वीरगञ्ज । अनधिकृत कारोबार नियन्त्रणका नाममा प्रहरीले ढुवानी व्यवसायीलाई प्रताडित गर्ने काम गरेको भन्दै विरोधमा उत्रिएका वीरगञ्जका व्यवसायीले धर्ना शुरू गरेका छन् । उनीहरूले वीरगञ्जको आदर्शनगरस्थित पुरानो बसपार्क हातामा बुधवारदेखि धर्ना थालेका हुन् ।
स्थानीय प्रहरी प्रशासनदेखि प्रधानमन्त्री कार्यालयसम्म समस्या सुनाए पनि कतैबाट समाधानको आश्वासन समेत नपाएपछि आआफ्नो व्यवसाय बन्द गरेर संघर्षमा उत्रिनुपरेको ट्रान्सपोर्ट एशोसिएशनका केन्द्रीय सचिव नवराज अधिकारीले बताए ।
व्यवसायीले वीरगञ्जबाट हुने खुद्रा तथा फुल ट्रिप ढुवानी २ दिनदेखि ठप्प पारेका छन् । यसबाट मुख्य नाकाबाट मालसामानको आपूर्ति प्रभावित भएको छ । उनीहरूले मंगलवार मात्रै ढुवानी बन्द गरेर व्यवसायको साँचो जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई बुझाएका थिए । त्यसअघि स्थानीय प्रशासनमार्फत प्रधानमन्त्रीलाई समस्या समाधान गर्न आग्रहपत्र पठाएका थिए ।
भन्सार जाँचपास भएर निस्किएको मालसामान प्रहरीले भन्सारको गेटमै समातेर राजस्व अनुसन्धानमा पठाउने गरेको व्यवसायीले बताए । यसरी पठाइएको मालसामानमा राजस्व अनुसन्धानले अपवादवाहेक कुनै कैफियत फेला पार्न नसकेको दाबी उनीहरूको छ ।
प्रहरीले वीरगञ्ज भन्सारबाट निस्किएका र वीरगञ्जका विभिन्न स्थानबाट लोड भएर हिँडेका ट्रक बाटोमै नियन्त्रणमा लिएर ३/४ दिनसम्म राख्ने गरेको एशोसिएशनले बताएको छ । प्रहरीले पठाएको गाडीको मालसामानको अनुसन्धानमा राजस्व अनुसन्धानले १०–१५ दिन लगाए पनि बिलबीजक र मालसामानका कुनै कैफियत फेला पार्न नसकेको उनीहरूको दाबी छ ।
व्यवसाय बन्द गरेर साँचो बुझाउन गएका ढुवानी व्यवसायीसमक्ष प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी प्रतिक्रियाविहीन भएको सहभागी व्यवसायीले बताए । ‘प्रजिअले व्यवसायीको गुनासोबारे एक शब्द पनि बोल्नु भएन । विना प्रतिक्रिया ज्ञापनपत्र र साँचो बुझेपछि स्थानीय प्रशासन समस्याको समाधान चाहँदैन भन्ने निष्कर्षमा पुग्यौं,’ एक ढुवानी व्यवसायीले भने, ‘बाध्य भएर धर्नामा आउनुपर्यो ।’
व्यवसायीलाई दुःख दिने नियत प्रहरीमा देखिएको ढुवानी व्यवसायीको भनाइ छ । स्थानीय प्रशासनले यो समस्याको समाधानमा कुनै चासो नदेखाएको उनीहरूले बताए । प्रहरीले भन्सार गेटबाटै जथाभावी मालसामान समातेर ‘काम गर्ने वातावरण नै बिगारेको’ भन्दै केही दिनअघि भन्सारका प्रमुखसहितका अधिकारी गुनासो लिएर भन्सार विभागमै पुगेका थिए ।