खराब कर्जा बढेपछि घट्यो सिद्धार्थ बैंकको नाफा, अन्य सूचक कस्तो ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।  विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २६ दशमलव ३८ प्रतिशत घटेको छ । गत आवको दोस्रो त्रैमाससम्म रू. १ अर्ब ५७ करोड नाफा कमाएको कम्पनीले चालू आवको सोही अवधिमा रू. १ अर्ब १६ करोडमात्र कमाएको हो ।  चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेको र सञ्चालन नाफा घटेकोले नाफा घटेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा २७ प्रतिशत घटेको छ । त्यस्तै कम्पनीको निष्क्रिय कर्जा गत आवमा शून्य दशमलव ३७ प्रतिशत रहेकोमा चालू आवमा २ दशमलव ८७ प्रतिशत पुगेको छ ।  त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ३३ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ३ अर्ब खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा रू. ४ अर्बभन्दा माथि पुगेको छ । १२ दशमलव ५० प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. १४ अर्ब पुगेको छ । त्यस्तै कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म जगेडामा रू. ८ अर्ब ८२ करोड र रिटेन्ड अर्निङमा रू. ९ करोड ६५ लाख सञ्चित गरेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा प्रतिशेयर आम्दानी रू. २२ दशलमव ३३ रहेको कम्पनीको चालू आवमा रू. १६ दशमलव ५३ मा झरेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात १८ दशमलव ६० गुणा, तरलता अनुपात २५ दशमलव ४३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६३ दशमलव २९ रहेको छ ।

सम्बन्धित सामग्री

बैंकको घट्दो प्रतिफल

बैंकहरूले आफ्ना लगानीकर्तालाई दिने प्रतिफल निरन्तर घटिरहेको छ, जुन कुरा यसअघि नै बैंकर तथा लगानीकर्ताले भन्दै पनि आएका हुन् । बैंकर्स संघले पछिल्लोपटक सार्वजनिक गरेको तथ्यांकले वाणिज्य बैंकहरूको पूँजीअनुसार प्रतिफल (रिटर्न अन इक्विटी–आरओई) निरन्तर घटिरहेको पुष्टि गर्छ । आर्थिक वर्ष (आव) २०६७/६८ मा २६ दशमलव ४१ प्रतिशत प्रतिफल दिन सकेका वाणिज्य बैंकहरूले चालू आवको चैतसम्म १० दशमलव ८ प्रतिशत प्रतिफल दिनसक्ने देखिएको छ । चालू आवमा त्यति प्रतिफल दिने अवस्थामा पुग्नुको कारणमा त आर्थिक मन्दीलगायत समस्या होलान् । तर, त्यसअघिका थुप्रै वर्षमा बैंकले लगानीकर्तालाई दिने प्रतिफल सन्तोषजनक नभएको गुनासो रहँदै आएको छ । आव २०७८/७९ मा १३ दशमलव ५१ प्रतिशत प्रतिफल दिन सकेका बैंकहरूले त्यसको अघिल्लो वर्ष १२ दशमलव ६६ प्रतिशत प्रतिफल दिएका थिए । त्यस्तै आव २०७६/७७ मा १२ दशमलव ५२ र आव २०७५/७६ मा १६ दशमलव ९२ प्रतिशत वाणिज्य बैंकका लगानीकर्ताले प्रतिफल पाएका थिए ।  यद्यपि नेपालमा अझै पनि कतिपयले बैंकहरूको आम्दानी बढी भएको तर्क गर्छन् । बैंकमा तुलनात्मक रूपमा दक्ष जनशक्तिले काम गर्ने र प्रणाली पनि पारदर्शी हुनैपर्ने भएकाले वित्तीय संस्थाहरूको हिसाब स्पष्ट रूपमा सार्वजनिक हुने गर्छ । यसले गर्दा बैंकहरूको आर्थिक अवस्था सहजै सार्वजनिक हुन्छ । यस्तो अवस्थामा एकथरीले वित्तीय संस्थाको नाफा बढी भयो भन्ने र अर्काथरीले नाफा घटिरहेको तथ्यांक प्रस्तुत गर्दा समस्या समाधानका लागि कतै पनि पुग्न सकिँदैन । फेरि जुनसुकै व्यवसाय गर्नुको उद्देश्य नाफा कमाउनु नै हो । नाफा नहुने क्षेत्रमा कोही पनि लगानीकर्ता आकर्षित हुँदैनन् । तर, कतिसम्म नाफा कमाउने भन्ने कुरा महत्वपूर्ण हो । नेपालमा गतिलो र प्रभावकारी प्रणालीको विकास हुन नसक्दा बैंकिङबाहेकका क्षेत्रको नाफा, घाटाको अवस्था के छ भन्ने कुरामा सधैं द्विविधा हुने गर्छ । पछिल्लो ८–१० वर्षको तथ्यांक हेर्दा बैंकहरूले दिने प्रतिफलमा भने कमी आएको छ । त्यसैले अहिलेको मत्वपूर्ण कुरा बैंकहरूको नाफा किन निरन्तर घटिरहेको छ भन्ने हो । बैंकको नाफा घट्नुमा यतिखेर मुख्यतया तीन कारण देखिन्छ । पहिलो बैंकहरूको आफ्नै कार्यकुशलतामा शिथिलता, दोस्रो अर्थतन्त्र नै ओरालो लाग्नु र तेस्रो नियामकीय व्यवस्था । त्यसैले यीमध्ये कुन बढी समस्या हो भन्नेबारे यकीन गर्न सम्बद्ध निकाय गम्भीर बन्नुपर्ने देखिएको छ । समस्याको यकीन नगरी प्रतिफल घट्यो भनेर चिन्ता मात्र गर्नुको कुनै अर्थ हुँदैन । कतिपयले केन्द्रीय बैंकले ब्याजदर र सेवाशुल्कमा कडाइ गर्दा आम्दानी वृद्धिमा अंकुश लागेको पनि बताएका छन् । राष्ट्र बैंकको माइक्रोम्यानेजमेन्ट अलि बढी नै हो भने पनि विस्तृत अध्ययन भयो भने समस्या समाधानका लागि नयाँ नीति बनाउन योगदान पुग्छ । यही बेला ऋण असुली प्रभावित हुँदा खराब कर्जा बढेको पनि पाइन्छ । चैतसम्ममा वाणिज्य बैंकहरूको औसत खराब कर्जा ३ दशमलव शून्य ३ प्रतिशत पुगेको छ । गत आवमा बैंकहरूको खराब कर्जा १ दशमलव १० प्रतिशत रहेकोमा चालू आवको पहिलो त्रैमासमा १ दशमलव ८३ र दोस्रो त्रैमासमा २ दशमलव ३५ प्रतिशत पुगेको थियो । बैंकहरूको प्रतिफल घट्दै जानुको कारण पत्ता लाग्नै नसक्ने छैन/होइन । बैंककै आफ्नै कार्यकुशलताको कमजोरी हो भने त्यसमा सुधार गर्न धेरै माथापच्ची गरिरहनु परेन । बैंकिङ मूल्यमान्यता र सिद्धान्तमा अनुशासित भएर काम गरे भइहाल्यो । त्यस्तै नियामकीय निकायले अवरोध गरेको छ भने पनि त्यसमा सुधार गर्न नसक्ने भन्ने भएन । अब रह्यो आर्थिक मन्दीको कुरा, अहिले मात्र बैंकहरूको प्रतिफल घटेको होइन, यसअघिका कैयन् वर्षमा अर्थतन्त्र त्यति समस्यामा नहुँदा पनि बैंकहरूको प्रतिफल घटेकै थियो । त्यसैले बैंकमा भएको लगानीअनुसार प्रतिफल प्राप्त हुन नसक्नुमा सतही छलफलमा अलमलिनुभन्दा गहिरो र तुलनात्मक अध्ययन नै अहिलेको आवश्यकता हो । यदि समय र परिस्थितिअनुसार अहिले बैंकहरूले दिइरहेको प्रतिफल ठीकै हो भने पनि अध्ययनबाट निचोड निस्कँदा बढी विश्वासयोग्य हुन्छ ।

कृषि विकास बैंकको खुद नाफा घट्यो, बाड्न मिल्ने नाफा ३ अर्ब ९० करोड

आर्थिक वर्ष ७८/७९ मा कृषि विकास बैंकको खुद नाफा २३.७४ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ७७/७८ मा बैंकको खुद नाफा ३ अर्ब ५२ करोड रहेकोमा आर्थिक वर्ष ७८/७९ मा बैंकको नाफा घटेर २ अर्ब ६९ करोड कायम भएको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ९० करोड रहेको छ । यस बैंकले गत वर्षको वितरणयोग्य मुनाफालाई समावेश गरेको छ । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.३० प्रतिशतले बढेर ७ अर्ब ७७ करोड पुगेको छ । बैंकको संचालन मुनाफा भने १८.१५ प्रतिशतले घटेर ४ अर्ब ११ करोड कायम भएको छ।बैंकको निक्षेप २.२६ प्रतिशतले बढेर १ खर्ब ६६ अर्ब पुगेको छ भने कर्जा प्रवाह १८.५४  प्रतिशतले बढेर १ खर्ब ७८ अर्ब पुगेको छ । बैंकको खराब कर्जा १.८३ प्रतिशतबाट घटेर १.६८ प्रतिशत कायम भएको छ ।१८ अर्ब ६२ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा १५ अर्ब १२ करोड रहेको छ ।   बैंकको प्रति शेयर आम्दानी १७ रुपैयाँ ९३ पैसा रहेको छ भने प्रति शेयर नेट वर्थ २१२ रुपैयाँ २५ पैसा रहेको छ ।

कुमारी बैंकको नाफा घट्यो , वितरणयोग्य मुनाफा १ अर्ब बढी

चालु आर्थिक वर्ष ७८/७९ को पहिलो त्रैमासमा कुमारी बैंक Kumari Bank Limited  को खुद नाफा १०.११ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा ६० करोड २५ लाख रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घटेर ५४ करोड ११ लाख कायम भएको हो । बैंकको खुद ब्याज आम्दानी २.१९ प्रतिशतले घटेर १ अर्ब २८ करोड कायम भएको छ । बैंकको संचालन मुनाफा पनि १०.५८ प्रतिशतले घटेको छ । बैंकको नेट फि तथा कमिशनको आम्दानी भने ६७.०५ प्रतिशतले बढेको छ । बैंकको कर्जा प्रवाह ६.४१ प्रतिशतले बढेर १ खर्ब ५२ अर्ब पुगेको छ भने निक्षेप ६.४१ प्रतिशतले बढेर १ खर्ब ५५ अर्ब पुगेको छ । १३ अर्ब ८७ करोड चुक्ता पुंजी भएको कम्पनीको रिजर्भमा ५ अर्ब ३५ करोड रहेको छ । बैंकको खराब कर्जा ०.८२ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १५ रुपैयाँ ६० पैसा, र प्रति शेयर नेट वर्थ १३८ रुपैयाँ ५६ पैसा रहेको छ । बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १० करोड रहेको छ ।