वन क्षेत्रले घेरिएको शुक्लाफाँटा नगरपालिका–८ स्थित ‘बेलडाँडी’ तरकारी खेती हुने गाउँमा परिचित छ । गाउँका अधिकांश व्यक्ति बाह्रै महिना तरकारी खेती गर्छन् । तरकारी खेती गर्नेमा जनजाति समुदायका व्यक्तिको बाहुल्यता छ । जसमा महिला अग्रस्थानमा छन् । बिहानको झिसमिसेदेखि साँझ अबेरसम्म यहाका बासिन्दा तरकारी बारी स्याहार्न, तरकारी टिप्न र बजारमा लगेर बेच्नछन् । खेत र बारीमा लटरम्म गोलभेँडा, काउली, ब्रोकाउली, बन्दागोभी, आलु, प्याज, लहसुन, खुर्सानीलयात तरकारी फलेका छन् ।
गाउँका बासिन्दाले तरकारी खेतीबाट कमाएको पैसाले परिवारको खर्च धान्ने गर्छन् । तरकारी खेती नहुँदा विगतमा यहाँका युवा रोजगारीका लागि भारतसँगै बाह्य मुलुकमा जाने गरेका थिए । तरकारी खेती गर्ने तौरतरिका सिकेपछि यहाँका बासिन्दाले तरकारी खेतीलाई व्यावसायिक बनाएपछि बाह्य क्षेत्रमा रोजगारीका लागि जाने युवा गाउँमै तरकारी खेतीमा परिवारसँगै संलग्न हुन थालेका छन् ।