काठमाडौं । लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीका यी महत्त्वपूर्ण सूचकहरूमा ध्यान दिनु उपयुक्त देखिन्छ :
प्रतिशेयर आम्दानी
कम्पनीले आर्जन गरेको मुनाफालाई कुल शेयर संख्याले भाग गरेर प्रतिशेयर आम्दानी निकालिन्छ । यसरी निकालिएको प्रतिशेयर आम्दानी तीन महीनासम्मका लागि उपयुक्त मानिन्छ । यसलाई वार्षिकीकरण गर्ने हो भने फरक सूत्र प्रयोग गर्नुपर्छ । यद्यपि शेयर लगानी गर्नेहरूको लागि तीन/तीन महीनामा निकालिने प्रतिशेयर आम्दानी बढी महत्त्वपूर्ण हुन्छ । यो शेयर मूल्य मापन गर्ने एक महत्त्वपूर्ण औजार हो ।
प्रतिशेयर आम्दानी धेरै भएको कम्पनीको शेयरमा गरिएको लगानीलाई राम्रो मानिन्छ । प्रतिशेयर आम्दानी कम भएको कम्पनीमा लगानी गर्दा प्रतिफल प्राप्त हुने सम्भावना कम रहने जानकारहरू बताउँछन् । त्यसैले प्रतिशेयर आम्दानी वृद्धि भइरहेको कम्पनीको शेयरमा लगानी गर्नु उपयुक्त हुन्छ । कम्पनीको कमाइ राम्रो छ भने लगानीकर्ताले राम्रो प्रतिफल पाउन सक्ने अवस्था हुन्छ ।
मूल्य आम्दानी अनुपात
पछिल्लो बजार मूल्यलाई प्रतिशेयर आम्दानीले भाग गरेर आउने अनुपातलाई मूल्य आम्दानी अनुपात भनिन्छ । यो अनुपात जति कम भयो त्यति नै राम्रो मानिन्छ । कम मूल्य आम्दानी अनुपात भएको कम्पनीको शेयरमा लगानी गरेमा जोखिम कम र मूल्य बढ्ने अनुमान गर्न सकिन्छ । मूल्य आम्दानी अनुपात बढी भएको कम्पनीमा लगानी गरेमा जोखिम बढी हुने जानकारहरू बताउँछन् ।
सामान्यतया मूल्य आम्दानी अनुपात १८ देखि २५ बीच रहेको कम्पनीमा लगानी गर्नु सुरक्षित मानिन्छ । पछिल्लो समय केही कम्पनीको मूल्य आम्दानी अनुपात १०० भन्दा बढी रहेको छ । यस्ता कम्पनीहरूको शेयरमा बढी जोखिम हुने गर्दछ । कम्पनीहरूले तीन/तीन महीनामा यो अनुपात दिने गरे तापनि लगानीकर्ताले जहिले चाहियो त्यति बेला नै हिसाब गरेर पछिल्लो अवस्था थाहा पाउन सक्छन् । बजार धेरै नै घटेको अवस्थामा यो अनुपातलाई पनि हेरेर लगानी गरेमा प्रतिफल राम्रै हुने विश्लेषकको दाबी छ ।
प्रतिशेयर नेटवर्थ
प्रतिशेयर नेटवर्थबाट कम्पनीले आफ्नो दायित्व कुशलतापूर्वक निभाउन सकिरहेको छ कि छैन भनेर मूल्यांकन गर्न सकिन्छ । यो धेरै हुनु नै राम्रो मानिन्छ । प्रतिशेयर नेटवर्थ वृद्धि हुनुले उसको दायित्व घटिरहेको छ भन्ने देखाउँछ । यदि यो सूचक नकारात्मक भएमा कम्पनीको अवस्था खराब रहेको बुझ्न सकिन्छ । लगानी गर्नुपूर्व लगानीकर्ताले धेरै नेटवर्थ भएको कम्पनीमा लगानी गर्नु उचित मानिन्छ । यसलाई किताबी मूल्य पनि भनिन्छ । कारणबस कम्पनी डुब्ने अवस्था आएमा आफ्ना लगानीकर्तालाई किताबी मूल्यको आधारमा लगानी फिर्ता गर्ने गर्दछ ।
नेटवर्थ निकाल्ने सूत्र : कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाउने र आउने परिणामलाई कुल शेयर संख्याले भाग गर्नुपर्छ ।
जगेडा कोष
लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको जगेडा कोष पनि हेर्नुपर्ने हुन्छ । कम्पनीले सार्वजनिक गर्ने वित्तीय विवरणमा चुक्तापूँजीसँगै जगेडालाई पनि उल्लेख गरिएको हुन्छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै खडा भएको यो कोषले कम्पनीको प्रतिकूल अवस्थाको सामना गर्ने क्षमतालाई बुझाउँछ । यो कोषको आकार सबल रहेका कम्पनीहरूको जोखिम वहन क्षमता मजबुत भएको मानिन्छ ।