मुलुकको विकासका लागि अनुशासन पहिलो सर्त हो र यसमा पनि आर्थिक अनुशासन सबभन्दा महìवपूर्ण हुन्छ । किनभने मुलुकमा भित्रिएका तमाम विकृति, विसङ्गतिको जड आर्थिक अनुशासनहीनता हो र यसैको आडमा भ्रष्टाचार मौलाउँदो छ । कार्यालयका खरदार–सुब्बाले सेवाग्राहीसँग पाँच सय–हजार रुपियाँ घुस खानेदेखि ठूला ठेक्का र आयातमा हुने नीतिगत भ्रष्टाचारले मुलुकको समग्र क्षेत्रको जग नराम्ररी हल्लिएको छ । भएका स्रोत–साधनको भरपुर उपयोग गरी आत्मनिर्भर बन्नुको साटो सुनको कचौरा बोकेर भीख माग्ने स्थितिबाट माथि उठ्ने जमर्को विगतदेखि नै भएन तर पनि आर्थिक वृद्धिदर आशलाग्दो, उत्पादकत्व बढ्दो, जनताको जीवनस्तर उकासिँदै गएको तथ्याङ्क पेस गरेर त्यसैको आडमा भाषणमा रमाउनेहरूले यो देशको यथार्थ चित्र देख्नै चाहेका छैनन् वा देखेर पनि नदेखेझैँ गरिरहेका छन् ।