काठमाडौं । हिमालयन बैंक र सिभिल बैंक लिमिटेडले आजबाट एकीकृत कारोबार शुरू गरेका छन् । हिमालयनले सिभिल बैंकलाई प्राप्तिपछि हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार थालेका हुन् ।
दुवै कम्पनीले गत पुस २८ गते वार्षिक साधारण सभामार्फत प्राप्तिसम्बन्धी प्रस्तावलाई पारित गरेका थिए ।
हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८० दशमलव २८ को अनुपातमा शेयर आदानप्रदान गर्दै प्राप्ति गरेको हो । यस आधारमा सिभिल बैंकको १०० कित्ता शेयर हुने शेयरधनीहरूले प्राप्तिपश्चात् हिमालयन बैंकको ८० दशमलव २८ कित्ता शेयर प्राप्त गर्नेछन् ।
प्राप्तिपश्चात् बैंकको रजिष्टर्ड कार्यालय हाल हिमालयन बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान कमलादी, काठमाडौंमा रहनेछ । प्राप्तिपछि कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिमालयन बैंककै अशोक राणा रहने छन् ।
एकीकृत कारोबारपछि शाखा सञ्जालको संख्या १८९ पुगेको छ । हिमालयन बैंकका नामबाट एकीकृत कारोबार शुरु भएसँगै अब वाणिज्य बैंकको संख्या २१ मा झरेको छ ।