आफूलाई अराजक पूँजीवादी बताउने दक्षिणपन्थी नेता हाभियर मिलेई आर्थिक समस्यासँग जुधिरहेको अर्जेन्टिनाको राष्ट्रपति पदमा विजयी भएका छन् । नेपालबाट टाढा रहेको र व्यापारघाटा भएको मुलुक अर्जेन्टिनामा आएको यो परिवर्तनसँग नेपालको प्रत्यक्ष सम्बन्ध खासै देखिँदैन तर जसरी वामपन्थीहरूको रजगज भएको शासनसत्तामा मिलेईको आगमन भएको छ त्यसका कारण केलाउने हो भने नेपाललाई झस्काउने खालको छ । आर्थिक रूपले राम्रो मानिने यो देश आर्थिक संकटमा फस्न पुग्यो र अराजक अभिव्यक्ति दिने व्यक्ति राष्ट्रपति बन्न पुगे । नेपालको सन्दर्भ पनि अहिले त्यस्तै खालको छ । नेपालमा पनि दक्षिणपन्थी अराजक शक्तिको उदय हुने त होइन भन्ने प्रश्न उब्जाएको छ र अहिलेका गतिविधिले मुलुक त्यतैतर्फ लाग्न आँटेको हो कि भन्ने संकेत दिइरहेको छ । यसमा वर्तमान राजनीतिक परिवर्तनका पक्षधरहरू गम्भीर बन्नैपर्ने देखिन्छ ।
परिवर्तन अवश्यम्भावी हुन्छ । तर, परिवर्तनका लागि विभिन्न घटना परिघटनाहरूले भूमिका तयार पार्छन् । यस्तो परिवर्तन सधैं सकारात्मक हुन्छ भन्ने हुँदैन, कहिलेकाहीँ गलत दिशातर्फ पनि मोडिन सक्छ । त्यसले मुलुकलाई थप समस्याग्रस्त बनाउनुका साथै युद्ध र द्वन्द्वको भुँवरीमा लैजान पनि सक्छ । कैयौं मुलुकमा यस्तो भएको पाइन्छ । अहिले अर्जेन्टिनामा पनि त्यस्तै हुने हो कि भन्ने आशंका उब्जिएको छ । ‘अर्जेन्टिनालाई फेरि महान् बनाउने’ नारा दिएका मिलेई अराजक अभिव्यक्तिकै कारण चर्चामा मात्र आएनन्, लोकप्रिय पनि बनेर निर्वाचित भए । उनले केन्द्रीय बैंक खारेज गर्ने, अमेरिकी डलरलाई नै आफ्नो देशको मुद्रा बनाउने, संस्कृति महिला, स्वास्थ्य, शिक्षा लगायतका मन्त्रालय बन्द गर्ने, कल्याणकारी भत्ता कटौती गर्ने र कर्मचारी कटौती गर्ने एजेन्डा ल्याएर निर्वाचन जितेका छन् । निर्वाचनमा उनको एजेन्डाले भन्दा पनि जनतामा व्याप्त निराशाले गर्दा परिवर्तनको खोजी गरेका जनताले उनलाई मत दिएको देखिन्छ । जनतामा व्यापक निराशा आउनुको कारण त्यहाँको आर्थिक संकट हो । अर्जेन्टिनाको मुद्रास्फीति १४० प्रतिशत पुगेको छ भने ४० प्रतिशत जनता गरीबीको रेखामुनि पुगेका छन् । अर्थतन्त्र सुधार गर्न उसले ठूलो परिमाणमा विदेशी ऋण लिएको छ । कुनै बेला उसको मुद्रा पेसोको विनिमयदरलाई अमेरिकी डलरसँग स्थायी रूपमा आबद्ध गरेको पनि थियो तर अर्थतन्त्र बिग्रँदै गएपछि पेसोको मूल्य ओरालो लाग्यो । राजनीतिक नेतृत्वसँग जनता रुष्ट भए र मिलेईका अराजक कुराप्रति जनता आकृष्ट भए । त्यहाँ वामपन्थी सरकारकै वर्चस्व रहँदै आएको थियो । यी तमाम परिदृश्य नेपालसँग करीब करीब समान देखिन्छन् ।
आआफ्नै डम्फु बजाउने राजनीतिक दल र तिनको नेतृत्व नसच्चिए लोकतन्त्र नै सक्किने र अराजकताको उदय हुने प्रबल सम्भावना दूरक्षितिजमा देखिँदै छ । त्यसैले दलहरू परिणाममुखी कामतर्फ लाग्न ढिला भइसकेको छ ।
नेपालले आर्थिक संकट बेहोरेको धेरै नै भइसकेको छ । अर्थतन्त्र सुधारका लागि राजनीतिक नेतृत्व गम्भीर र इमानदार देखिएको छैन । जनताको असन्तुष्टि र निराशाको तह निकै बढेको छ । सरकारले लिने ऋण प्रतिवर्ष तीव्र गतिमा बढ्दै छ । आन्तरिक ऋण उठाएर कर्मचारीलाई तलब खुवाउन परिरहेको छ । संघीय संरचनाले परिणाम दिने गरी काम गर्न सकेको छैन । तर, थोरै समयमा नै यसका विरुद्ध जनमत तयार हुँदै छ । अर्थतन्त्रमा देखिएको समस्याका बीच दुर्गा प्रसाईंजस्ता अराजक अभिव्यक्ति दिने एकाएक ठूलो चर्चामा आएका छन् जससँग सरकारसमेत डराएको देखिन्छ । त्यस्तै पुराना पार्टी भनेका खराबै हुन् भन्ने विश्वास सर्वसाधारणमा बढ्दो छ र ती पार्टीका नेतृत्वको विरोध पनि चर्को रूपमा भइरहेको छ । पुराना दल र नेताको विरोध गरेकै भरमा नयाँ राजनीतिक दलको उदय भइसकेको छ भने मृत राजतन्त्रलाई बिउँताउने भन्दै चर्को अभिव्यक्ति दिनेहरू सामाजिक सञ्जालमा हिरो बनिरहेका छन् । अर्जेन्टिनाको निराशा र नेपालको निराशा समान छ । त्यहाँ वामपन्थी दलले धेरैजसो सरकारको नेतृत्व गरेजस्तै नेपालमा पनि वामपन्थी राजनीति हाबी छ । यसरी हेर्दा अर्जेन्टिनाको अवस्था र नेपालको अवस्था समान देखिन्छ । अहिले अराजक अभिव्यक्ति दिनेहरू शासनसत्तामा पुगे भने देशको हविगत झनै खराब हुन सक्छ । यो अवस्था बुझेर पनि दलहरू सच्चिने बाटोमा छैनन् । आआफ्नै डम्फु बजाउने राजनीतिक दल र तिनको नेतृत्व नसच्चिए लोकतन्त्र नै सक्किने र अराजकताको उदय हुने प्रबल सम्भावना दूरक्षितिजमा देखिँदै छ । त्यसैले दलहरू परिणाममुखी कामतर्फ लाग्न ढिला भइसकेको छ ।