भोजपुर (अस) । भोजपुरमा एभोकाडोको व्यावसायिक खेती शुरू गरिएको छ । जिल्लाको अरुण गाउँपालिका–६ जरायोटारका प्रमेकुमार राईले विगत ५ वर्षदेखि भोजपुुरमा एभोकाडोको व्यावसायिक खेती शुरू गरेका छन् ।
छिमेकी जिल्ला धनकुटाकाबाट ५० ओटा बिरुवा ल्याएर व्यवसाय शुरू गरेका राईले अहिलेसम्म ३०० बिरुवा पुर्याइसकेका छन् । एभोकाडो फलका बारेमा जानकारी पाएपछि आफूले व्यवसाय शुरू गरेको उनले बताए । ‘नेपालमा भन्दा विदेशमा एभोकाडोको राम्रो विक्री वितरण हुने गर्दछ,’ राईले भने, ‘तर पछिल्लो समय नेपालमा विदेशीहरू आउने क्रम बढेकाले नेपालमा समेत विक्री हुने गरेको छ ।’ कम मेहनतमै लामो समयसम्म राम्रो आम्दानी लिन सकिने भएपछि आफू एभोकाडो खेतीमा लागेको उनको
भनाइ छ ।
राईले अरुण गाउँपालिका–६ जरायोटारमा करीब ३०० रोपनी क्षेत्रफलमा एभोकाडोको व्यावसायिक खेती शुरू गरेका हुन् । करीब ५ वर्ष विदेश बसेर आएका उनले आफ्नै देशमा केही गर्ने उद्देश्यले एभोकाडोको व्यावसायिक खेती शुरू गरेका हुन् । उनको फार्ममा अहिले १ हजार ६०० भन्दा बढी एभोकाडोको बिरुवा छन् । नेपालमा एभोकाडो ३०० देखि ५०० प्रति केजीसम्म पर्ने गरेको राईको भनाइ छ ।
अबको केही वर्षदेखि वार्षिक रूपमा ५० लाखसम्म आम्दानी लिने लक्ष्य राखेको राईले बताए । कृषि ज्ञान केन्द्र तथा स्थानीय तहहरूले कृषकहरूलाई एभोकाडोका बिरुवा वितरणसँगै आर्थिक तथा प्राविधिक सहयोग समेत गर्दै आएको छ ।