वैशाख ७, काठमाडौं । चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा एनआईसी एशिया बैंकको नाफा करीब २० प्रतिशत वृद्धि भएको छ ।
चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा कम्पनीको नाफा १९ दशमलव ९६ प्रतिशतले वृद्धि भएको हो ।
वित्तीय विवरण अनुसार चालू आवको चैत मसान्तसम्म कम्पनीले ३ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा यो कम्पनीको नाफा ३ अर्ब ४८ लाख रूपैयाँ थियो ।
त्यस्तै चैत मसान्तसम्म यो कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ३८ करोड रूपैयाँ रहेको छ । यो बैंकको खराब कर्जा भने बढेको छ । गत आवको चैत मसान्तसम्म शून्य दशमलव ४७ प्रतिशत खराब कर्जा रहेकोमा चालू आवको सोही अवधिमा बढेर शून्य दशमलव ५१ प्रतिशत कायम भएको छ ।
त्यसैगरी कम्पनीको जगेडा कोषमा ९ अर्ब ७४ करोड रुपैयाँ जम्मा भएको छ । गत असार मसान्तसम्म कम्पनीको जगेडामा ७ अर्ब ७४ करोड रुपैयाँ थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी ४१ दशमलव ९४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २१० दशमलव ११रुपैयाँ छ । प्रतिशेयर बजार मूल्य ७५७, कुल सम्पत्तिमा प्रतिफल १ दशमलव ३९ प्रतिशत र तरलता अनुपात २० दशमलव शून्य ७ प्रतिशत रहेको छ ।