चैत १६, काठमाडौं । चितवन जिल्लाको राप्ती नगरपालिका–६ मा निर्माण भएको पूर्वी चितवन १३२/ ३३/ ११ केभी सब- स्टेसन बुधवारदेखि सञ्चालनमा आएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार चितवनमा आयोजित एक कार्यक्रमका बीच सब- स्टेसनको उद्घाटन गरेका छन् । स्थानीय राप्ती, खैरहनी र कालिका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन करीब ६३ करोड ३० लाख रुपैयाँको लगानीमा पूर्वी चितवन सब- स्टेसन निर्माण गरिएको हो । सब- स्टेसन निर्माणको काम २०७५ जेठदेखि शुरु गरिएको थियो ।
मकवानपुरको हेटौंडाबाट चितवनको भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई पूर्वी चितवन सब- स्टेसन भित्र छिराएर बाहिर निकालिएको छ ।
हेटौंडा–भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई पूर्वी चितवन सब- स्टेसनमार्फत त्यस क्षेत्रमा आपूर्ति गरिएको छ ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री प्रचण्डले विगतमा आफू प्रधानमन्त्री हुँदा ऊर्जा क्षेत्रमा सशक्त टिम बनाएर मुलुकबाट लोडसेडिङ अन्त्य गरेको उल्लेख गर्दै अहिले विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको बताए ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले खेतीयोग्य जमीनमा सिंचाइ सुविधा उपलब्ध गराउन विद्युतको महसुल सस्तो बनाइएको बताइन् ।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङले सब- स्टेसन सञ्चालनमा आएपछि यस क्षेत्रको प्राविधिक चुहावट घटेको, ग्राहकले गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् पाएको र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नु पर्ने अवस्थाको पनि अन्त्य भएको बताए ।
सब- स्टेसनमा १३२/ ३३ केभी, ३० एमभीए क्षमता र ३३/ ११ केभी, १६/ ६ एमभिए क्षमताका एक/ एक ओटा पावर ट्रान्सफर्मर रहेका छन् ।
सब- स्टेसनबाट ११ केभी फिडरमार्फत राप्ती र खैरहनी नगरपालिकामा विद्युत आपूर्ति भइरहेको छ । यसबाट करीब ४० हजार ग्राहक लाभान्वित भएको विद्युत् प्राधिकरणले बताएको छ ।