कराँची । अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपया बलियो बनेको छ । गएको ११ दिनमा डलरको तुलनामा पाकिस्तानी रुपयाको भाउ ९ रुपया २४ पैसाले बढेको छ । अर्थात् सो अवधिमा डलरभन्दा पाकिस्तानी रुपया ३ दशमलव ४ प्रतिशतले बलियो बनेको छ । फेब्रुअरी ३ मा डलर-पाकिस्तानी रुपैया विनिमय दर २७६ रुपया ५८ पैसाको कीर्तिमानी उचाइमा उक्लिएको थियो ।
सरकारले अन्तरबैंक विनिमयमा सीमा तोकेपछि कालो बजारमा चलखेल र नाफाखोरी बढ्दा रुपया झनै कमजोर बनेको थियो । जनवरीको अन्तिम हप्तामा विनियममा लगाएको सीमा हटाएसँगै डलरको विनिमय दरमा छाएको अनिश्चय हटेको छ भने अन्तर बैंक र खुला बजारमा डलरको आपूर्ति बढ्दा रुपयाको भाउले टेवा पाएको छ ।
केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तानले मंगलवार जनाएअनुसार उक्त दिन पाकिस्तानी रुपयाको तुलनामा डलरको भाउ २ रुपया १० पैसा कमजोर भएर २६७ रुपया ३४ पैसामा आएको थियो । जनवरी ३१ देखि फेब्रुअरी ९ को बीचमा बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोषसँगको वित्तीय उद्धार बापतको किस्ताको रकम निकासी गर्नेसम्बन्धी १० दिनसम्मको वार्ता निष्कर्षविहीन बनेको थियो ।
कोषले १ अर्ब २० करोड डलर बराबरको सो किस्ता जारी गरेमा अन्य बहुपक्षीय कर्जादाता र मित्र देशहरूबाट पनि पाकिस्तानको लागि सहयोगको बाटो खुल्नेछ ।
यसैबीच बहुराष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी फिचले पाकिस्तानको कर्जाको साख घटाएको छ । यसअघि सीसीसी प्लस रहेको कर्जा साख घटाएर सीसीसी माइनसमा झारिएको छ ।
तरलता संकट खराब बन्दै गइरहेको राजनीतिक अस्थिरता र विदेशी विनिमय सञ्चिति डराउनै पर्ने गरी न्यून स्तरमा आएको अवस्थामा पाकिस्तान विदेशी कर्जाको साँवा ब्याज भाकामै तिर्न नसक्ने सम्भावनातार्फ औंल्याउँदै फिचले मंगलवार कर्जा साख घटाएको हो ।
सीसीसी माइनसको अर्थ डिफल्टमा जाने जोखिम उच्च छ । फिचले रेटिङ त्रिपल सीप्लसभन्दा तल भएको सार्वभौम कर्जाको साखको परिदृश्यबारे खासै चर्चा गर्दैन । फिचको नजरमा पाकिस्तान डिफल्टमा जाने वा कर्जाको पुनःसंरचना हुने सम्भावना बढेको छ । एजेन्सीहरु