रुकुमपूर्व । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र रुकुम (पूर्व)ले कोभिड–१९ विरुद्धको खोपमा सबै नागरिकको सहज पहुँच पुर्याउने उद्देश्यले ‘खोज र खोप अभियान’ सञ्चालन गर्ने भएको छ । कोभिड–१९ विरुद्धको खोप लगाउने लक्षित जनसंख्या धेरै छुटेकाले उनीहरूका लागि समुदाय स्तरमा यो अभियान सञ्चालन गर्न लागिएको केन्द्रले बताएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको केन्द्रको बैठकले अभियानलाई सफल बनाउन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाको नेतृत्वमा समुदायस्तरमा जाने निर्णय गरेको हो । अन्य जिल्लाको तुलनामा रुकुम (पूर्व)मा खोप कार्यक्रमको पहुँचमा नपुगेका मानिस बढी भएको भन्दै पालिकाबाट सञ्चालन खोप कार्यक्रमको क्षेत्र विस्तार गर्नुपर्ने निष्कर्ष छलफलबाट निस्किएको छ ।
जिल्लामा खोप थन्किएको छ । खोप लगाउने मान्छे नआउँदा खोप कार्यक्रम प्रभावित बन्न पुगेको बताइएको छ । भूमे र सिस्ने गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन भए पनि पुथाउत्तरगंगा गाउँपालिकामा खोप लगाउन मानिस नआउँदा कार्यक्रम नै प्रभावित हुन पुगेको स्वास्थ्य कार्यालय रुकुम (पूर्व)ले बताएको छ । रासस