काठमाडौँमा केन्द्रीय कार्यालय रहेको त्रिभुवन विश्वविद्यालय र चितवनमा केन्द्रीय कार्यालय भएको कृषि तथा वन विज्ञान विश्वविद्यालय दुवै सङ्घीय सरकारको लगानीमा सञ्चालित उच्च शैक्षिक संस्था हुन् तर यी दुवै विश्वविद्यालयको चितवनको खैरहनीमा र रामपुरमा आङ्गिक क्याम्पस सञ्चालनमा छन्। दुई फरक विश्वविद्यालयले एकै प्रकृतिका शैक्षिक कार्यक्रम एकै स्थानमा सञ्चालन गर्दा उच्च शिक्षामा दोहोरोपन देखिएको छ। त्यस्तै कञ्चनपुरमा केन्द्रीय कार्यालय रहेको सुदूरपश्चिम विश्वविद्यालय र चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय दुवैको कृषि क्याम्पस कैलालीको टीकापुरमा एकै ठाउँमा छ। मुलुकमा सञ्चालित विश्वविद्यालयहरूमा सम्बन्धन दिने नीति र मापदण्ड प्रभावकारी नभएको यी दुईवटा उदाहरणबाट स्पष्ट हुन्छ। साथै विश्वविद्यालयको सम्बन्धन प्रक्रिया अव्यवस्थित रहेको पनि यसबाट पुष्टि हुन्छ।