काठमाडाैं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा रू. ६ करोड ४५ लाख बराबरको हवाईजहाजका टायर आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा हवाईजहाजका टायर आयातको औसत वार्षिक वृद्धिदर १५ दशमलव ७५ प्रतिशत देखिन्छ ।
आयातको यस प्रवृत्तिले मुलुकभित्र हवाईजहाजका टायर उद्योग सञ्चालनको सम्भावना देखिएको छ । रबर खेतीको विस्तार तथा रबरमा आधारित उद्योगको स्थापना, स्तरोन्नति, उद्योगलाई कर छूट, प्रोत्साहन तथा उद्योगमैत्री वातावरणको सृजना गर्ने हो भने हवाईजहाजका टायर उत्पादनमा मुलुक केही समयभित्र आत्मनिर्भर हुन सक्छ ।