मलाई अचेल एकदम गाह्रो हुन थालेको छ। खाना रुच्दैन, केही खाइहाले बान्ता भएर जान्छ। बेलाबेला म आफू समुन्द्रमा डुबेको अनि ऋण तिर्न नसकेर बाले आत्महत्या गरेको सपना देख्छु। कहिले भने छोराले उसका साथीहरुलाई 'मेरो पापा अमेरिका गैसेको छ, मलाई पनि लैसिन्छ' भनेर गफ लगाएको देख्छु भने तिम्रो पेटको सन्तान जन्मेर 'मेरो बाबा खोई?' भनेर सोधेको देख्छु।