काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा रू. १ अर्ब ६ करोड बराबरको कागती आयात भएको छ । विगत १३ वर्षको तथ्यांकको विश्लेषण गरी हेर्दा यस अवधिमा कागती आयातको औसत वार्षिक वृद्धिदर करीब ४२ प्रतिशत रहेको छ । कृषि श्रमिकको कमी, कागती खेतीयोग्य कृषि भूमिको विनाश, बढ्दो शहरीकरण तथा भूमि मूल्य, ठूला कृषकलाई शोषक सामन्त भन्दै असुरक्षा उत्पन्न गर्ने राजनीतिक प्रवृत्ति, ग्रामीण क्षेत्रमा बढ्दो असुरक्षा, अराजकता एवं कृषिमा ठूलो अनुदानयुक्त मुलुकको कागती उत्पादन रणनीतिका कारण स्वदेशमा माग बमोजिम कागती उत्पादन हुन नसक्दा यसको आयातमा उच्च वृद्धि देखिएको हो । उक्त परिस्थितिलाई दृष्टिगत गर्दै कागती उत्पादनमा सही रणनीति अवलम्बन गर्ने हो भने मुलुक केही वर्षभित्रै यसमा आत्मनिर्भर हुने निश्चित छ ।