काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १५ वित्त कम्पनीमध्ये १४ कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । हालसम्म रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भने चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छैन ।
वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीमध्ये दुई कम्पनी नोक्सानीमा छन् भने बाँकी सबै नाफामा छन् । प्रोग्रेशिभ फाइनान्स र समृद्धि फाइनान्स नोक्सानीमा छन् । यी दुवै कम्पनी गत आवमा भने नाफामा थिए । समृद्धि फाइनान्सले रू. ७ करोड ७३ लाख नोक्सानी व्यहोरेको छ भने प्रोग्रेशिभ फाइनान्स रू. १ करोड ३० लाख नोक्सानीमा छ । चालू आवमा यी दुवै कम्पनीको इम्पेरमेन्ट चार्ज र निष्क्रिय कर्जा बढेको छ ।
नाफामा रहेका कम्पनीहरूमध्ये सबैभन्दा बढी नाफा मञ्जुश्री फाइनान्स कम्पनीले रू. १३ करोड ६५ लाख कमाएको छ । यो नाफा गत आवको तुलनामा ८१ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले रू. ७ करोड ५३ लाख नाफा कमाएको थियो । त्यस्तै दोस्रोमा गोर्खाज फाइनान्सले रू. ६ करोड ७१ लाख नाफा कमाएको छ । यस कम्पनीको नाफा गत आवको तुलनामा चालू आवमा सबैभन्दा बढी २४६ दशमलव ९७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. १ करोड ९३ लाख नाफा कमाएको थियो ।
चालू आवको दोस्रो त्रैमासमा अधिकांश कम्पनीको नाफा घटेको छ । वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीहरूमध्ये गत आवको तुलनामा चालू आवमा तीन कम्पनीको नाफा बढेको छ भने बाँकी सबै कम्पनीको नाफा घटेको छ । मञ्जुश्री फाइनान्स, गोर्खाज फाइनान्स र पोखरा फाइनान्सको नाफा बढेको छ भने बाँकी सबैको घटेको छ ।
नाफा घट्नेमा सबैभन्दा बढी सेन्ट्रल फाईनान्स रहेको छ । यस कम्पनीको नाफा गत आवको तुलनामा चालू आवमा ९८ दशमलव ८६ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. ३ करोड ५० लाख नाफा कमाएकोमा चालू आवमा रू. ३ लाख ९९ हजारमा सीमित भएको छ । चालू आवमा अधिकांश कम्पनीहरूको निष्क्रिय कर्जा बढेकाले नाफा प्रभावित भएको हो ।