नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीविरुद्द अख्तियार दुरुपयोग अनुसनधान आयोगमा उजुरी परेको छ । कार्यकारी निर्देशक थानीले ४० करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी परेको हो । पटक पटक पेट्रोलियम पदार्थको भाउ बढाउँदा स्टक क्लियरेन्स नगरी मूल्य बढाएर ४० करोड रुपैयाँ भ्रष्टचार गरेको भन्दै उनी विरुद्द सोमबार अख्तियारमा उजुरी परेको हो । उजुरीमा कार्यकारी निर्देशक थानीले पेट्रोल पम्पहरुसँग मिलेर मूल्य बढाउने गरेको दाबी गरिएको छ । उजुरीकर्ता दामोदर रेग्मीले पहिला पेट्रोल पम्पहरुलाई प्रशस्त इन्धन दिएर पम्पहरुमा इन्धन बाँकी हुँदै चर्को मूल्यवृद्धि गर्ने गरिएको उल्लेख गरेका छन् । उनले यस वापत पम्पहरुले पाउने लाभमा निगमका हाकिमले पनि हिस्सा पाउने भएरै उनले पम्पहरुमा स्टक बाँकी हुँदै मूल्य बढाउने गरेको दाबी गरेका छन् ।निगमका कार्यकारी निर्देशकको मिलेमतोबीमा पम्पलाई प्रशस्त इन्धन दिएर अनि मूल्य बढाउने कुरा सम्भव नहुने दाबी रेग्मीको छ । संसदमा सांसदहरुले पनि सोमबार स्टक क्लियरेन्स नगरी मूल्य बढाउने काम भएको भन्दै यस विषयमा आयल निगमका अधिकारीदेखि मन्त्रीहरुसम्मको मिलेमतो रहेको आरोप लगाएका थिए । अख्तियारमा निगमका हाकिम विरुद्द मुद्दा दायर गरेका रेग्मीले तत्काल छानविन गरी दोषीमाथि कारवाहीको माग गरेका छन् ।