प्रशासनतन्त्रमा कायम रहँदै आएको मिलेमतोमा राजस्व चुहावट गर्ने र चोरी पैठारी गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न कडाभन्दा कडा कदम चालिनैपर्छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले गत जेठ महिनामा बजेट सार्वजनिक गर्दा नै धेरै आलोचकहरूले सरकारले राखेको राजस्वको लक्ष्य महत्वाकांक्षी भएको टिप्पणी गरे पनि अर्थमन्त्रीले यसलाई पूरा गर्न सकिने भन्दै अडान राख्दै आएका थिए, तर चालू आर्थिक वर्षको पहिलो ६ महिनाको बजेट कार्यान्वयनको अवस्था हेर्दा राजस्व लक्ष्य पूरा नहुने संकेत देखिएको छ । अर्थमन्त्रीले राजस्वको छिद्रहरू टालेर र राजस्व प्रशासनमा सुधार गरेर राजस्व लक्ष्य पूरा हुने आशा गरेको देखिए पनि राजस्व असुलीको हालसम्मको अवस्था हेर्दा यी दुवै फाँटमा कमजोर उपलब्धि देखिएका छन् ।