जेठ ८, बैतडी । अहिले पाहाडका जिल्लामा मकै, कोदो, रोप्ने समय हो । बैतडीमा भने पानी नलाग्ने पाखो जमिनमा मकै, कोदो, भटमास छर्ने र पानी लाग्ने खेतमा मकै गोडमेल गर्ने समय हो ।
पानी लाग्ने खेतमा गोडमेल गरेको मकैको बोटमा गभारो रोग लागेर मकै सखाप हुन थालेपछि किसान चिन्तित बनेका छन् । हिउँदमा पानी नपरेर गहुँबाली नभएर निरास बनेका किसान समयमै खेतमा मकै छरेर हर्षित बनेका थिए ।
मकै उम्रदा खेरी राम्रो बोट भएका मकैमा एक्कासी फौँजी प्रकारको किरा लागेर बोट सुक्न लागेपछि किसान हैरान भएका छन् । यो रोग जिल्लाका सबै ठाउँमा देखिए पनि सबैभन्दा बढि पञ्चेश्वर गाउँपालिकामा देखिएको छ ।
मकैको बोटको पातमा प्रवेश गरेर पात खाएर बोटको भित्रको गोभामा प्रवेश गर्ने किसानले बताएका छन् । पातसँगै भित्रको गोभा खाने अनि बोट सुकेर जमिन खाली हुन लागेको पञ्चेश्वर २ का कृषक देब वहादुर चन्दले बताए । ‘गहुँ पनि भएन खेतको मकैमा पनि रोग लाग्न थाल्यो । पाखोमा लगाएको मकैमा पनि रोग नै लाग्छ भने अब भोकले मर्नुपर्ने हो’ निरास भएर उनले भने ।
बैतडीको धेरै जसो पानी लाग्ने खेतमा तीन बाली लगाउने गर्दछन् । गहुँ पाकेपछि लगत्तै मकै र मकै पाकेपछि धान रोप्ने गर्दछन् । पाखो जमिनमा भने गहुँ, मकै र कोदो रोप्ने गर्दछन् ।
किसानको गुनासो आएपछि आफू फिल्ड गएको र मकैमा गभारो रोगले त्यो किरा देखिएको पञ्चेश्वर गाउँपालिका वडा नं. २ का कृषि प्राविधिक विशन चन्दले बताए । ‘अहिले वडामा त्यो रोग नियन्त्रण गर्ने विषादी नभएकाले गाउँपालिकामा विषादीको लागि माग फारम पठाएका छौँ’ उनले भने ।
फियराडम विषादीले यो रोगलाई नियन्त्रण गर्न सकिने र स्थानिय स्तरमा एक लिटर गाई भैँसीको गहुँतमा पाँच लिटर पानी मिसाएर छर्के पनि गभारो रोग केहि कम हुने कृषि प्राविधिक बताउँछन् ।
अहिलेसम्म कुनै पनि किसानले आफुकाहाँ गुनासो नसुनाएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्य प्रमुख दिल बहादुर सिंहले बताए ।