काठमाडौं विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा हाइड्रोजन कार भित्त्याएको छ । हाइड्रोजनको अनुसन्धान र विकासका लागि निगमले विश्वविद्यालयलाई सहयोग गर्ने औपचारिक सम्झौता भएअनुसार यस्तो कार आयात गरिएको हो । कारका लागि चाहिने हाइड्रोजन विश्वविद्यालयले आफै उत्पादन गर्नेछ र ग्यास भर्न आवश्यक उपकरणको व्यवस्थासमेत गरिसकेको छ । यसरी मुलुक हाइड्रोजन प्रयोगमा अघि बढेको छ । यसलाई व्यापक बनाउन आवश्यक देखिन्छ ।
नेपालमा अहिले ब्याट्रीबाट चल्ने गाडीहरूको विक्री निकै बढेको छ । सरकारले वातावरणमैत्री भनेर यस्ता सवारीसाधनलाई भन्सार र अन्त:शुल्क आदिमा छूट दिएर प्रोत्साहन गरिरहेको छ । तर, कतिपय अर्थशास्त्रीले यसले अर्थतन्त्रलाई लाभ दिँदैन भनी आलोचनासमेत गरेका छन् । नेपालमा ब्याट्रीबाट चल्ने सवारीसाधन उपयुक्त कि हाइड्रोजनबाट चल्ने उपयुक्त भन्नेमा बहस चलेको छ । ब्याट्रीबाट चल्ने गाडीको उत्पादनमा छिमेकी मुलुकहरू चीन र भारत आक्रामक तरीकाले लागिपरेकाले नेपालमा त्यसको प्रभाव परेको देखिन्छ । तर, यी दुवै देशले हाइड्रोजनका लागि पनि काम गरिरहेका छन् । नेपाल जलस्रोतमा धनी भएकाले एकातिर बिजुली निकालेर त्यसको उपयोग हाइड्रोजन उत्पादनमा लगाउन सकिन्छ भने अर्कातिर हाइड्रोजन निर्यात पनि गर्न सकिन्छ । विज्ञहरूका अनुसार ८ केजी पानीबाट ६ केजी हाइड्रोजन बनाउन सकिन्छ । शुद्ध पानीलाई उच्च ऊर्जा प्रयोग गरेर हाइड्रोजन निकाल्न सकिन्छ । अन्य देशले हाइड्रोजन निकाल्नका लागि स्वच्छ ऊर्जा पाउन अलिक गाह्रो हुन्छ भने नेपालका लागि यो सहज छ । नेपालको बिजुली विक्री नभएर खेर गइरहेको छ । त्यो खेर गइरहेको बिजुली प्रयोग गरेर हाइड्रोजन निकाल्न सकिन्छ । यसरी निकालिएको हाइड्रोजन जहाँ पनि लान सकिन्छ । त्यसैले नेपालले जलस्रोतको दोहनका लागि हाइड्रोजन ऊर्जालाई नै प्राथमिकतामा राख्नु आवश्यक छ । यसो गर्दा इन्धन आयात गर्ने मुलुकबाट निर्यात गर्ने मुलुकमा स्थापित हुन सकिन्छ ।
विद्युतीय गाडी चार्ज गर्न समय लाग्छ भने ६ किलोग्राम हाइड्रोजन भर्न पाँच सात मिनेट भए पुग्छ जसबाट गाडी ८ सय किलोमीटरसम्म गुड्न सक्छ । त्यसैले हाइड्रोजनलाई भविष्यको ऊर्जा मानिएको छ । नेपालमा यसको सम्भावना बढी देखिएकाले सरकारले हाइड्रोजनको विकासका लागि पर्याप्त लगानी गर्नु आवश्यक छ ।