यालयको मुख्य स्रोत अन्त:शुल्क भएकाले यो शीर्षकमा बढी कर असुली भएको बताए । वैशाख आयकर तिर्ने महीना नभएको र मूल्य अभिवृद्धि करको अग्रिम भुक्तानी ५० प्रतिशतबाट ३० प्रतिशत कायम गरिएकाले कम राजस्व असुली भएको उनको भनाइ छ । ‘अहिले विकास निर्माण नै कम भएको अवस्था हो,’ उनले भने, ‘सबै महीनामा सबै शीर्षकमा लक्ष्य भेट्टाउन मुश्किल पर्छ ।’ अबको २ महीना राजस्व असुली हुने उपयुक्त समय भएकाले लक्ष्यभन्दा बढी संकलन हुने उनको भनाइ छ । विभागले कार्यालयलाई चालू आवको वैशाखसम्ममा १७ अर्ब २६ करोड ८० लाख ६६ हजार राजस्व संकलनको लक्ष्य दिएकोमा सो अवधिमा १६ अर्ब ६४ करोड ७९ लाख असुली गरेको छ । चालू आवमा विभागले कार्यालयलाई २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ ।

आन्तरिक राजस्व कार्यालय भरतपुर : लक्ष्यभन्दा ८३ करोड बढी राजस्व असुली

भरतपुर । आन्तरिक राजस्व कार्यालय, भरतपुरले असोज महीनामा लक्ष्यभन्दा ८३ करोड १ लाख ६७ हजार रुपैयाँ राजस्व असुली गरेको छ । कार्यालयका अनुसार सो महीनाका लागि विभागले कार्यालयलाई १ अर्ब १७ करोड ९६ लाख ७७ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएकोमा कार्यालयले २ अर्ब ९८ लाख ४४ हजार संकलन गरेको हो । कार्यालय अन्तःशुल्क शीर्षकमा लक्ष्यभन्दा झन्डै दोब्बर असुली गर्न सफल भएको छ । यस शीर्षकमा ९६ करोड २६ लाख ६ हजारको लक्ष्य दिइएकोमा कार्यालयले १ अर्ब ७३ करोड ८२ लाख ६५ हजार रुपैयाँ संकलन गरेको हो । यस्तै आयकर शीर्षकमा पनि कार्यालयले लक्ष्यको दोब्बर असुली गरेको छ । उक्त महीना यो शीर्षकमा ७ करोड ५८ लाख ६३ हजार असुलीको लक्ष्य रहेकोमा १५ करोड ९० लाख ८२ हजार उठाएको छ । अन्य शीर्षकमा भने कार्यालयले लक्ष्य भेट्टाउन सकेको छैन । कार्यालयले बहालकर शीर्षकमा ४० लाख ५३ हजार असुलीको लक्ष्यमा २३ लाख ६१ हजार, ब्याजकर शीर्षकमा १ करोड ३ लाख ४१ हजार लक्ष्य रहेकोमा २९ लाख २६ हजार, मूल्य अभिवृद्धि कर शीर्षकमा १५ करोड ६२ लाख ४५ हजार लक्ष्यमा १० करोड ७२ लाख २ हजार, स्वास्थ्य सेवा कर शीर्षकमा १ लाख ६९ हजार लक्ष्य दिइएकोमा ८ हजार र शिक्षा सेवा करमा ४ लाख रुपैयाँ लक्ष्यमा शून्य रकम असुली गरेको छ । कार्यालयका कर अधिकृत सुशील लम्सालले मदिराजन्य वस्तुबाट आउने कर नै प्रमुख स्रोत भएकाले लक्ष्यभन्दा बढी कर असुल्न सकिएको बताए । ‘हाम्रो अन्य समयमा अन्तःशुल्कबाटै बढी कर असुली हुन्छ,’ उनले भने । अन्य कर शीर्षकहरू कार्यालयको सहयोगी स्रोत मात्र भएकाले समय अनुसार घटबढ हुने उनको भनाइ छ । आयकर शीर्षकमा करदाताको विवरण बुझाउने अन्तिम म्याद भएकाले पनि आयकर शीर्षकमा लक्ष्यको दोब्बर कर असुली भएको लम्सालले बताए । विभागले कार्यालयलाई चालू आर्थिक वर्षका लागि २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार रुपैयाँको लक्ष्य दिइएकोमा असोजसम्म तीन महीना अवधिमा कार्यालयले ४ अर्ब ८२ करोड ६६ लाख ३९ हजार रुपैयाँ संकलन गरेको छ । असोजसम्म कार्यालयलाई विभागले ३ अर्ब ८४ करोड ६ लाख ८ हजार रुपैयाँ असुलीको लक्ष्य दिएको थियो ।

भरतपुर आन्तरिक राजस्व कार्यालयमा उठेन ५० करोड बक्यौता

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरमा रु ५० करोड हाराहारी बक्यौता उठ्न सकेको छैन । मूल्य अभिवद्धि कर र आयकर गरी रु ४९ करोड ६५ लाख बक्यौता उठ्न बाँकी रहेको हो । कार्यालयले दिएको जानकारीअनुसार मूल्य अभिवृद्धि करतर्फ रु २५ करोड ८१ लाख र आयकरतर्फ रु २३ करोड ८३ लाख बक्यौता रहेको छ । मूल्य […]

आन्तरिक राजस्व कार्यालय भरतपुर : फर्म दर्ता गर्नेको संख्या घट्दै

साउन २६, चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरमा अघिल्लो आर्थिक वर्ष ०७६/०७७ भन्दा गत आर्थिक वर्ष ०७७/०७८ मा नयाँ फर्म दर्ता गर्ने घटेका छन् ।  अघिल्लो वर्षमा ३९ हजार ६४४ ओटा फर्म दर्ता भएकोमा गत वर्ष घटेर २३ हजार ७३७ मा झरेको हो । कार्यालयले व्यवसायिक अस्थायी प्यान, व्यक्तिगत फर्म प्यान, व्यक्तिगत प्यान र सरकारी प्यान (टीडिएस) शीर्षकमा दर्ता गर्दै आएको छ ।  सबैभन्दा बढी व्यक्तिगत प्यान दर्ता  कार्यालयमा अघिल्लो आर्थिक वर्ष र गत वर्षको प्यान दर्ताको अनुपातमा सबैभन्दा बढी व्यक्तिगत प्यान दर्ता रहेको छ ।  अघिल्लो वर्ष कार्यालयले ३३ हजार १०८ ओटा व्यक्तिगत प्यान दर्ता गरेकोमा गत वर्ष १६ हजार ५९२ ओटा दर्ता गरेको छ । यस्तै गत वर्ष व्यक्तिगत फर्म प्यान ५ हजार ५८६, व्यवसायिक अस्थायी प्यान १ हजार ३७, सरकारी टीडीएस प्यान १८० ओटा दर्ता भएका थिए ।  यस्तै, अघिल्लो आर्थिक वर्षमा व्यक्तिगत कम्पनी प्यान ५ हजार २५३, अस्थायी व्यवसायीक प्यान १ हजार २५९ ओटा र सरकारी टीडीएस २३ र अन्य एउटा कम्पनी दर्ता भएको कार्यालयले जानकारी दिएको छ ।  कार्यालयका कर अधिकृत शुशील लम्सालले मुख्यतया कोभिडका कारण अधिकांश महीना जिल्लामा निषेधाज्ञा जारी  भएकाले प्यान लिने करदाता को संख्यामा कमी आएको बताए । ‘अघिल्लो वर्ष पनि लामोसमय बन्द भयो उनले भने, गत वर्ष पनि वैशाख दोस्रोबाट पुनः शुरु भयो अहिले पनि जारी नै छ ।’  गत वर्षको असोज महीनाबाट चितवनको खैरहनीमा करदाता सेवा कार्यालय सञ्चालनमा आएकोले पनि अघिल्लो वर्षभन्दा गत वर्ष यो कार्यालयबाट सबै प्रकारका प्यान लिनेको संख्यामा कमी आएको लम्सालको भनाइ छ ।  ‘झण्डै एक आर्थिक वर्षमा मात्रै ६ महीना निषेधाज्ञा हुँदा पनि यो अनुपातमा प्यान दर्ता हुनुलाई सन्तोषजनक नै मान्नुपर्छ ।’ उनले भने ।  कतिपय व्यवसाय गर्न लागेका इच्छुक व्यक्तिहरुले पनि पर्ख र हेरको अवस्थामा रहेको र दर्ताको काम भौतिक रुपमै कार्यालयमै उपस्थित हुुनु पर्ने भएकोले सबै प्यान शीर्षकमा तुलनात्मक रुपमा घटेका हुन् ।  दर्ता भएका प्यान शीर्षकमध्ये व्यक्तिगत प्यानको हकमा अधिकांश निजी तथा सरकारी कार्यालयका कर्मचारी तथा नियमित ज्यालादारीका लागि यो प्यान अनिवार्य भएकोले व्यक्तिगत प्यानको संख्या बढेको कर अधिकृत लम्सालको भनाइ छ  ।

आन्तरिक राजस्व कार्यालयमा निषेधाज्ञाको असर : लक्ष्यभन्दा १५ % कम राजस्व असुली

जेठ ३, चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालू आर्थिक वर्ष ०७७ /०७८ को वैशाख महीनामा लक्ष्यभन्दा कम राजस्व असुली गरेको छ ।  कोरोना संक्रमणका कारण वैशाख महीनाको दोस्रो सातादेखि निषेधाज्ञा लागू गरिएपछि यसको असर राजस्व असुलीमा परेको हो ।  उक्त महीनामा २ अर्ब ३३ करोड ७ लाख रुपैयाँ लक्ष्य रहेपछि उक्त कार्यालयले १ अर्ब ८९ करोड २३ लाख १२ हजार रुपैयाँ राजस्व असुल गरेको हो । जसअनुसार कार्यालयको राजस्व असुली सबै शिर्षकमा गरी १५ दशमलव १७ प्रतिशत कम भएको छ ।  कार्यालयले वैशाख महीनामा सबै शिर्षकमध्ये  सवैभन्दा बढी अन्तःशुल्कबाट कर असुली गरेको छ भने स्वास्थ्य सेवा करमा कुनै कर असुली गरेको छैन । वैशाख महीनामा आन्तरिक राजस्व विभागले अन्तः शुल्क शिर्षकमा १ अर्ब ९६ करोड १३ लाख ४ हजार रुपैयाँ लक्ष्य दिएपनि १ अर्ब ५५ करोड ८७ लाख ६२ हजार रुपैयाँ कर असुली भएको छ ।  स्वास्थ्य सेवा कर शिर्षकमा १४ लाख ५१ हजार रुपैयाँ लक्ष्य दिएपनि कार्यालयले कुनै कर असुलेको छैन । वैशाख महीनामा विभागले दिएको लक्ष्य भन्दा बढी कर असुली कार्यालयले आयकर, बहालकर, ब्याजकर र मूल्य अभिवृद्धि कर शिर्षकमा मात्र गरेको छ भने मुल्य अभिवृद्धि कर, शिक्षा सेवा कर र स्वास्थ्य सेवा करमा लक्ष्य अनुसार कर असुली भएको छैन ।  जसअनुसार आयकर शिर्षकमा ११ करोड ४५ लाख ३५ हजार लक्ष्य लिइएकोमा १२ करोड ९३ लाख ४५ हजार रुपैयाँ राजस्व असुली भएको छ । मुल्य अभिवृद्धि करतर्फ १५ करोड १५ लाख ३८ हजार रुपैयाँ लक्ष्य दिइएकोमा १९ करोड ८७ लाख ६२ हजार रुपैयाँ कर असुली भएको छ । ब्याज कर शिर्षकमा १५ लाख ९२ हजार रुपैयाँ कर असुली भएको छ । उक्त शिर्षकमा ९६ लाख ५२ हजार रुपैयाँ कर असुली गर्ने लक्ष्य दिइएको थियो ।  यस्तै बहाल कर शिर्षकमा १ लाख ८९ हजार रुपैयाँ लक्ष्य दिइएकोमा २२ लाख ३५ हजार रुपैयाँ राजस्व असुली भएको छ भने शिक्षा सेवा करमा १ लाख ७१ हजार रुपैयाँ लक्ष्य दिइएकोमा जम्मा ७ हजार रुपैयाँ राजस्व असुली भएको छ ।  कार्यालयका सूचना अधिकारी कपिलराज नेपालले भरतपुर आन्तरिक राजस्व कार्यालयको मुख्य कर असुलीको श्रोत नै अन्तःशुल्क भएको र यस शिर्षकमानै कम राजस्व असुली भएकोले लक्ष्यभन्दा कम असुली भएको बताए ।  ‘निषेधाज्ञाको हल्ला र त्रास वैशाख लागेपछि नै भयो’, उनले भने, ‘त्यसपछि मदिराजन्य उत्पादनको विक्री वितरण पनि रोकियोे ।’ अन्य शिर्षकमा लक्ष्यभन्दा बढी संकलन भएपनि अन्तःशुल्क शिर्षकको कर असुलीमा असर परेका कारण लक्ष्यभन्दा कम राजस्व असुली भएको उनको भनाइ छ । ‘बजारमा आर्थिक गतिविधि पनि कम भयो, मदिराजन्य वस्तुको माग र आपूर्ति पनि घट्यो’, उनले भने ।  वैशाख महीनासम्म १० महीनाको अवधिमा विभागले १५ अर्ब ६  करोड ३१ हजार रुपैयाँ लक्ष्य दिएकोमा १४ अर्ब ४ करोड ८७ लाख ३१ हजार रुपैयाँ राजस्व असुली भएको छ । विभागले कार्यालयलाई यसवर्ष १८ अर्ब ९१ करोड ५८ लाख ८१ हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य दिएको छ ।

कोरोनाको असर चितवनका सरकारी कार्यालयमा : बाक्लिंदै संक्रमण, पातलिंदै सेवाग्राही

वैशाख १३, चितवन । देशभर कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै चितवनका सरकारी कार्यालयमा समेत यसको असर पर्दै गएको छ ।  कोरोना महामारीका चितवनमा दैनिक औषत दुई गुणा संक्रमितको संख्या वृद्धि भएको छ । संक्रमित र मृत्युको संख्या बढ्दै जाँदा यसको प्रत्यक्ष असर चितवनका अधिकांश सरकारी कार्यालयहरुमा परेको छ । आइतवारको तथ्यांक अनुसार चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ३२४ पुगेको छ  जसका कारण एकसाता अघिमात्र भीडभाड हुने सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति घट्दै गएको छ  । चितवनका मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, यातायात व्यवस्था सेवा कार्यालय, नेपाल विद्युत् प्राधिकरण तथा घरेलु तथा साना उद्योग लगायतका कार्यालयमा सेवाग्राहीको चाप कम हुँदै गएको पाइएको छ ।  मालपोत कार्यालय भरतपुरका सूचना अधिकारी  हेम तिमिल्सिना  कार्यालयमा दैनिकजसो सेवाग्राहीको चाप घट्दै गएको बताउँछन् । ‘कार्यालयमा सबै किसिमका गरी दैनिक १२० जनाको भन्दा बढीको काम हुन्थ्यो ’, उनले भने हाल २० प्रतिशत सेवाग्राही घटेको पाएका छौं ।’ हाल रजिष्ट्रेसन पासभन्दा बैंक धितो राख्ने सेवाग्राही धेरै भएको उनले बताए ।  हुनत भरतपुर नारायणगढका मुख्य बजारमा पनि मानिसको उपस्थिति कम हुँदै गएको छ । आर्थिक गतिविधि पनि घट्दै गएको छ । कोरोनाका जोखिमकै कारण स्थानीय प्रशासनले महानगरका हरेक पसल, होटल, रेष्टुरेण्ट राती ८ बजेभन्दा बढी समय खोेल्न निषेध गरिएको छ । कारोबारमा ह्रास आएपछि व्यवसायीहरु पनि चिन्तामा देखिन्छन् ।  कोरोना जोखिम र व्यवसायमा ह्रास देखिएपछि आन्तरिक राजस्व कार्यालय भरतपुरमा समेत सेवाग्राहीको चाप कम हुँदै गएको छ । कार्यालयका सूचना अधिकारी कपिलराज नेपाल वैशाख महीना शुरु भए यतानै सेवाग्राहीको संख्यामा कम हुँदै गएको बताउँछन् । ‘वैशाख अघिसम्म सेवाग्राहीको चाप पनि बढी थियो, राजस्व संकलन पनि उल्लेखनीय थियो तर यो क्रम ह्वातै घटेको छ’,उनले भने । केही दिन अघिमात्र कोरोना भ्याक्सिनको दुबै डोज लगाइसकेका उक्त कार्यालयका चारजना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोनाको त्रासका कारण र व्यापार व्यवसायमा मन्दी आएपछि सेवाग्राही घट्दै गएको हुन सक्ने उनको भनाइ छ ।  यसैगरी चितवनमा सार्वजनिक यातायात तथा निजी यातायातको आगमनमा पनि केही कमी भएको देखिन्छ । कतिपय नागरिकहरु घरबाट निस्कन छाडेका छन् । सेवाग्राहीको उत्तिकै चाप हुने भरतपुरको यातायात व्यवस्था कार्यालयमा पनि चाप घट्दै पाइएको छ ।  कार्यालयका लेखाप्रमुख सम्राटमणी अधिकारी  वैशाख लागेदेखिनै कार्यालयमा आउने ५० प्रतिशत सेवाग्राही कम भएको बताउँछन् । ‘वैशाखबाट ५० प्रतिशतनै सेवाग्राही कम भएको छ’, उनले भने, ‘यसअघि दैनिक ८०० जनाको हाराहारीमा सेवाग्राही थिए । अहिले ४०० जनाको हाराहारीमा छन ।’ यसअघि सेवाग्राहीको चाप बढ्दा एकजना सेवाग्राहीको लागि १ घण्टा समय लाग्थ्यो अहिले सेवाग्राहीले कुर्नुनपरेको उनले बताए । भरतपुरको विद्युत् कार्यालयमा पनि दैनिकजसो सेवाग्राहीको चाप बढ्दै गएकोमा हाल आएर सेवाग्राहीको चाप घट्दै गएको छ । कार्यालयका लेखा प्रमुख चिरञ्जीवी शर्मा यो अनुपात गत हप्ताबाटनै कम भएको बताउँछन् । ‘अधिकांश सेवाग्राहीले अनलाइन भुक्तानी मार्फत बिल तिर्ने गरेका छन् ’, उनले भने, ‘अनलाइन बिल भुक्तानी गर्न नजान्ने सेवाग्राही मात्र कार्यालय आएको पाएका छौं ।’ यसअघिसम्म दैनिक ६०० जनासम्म सेवाग्राहीले सेवा लिएपनि यो संख्या ५० प्रतिशतभन्दा कम भएको उनले बताए ।  यसअघि कोरोनाको असर कम हुँदै जाँदा उद्योग व्यवसाय दर्ता गर्न आउने घरेलु तथा साना कार्यालयमा सेवाग्राही घट्न थालेका छन् । दिनहुँ १०० ओटाभन्दा बढी उद्योग व्यवसाय दर्ता गर्ने उक्त कार्यालयले हाल अधिकतम ५० ओटाकोे हाराहारीमा उद्योग व्यवसाय दर्ता हुने गरेको जानकारी दिएको छ । कार्यालयका कम्युटर अपरेटर नायब सुब्बा  गौतम मैनालीले कोरोनाको त्रास र आर्थिक वर्षको अन्तिम मिति नजिकिदै गएकोले पनि सेवाग्राही कम भएको बताउँछन् ।  ‘आर्थिक वर्ष अन्त्य हुने समय पनि आउन लाग्यो । उद्योग व्यवसाय भन्दा पनि मानिसको स्वास्थ्य ठूलो कुरा भयो’, उनले भने, ‘पछिल्लो समय मानिसमा स्वास्थ्य चेतना पनि छ, भय र त्रास पनि बढ्दै गएको छ । ’

४ महिनामा ४ अर्ब ८३ करोड कर संकलन

भरतपुर–चितवनमा ४ महिनामा ४ अर्ब ८३ करोड कर संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरले ४ महिनामा लक्ष्यभन्दा १ अर्ब १७ करोड रुपैयाँ कम कर असुली गरेको हो । कात्तिक अीन्तम सातासम्मको असुली विवरण केलाउँदा अन्तः शुल्क कर लक्ष्यभन्दा १ अर्ब ४२ करोड कम रुपैयाँ कम असुली भएको छ । असार मसान्तसम्म अन्तःशुल्क ५४ […]